विश्वव्यापी ठूलो दिन: बर्डिंग (Global Big Day Birding)

जीव, जनावर तथा चराहरूले मान्छेलाई सधैँ अचम्म पार्ने गरेका छन्। घरपालुवा पशुपक्षींसँग त मान्छेको भावनात्मक सम्बन्ध भइहाल्छ। कतिपय मान्छे जंगलजंगल डुलेर जीवजनावर हेर्न रूचाउँछन्। तीमध्ये कति त चरा हेरेर रमाउने पनि हुन्छन्।

धेरै अगाडि देखिनै मान्छेले आफूले देखेका नयाँ चराकोबारेमा रिपोर्ट बनाउने, तिनका बारेमा लेख नै लेख्ने गर्थे। आफूले देखेका चराको संख्या,प्रजाति,आनीबानीका विवरणहरू कापिमा लेख्ने चलन थियो।

अहिले त ‘वर्डिङ’ गर्ने अर्थात चराहरू हेर्दै/खोज्दै हिँड्ने गतिविधिहरू स्थापित भएका छन्। प्रविधिको विकाससँगै मान्छेलाई आफूले देखेका चराहरूको सूची बनाउन धेरै सजिलो भएको छ। मोबाइल फोनमा सजिलै र सित्तैमा राख्न सकिने धेरै यापहरूले यो क्रियाकलापलाई अझै सहज बनाउँदै लगेको छ।

संसारमा पाइने सबै चरा खोज्न चाहने मान्छेको सोख त्यस्तै हो जस्तो सबभन्दा उच्च शिखर सगरमाथा चढ्ने हुन्छ। कतिपयलाई सबभन्दा धेरै दूरी हिँड्ने वा दौडिने सोख भएजस्तै। चरा खोज्ने सोख भएका मान्छे हिमाल चढ्ने वा हिँड्नेजति धेरै त छैनन्। थोरै भएपनि छन्। र तिनले आफूले देखेका चराको विवरणहरू आफ्नो डायरी, मोबाइल र कम्प्युटरमा राख्ने गर्छन्।

यस्तै विवरण राख्नेहरूले विभिन्न कार्यक्रम पनि चलाउँछन्। चरा खोज्दै हिँड्ने यो कार्यक्रमलाई केहीले त प्रतिस्पर्धात्म रूपमा नै लिन्छन।त्यहीमध्ये एक हो ‘विग इयर’। आफूले एक वर्ष को दौरानमा सबै भन्दा धेरै चरा खोज्न वा देख्न लिने यो अठोटलाई बिग इयर भनिन्छ।

मैले गएको साल ५०० चरा पुराउँछु भनेर लक्ष्य राखेको थिए म ४९२ मा रोकिए। यो वर्ष भने म ६०० को लक्ष्य लिएर अगाडि बढेको छु।

बिग इयरको चलन सन १९०० पछी सुरू भएको मानिन्छ। त्यो बेला कसैले संसारभरीका चरा खोज्छु भन्ने लक्ष्य राखेर हिँडेका थिए। अनि आफूले देखेका चराको तथ्याङक र विवरणहरू लेखेर राख्थे रे। पछि उनैको सिको गर्दै मान्छेहरूले वर्षभरीमा यति चरा खोज्छु भन्ने लक्ष राख्न थाले। यसरी विग इयर वर्डिङ संसारमा प्रख्यात हुन पुग्यो।

त्यसरी नै गएको केही वर्ष यता ‘बर्डिङ’ संसारमा ‘ग्लोबल बिग डे’ भन्ने चलन चलाइएको छ। यो चलन पनि चराप्रेमीमाझ प्रख्यात छ। २४ घण्टाको समयमा आफूले देख्न सकेको जति चराहरू खोज्ने/ वा रेकर्ड गर्ने क्रमलाई बिग डे मानिन्छ।

ग्लोबल बिग डे को सुरुवात मे ९, २०१५ मा भएको थियो।

अमेरिकाको न्युयोर्कस्थित कर्नेल विश्वविद्यालयको ‘कर्नेल ल्याब अफ अर्निथोलोजी’ले सन २००२ मा एउटा याप बनाएको थियो- इबर्ड।

विश्वभरीका मानिसले आफूले देखेका चराको रेकर्ड राख्न सक्ने गरि यो याप बनाइएको छ। यसमा संसारका धेरैभन्दा धेरै मान्छेको पहुँच पुर्याउन र यसको प्रयोगबारे सचेतना फैलाउनका लागि ग्लोबल विग डे भन्ने कार्यक्रम चलाइएको थियो।

