शिक्षक भए देखी सबै भन्दा धेरै सोधिएको प्रश्न शायद “सर के पढ्दा ठीक होला?” हुन पर्छ। जुन प्रश्नको उत्तर म सँग कहिले हुँदैन। किन हुँदैन? किन भने त्यो मैले भन्न सक्ने वा भन्न मिल्ने कुरा हैन! बिएससी तेस्रो बर्ष बाट चौथो बर्ष जादा होस् या चौथो बर्ष मा थेसिस वा मास्टर्स मा थेसिस गर्दा होस्। के गर्दा ठीक होलाको उत्तर म सँग कहिले हुँदैन ।

पढाई भन्ने कुरा संसारमा सबै भन्दा अल्छि लाग्ने कुरा होला। धेरै कम मान्छेलाई पढ्न मन लाग्ने, कक्षा नियमित रूपमा जान मन लाग्ने हुन्छ, कम्सेकम हामी विद्यार्थी हुँदा धेरै थोरै थिए जस्लाई आफ्नै इक्ष्याले पढ्न मन लाग्थ्यो। धेरै त आमा बाउको लागि पढि रहेको थिए।

झुट नबोली भन्न पर्दा स्कुल पढ्दा मलाई नै कहिले कक्षा जान मन लाग्थेन, न कहिले पढ्न नै। प्लस टु सक्दा सम्म नि कहिले पढ्न मन लागेन। धेरै आफन्त ले साइन्स नपढ तैले सक्दैनस, आर्ट्स पढ् भने, तर खै किन हो के सुर चलेर साइन्स नै पढियो, एकचोटी फेल नभै पास नि भैयो। तर त्यो दुई बर्षको दु:ख पछी सोचे अब यो खासै गर्न सकिन्न जिन्दगीमा। अली सजिलो काम गर्न पर्छ, यो साइन्स पढेर दु:ख गर्न तिर लागेर हुन्न भन्ने सोच आयो। प्लस टु पछी तेसैले बिबिए  जोइन गरे। बिबिए फर्स्ट सेम सक्किन लाग्दा, अझ सधैं जसो परिक्षाको केही दिन अगाडि पढ्न बस्दा दिमागमा सोच आयो। “के यो कुरामा म जिन्दगी बिताउन सक्छु?” “के म १० बर्ष पछी एउटा बिबिए वा यम्बिए सकेर बैंकमा वा कतै काम गरेर बस्न सक्छु?” धेरै सोचे  पछी मेरो मनले भन्यो, यो मेरो गन्तब्य हैन, यो म बाट हुन्न। आफुलाई १० बर्ष पछी मैले त्यो क्षेत्रमा काम गरेर बस्न सक्ने कल्पना गर्न सकिन। त्यो दिन महसुस भयो कि आफुलाई इक्षा नलागेको कुरा पढेर जिन्दगीमा कहिले खुशी हुन सकिन्न। तेसैले तेही दिन बाट बिबिए छोडेर फेरी साइन्समा फर्किने निर्णय गरे।

धेरै मान्छे साइन्स छोडेर कमर्स जान्छन, म कमर्स छोडेर साइन्स तिर हिंडे।

धेरैले खुस्के छ नि भने, गाली नी गरे, तर जिन्दगीमा अरुको लागि पढ्ने हैन, र अरुको लागि बाच्ने नि हैन। आफु केही कुरामा खुशी हुन सकिन्न भने त्यो कुराको पछी लागेर केही हुने वाल छैन। आत्म संतुष्टिनै सबै भन्दा ठुलो कुरा हो। पहिले भने जस्तै पढाई आँफैमा धेरै अल्छि लाग्ने कुरा हो र तेस प्रती चासो लाग्दैन वा आफ्नो चासो लाग्ने बिषय छैन भने तेस्मा खुशी भएर बस्न सकिन्न। कमर्स मेरो चासोको बिषय भएन र म त्यहा बस्न सकिन। बसेको भए पढिन्थ्यो पास होइन्थ्यो, फर्स्ट सेम पास नि गरिएको थ्यो, सकाइन्थ्यो होला र काम नि पाइन्थ्यो होला। सँगै आत्म बिबिए गरेको साथीहरु सक्सेफुल बैंकर भै सके। त्यो बाटो हिंडेको भए अवस्य नि काम पाइन्थ्यो, आँफैले राम्रो गरेर नपाए नि सोर्स लाएर जागिर खाइन्थ्यो केही अवस्य गरिन्थ्यो। कम्तीमा बिएससी यमयससी सकेर कमाइने भन्दा ३ गुना धेरै पैसा कमाइन्थ्यो। तर त्यो आफ्नो बाटो भएन, आफ्नो चासोको बाटो भएन। र अहिलेको अवस्थामा एक थोपा अफ्सोस नि हुँदैन। आफु जुन बाटो हिडिएको छ तेही बाटोमा सन्तुष्ट भैएको छ।