विग डे जुन दिन सुरू गरियो त्यो दिन २४ घण्टामा संसार भरिबाट मान्छेले ४००० प्रजातिका चरा खोज्ने (संसारमा करिब १०,००० प्रजातिका चराहरू छन्।) र रेकर्ड राख्ने लक्ष राखिएको थियो। तर ६ हजारको हाराहारीमा चराहरूका रेकर्ड अनलाईइमा राखियो। १४ हजार ६० जनाले रिपोर्ट गरेका थिए। ४४,००० चेक लिस्टबाट आएका थिए।

सोचेको भन्दा ठूलो सफलता पाए पछि यो कार्यक्रमलाई आजकल वार्षिक कार्यक्रम बनाइएको छ। हरेक वर्ष वसन्त ऋतुको माइग्रेसनको बेला मे महिना को दोस्रो हप्तातिर यो कार्यक्रम गरिन्छ। त्यसरी नै फल माइग्रेसनको बेलामा अक्टोबरमा पनि यो कार्यक्रम गरिन्छ। यो कार्यक्रम पनि न्युयोर्क स्थित कर्नेल विश्वविद्यालयले नै गर्छ।

सन् २०२२ मा करिब २०१ देशहरू बाट ५१ हजार मान्छेले १लाख ३२ हजार चेक लिस्ट रिपोर्ट गरेका थिए। ती चेक लिष्टमा ७,६७३ प्रजातिका चराको तथ्यांक थियो। एकै दिनमा भेटिएको चराहरूको लागि यो विश्व रेकर्ड हो। यो कार्यक्रमले विश्व भरीका चराप्रेमीहरूलाई भर्चुअल्ली जोड्ने प्रयास गर्छ। उनीहरूलाई चराको तथ्याङक संकलन गर्ने प्ल्याट फर्म उत्साह यसले दिएको छ।

‘इबर्ड’ र यो प्रक्रियाबाट जम्मा भएका डेटाहरूले बिस्तारै हराउँदै गएका माइग्रेटरी चराहरूको अध्ययन, अनुसन्धान र संरक्षणमा वैज्ञानिकहरूलाई सहयोग गरेको छ।

‘इबर्ड’ एउटा यस्तो याप हो, जुन चराहरू अध्ययन गर्नेले मात्र नभएर हातमा फोन हुने सबै ले नि:शुल्क रूपमा प्रयोग गर्न सक्छन्। गएको केही साल यता इबर्ड को प्रयोग संसार भरी बढ्दो छ। र यसरी सिटिजन साइन्स (नागरिक विज्ञान) को प्रयोगले वैज्ञानिकहरूले चराहरूको आना-बानी बारे धेरै कुरा सिक्दै छन्।

अमेरिकामा पाइने धेरै जसो फिस्टे चराहरूले रातीमा माइग्रेसन गर्छन्। यो कुरा वैज्ञानिकहरूलाई थाहै नभएको होइन। तर, यिनीहरूको माइग्रेसनको ढाँचा कस्तो हुन्छ, कुन र कस्तो रुट लिएर माइग्रेट गर्दै उत्तर लाग्छन् भन्ने कुरा अध्ययन गर्न गाह्रो थियो।

५०+ वटा प्रजातिका फिस्टे पाइने अमेरिकामा सबै चराहरू को अध्ययन गर्न असम्भव नै कुरा हुन्छ। तर, ‘इबर्ड’ याप आएपछि जनमानसले पनि आफूले देखेका चराहरू रिपोर्ट गरिदिन थाले। यसले अनुसन्धानकर्ताहरूलाई धेरै फाइदा भयो।

इबर्डले गर्दा माइग्रेसनको ढाँचा, कुन चराहरू कहिले माइग्रेट गर्न थाल्छन् भन्ने पनि अध्येताहरूले थाहा पाए। केही वर्ष अगाडि गरिएको एउटा रिसर्चले इबर्डमा रिपोर्ट भएको डेटाको प्रयोग गरेको थियो। एउटै प्रकारको गीत भएको र एउटै वशबाट आउने चराका प्रजातिहरू सँगसँगै माइग्रेट गर्ने अध्ययनले देखायो।

कुन प्रजातिले कहाँ को रुट लिएर आफ्नो प्रजनन गर्ने ठाउँ पुग्छन्, वा कुन माइग्रेटरी चरा सबै भन्दा पहिले माइग्रेट गर्छन् भन्ने जस्तो प्रश्नहरू पनि यो याप र यो डेटाबेसको सहयोगबाट अध्ययन गर्न सजिलो भएको छ।

त्यसै गरी आफूले देखेको चराहरूको सङ्ख्या जसले पनि राख्न पाउँछन्। यसले केही हदसम्म चराहरूको जनसंख्या र उनीहरूको जनसंख्यामा परेको असरहरू बारे अध्ययन गर्न सहयोग गरेको छ। कुनै पनि चराहरूको संरक्षण योजनादेखि तिनीहरूको उचित व्यवस्थापनमा समेत यो यापले मद्दत पुर्याउनेछ।

नेपालमा हाल सम्म इबर्डमा ८३२ प्रजाति रेकर्ड गरिएको छ। वर्डर (चरा खोज्ने मान्छे) भने १८०० जना छन्।

नेपाल सेन्ट्रल एसिया फ्लाइवेमा पर्छ र नेपाल माथिको आकाशलाई रुट बनाएर धेरै माइग्रेटरी चराहरू आफ्नो प्रजनन क्षेत्र तथा विन्टरिङ्ग क्षेत्र पुग्छन्।

नेपालमा करिब १५० जति विन्टर आगन्तुक चरहरू आउँछन्। हाम्रो विविध परिदृश्यहरूलाई विविध प्रजातिका चराहरूले आफ्नो घर मान्छन्। तराईको हरिया फाँटदेखि हिमालका चिसा टाकुरा सम्म, पहाडका जङ्गल देखि सहरका गन्जागोल सम्म विभिन्न प्रकारका चराहरू पाइन्छ।

अहिले नेपालमा केही वैज्ञानिकहरू लागि परेर चराहरूको काम गरिरहेका छन्। तर, जति गर्न सकिने काम छ त्यसको लागि न हामीसँग पर्याप्त श्रोतहरू नै छन् न त उचित अनुसन्धानको लागि कोष।

त्यसैले पनि हातमा फोन हुने सबैले डेटा कलेक्सनमा गर्न सक्ने मद्दतले हामीले नेपालका चराहरूको आना-बानी बारे धेरै सिक्न सक्छौँ। यी डेटाहरू राम्रो सँग प्रयोग गर्न सक्ने हो भने कसैको स्नातकोत्तर वा पिएचडी कै पनि सोध् पत्र बन्न सक्छ।

यो वर्षको बिग डे १३ मे को दिन छ। आउनुस् हामी सबै मिलेर चराहरू हेरौँ। रिपोर्ट गरौँ र ग्लोबल बिग डेमा भाग लिउँ।

र इबर्ड कसरी चलाउने भन्ने बारे मैले यहाँ एउटा युट्युबमाhttps://youtu.be/HCeJeyh6QaQ भिडियो बनाएको छु।

र तपाईँहरूलाई यसबारे केही प्रश्न जिज्ञासाहरू छ भने मलाई anujghimire1@gmail.com मा इमेल गर्न सक्नु हुन्छ।

र यही बिग डे को को प्रचार र सचेतना मा सहयोग गर्नको लागि Thuprai.com को प्रायोजनमा बिग डे अर्थात् मे १३ को दिन इबर्डमा आफूले चराहरूको लिस्ट शेर गर्ने मध्य ५ जनालाई Thuprai.com को तर्फ बाट Birds of Nepal पुस्तक उपहार दिने यही ब्लग मार्फत जानकारी गर्न चाहन्छौ।यस बारे थप जानकारी भोलि सम्म आउँछ।

आशा छ तपाईँहरूले बिग डे मा भाग लिनु हुने छ र “बर्डिङ” मा पनि रुचि राख्न हुने छ।

गएको साल नेपाल २१० प्रजातिको साथ ५४ औ नम्बरमा परेको थियो। आशा छ यो पाली हामी त्यो भन्दा माथि उठ्न सक्छौ। र अझै धेरै प्रजाति भेटाउन सक्छौ 🙂

इबर्ड डाउनलोड गर्ने लिन्क: Ebird

Facebook Comments Box

Mr Zoologist

I am a Zoologist!

Leave a Reply

Your email address will not be published. Required fields are marked *