झुट नबोली भन्न पर्दा जिन्दगीमा प्राणीशास्त्री होइन्छ भनेर कहिले सोचिएको थिएन। सानो छदा न्यास्नल ज्योग्राफिक र डिस्कभरी च्यानल हेरेर जिन्दगीमा एस्तै गर्छु भन्ने रहर लाग्थ्यो तर साइन्स पढ्न पर्छ त्यो गर्नलाई भन्ने थाहा भए पछी रुची हट्दै गयो। प्लस टुमा साइन्स पढ्दा सम्म नि खासै त्यता लागिन्छ जस्तो कहिले लागेन तर केमेस्ट्री, फिजिक्स हेरी कन जुलोजी मा धेरै रुची थ्यो।

तर जब बिएससी पढ्न सुरु गरियो, जुलोजी प्रती आकर्षण बढ्दै गयो। बिएससी पढ्दा सम्म नि न केमेस्ट्री फिटिक्कै पढ्न मन लाग्यो न त माइक्रोबायोलोजी नै। जुलोजीमा आफ्नो इन्ट्रेस्ट थ्यो र तेतै तिर मात्र आफ्नो एनर्जी र दिमाग केन्द्रित गर्दै गैयो। आफुलाई जुन कुरामा रुची लाग्छ त्यो पढ्न पनि सजिलो हुने रहेछ। जुलोजी पढ्न कहिले गार्हो भएन, त्यो प्यारासाइटोलोजीको स्लाइड्स होस् कि एन्टोमोलोजी चाइने नचाइने किरा को लाइफ साइकल। ति सबै कुरा सजिलो लाग्थ्यो भने। ओर्गनिक केमेस्ट्रीको धेरै सजिला कुरा नि गार्हो लाग्थ्यो।

बिएससी तेस्रो बर्ष पढ्दा सम्म जनावरको बारेमा धेरै कुरा जानी सकिएको थ्यो। र त्यो संसारमा दुबी सकिएको थ्यो। आफ्नो जिन्दगीको उद्देश्य धेरै पछी पत्ता लगाए पनि खासै ढिलो भएको जस्तो चाँही लागेन। तर एउटा महसुस भएको कुरा चाँही, आफु जिन्दगीमा के गर्ने, के बन्ने भन्ने कुरा ९ १० कक्षामा हुँदै सोच्न पर्ने कुरा रहेछ। तेसो गर्नाले समय मात्र नभै आफ्नो मनसिक उर्जा नि बच्ने छ। २ बर्ष साइन्स पढेर छोडेर कमर्स जानु भन्दा बरु प्लस टु पछी नै कमर्स तिर लागे २ बर्ष धेरै दु:ख गर्न नपर्ला। त्यो भन्दै मा कमर्स पढ्दै मा सजिलो हुन्छ भन्ने हैन। कमर्स नि उतिकै गार्हो हुन्छ। आफ्नो उर्जा के मा र कसरी खर्छ गर्ने भन्ने कुरा हो।

तेसैले अहिले मलाई कसैले तेही प्रश्न सोध्दा नि म कहिले एउटा उत्तर दिन सक्दिन। “के पढदा ठीक होला, रिसर्च के मा गर्दा ठीक होला” जस्तो प्रश्नको उत्तर म सँग कहिले हुँदैन। किन? किन भन्दा त्यो आफुले नै जान्न पर्ने कुरा हो। आफुलाई जिन्दगीमा के गर्न मन छ। ५ वा १० बर्ष पछी आफुलाई कहाँ देखिन्छ त्यो सोचेर गर्न पर्ने कुरा हो भन्ने मेरो अनुभबले मलाई बुझाउछ।

मेरो रुची जनावरमा र क्रमिक बिकासमा थ्यो र मैले तेही सपना पछ्याउन थाले र आज यहाँ पुगे। र अरु कुनै कुरा गरेर अहिलेको भन्दा राम्रो अवस्थामा पुगेको भए नि आज जती खुशी छु तेती खुशी आँफै मा हुन्न थिए होला।

तेसैले मेरो एउटा सुझाव भनेको समय लिएर सोचेर आफुलाई १० बर्ष पछाडि राखेर के गर्दा आफु खुशी रहन सकिन्छ र आफ्नो क्षेत्र पत्ता लगाएर अगाडि लाग्दा ठीक होला। मलाई सोध्दा त म थेसिस नि चरा मै गरे हुन्छ भन्छु होला, पढ्न नि जुलोजी मात्र पढे हुन्छ भन्छु होला। तेसैले मैले के भन्छ भन्दा नि आफ्नो मनले के भन्छ त्यो सोध्न जरुरी छ। र त्यो सोची सके पछी मेरो मद्दत वा सहायता चाहिए सहयोग गर्न म अवस्य हुने छु।

 

Facebook Comments