कुरा एक शब्द अनेक : वैज्ञानिक नामको उत्पत्ति
वैज्ञानिकहरूले वैज्ञानिक नामको चलन ल्याउन को पछाडि राम्रै कारण छ- एकरूपता! हाम्रो पृथ्वीमा हजारौँ प्रकारका जैविक विविधता छ। विभिन्न ठाउँमा त्यही जनावर होस् वा बोट बिरुवा तिनीहरूलाई विभिन्न नामले बोलाउने गरिन्छ। त्यही कुरामा भ्रम नहोस् भनेर नै एउटा सार्वभौमिक नाम राख्ने चलन को उत्पन्न भयो। आज कक्षामा झाङे माछा (क्रे फिस) लाई विद्यार्थीले क्र फिस भन्दै थिए, मैले क्र फिस हैन क्रे फिस भनेर सम्झाउँदै गए, तर उनीहरूले त्यो सम्झेनन्, बुझेनन् पनि! त्यसको कारण म आफैँले पछि मात्र बुझे, अमेरिकाको दक्षिण तिर क्रेफिशलाई क्र फिस भनिने रहेछ ।
उनीहरू गलत थिएनन् रहेछ, मात्र आफ्नो ठाउँमा त्यो क्रेफिशलाई बोलाउने नाम लिँदै रहेछन्। घर फर्किदा बसमा आफैँ हाँस्दै आए आफ्नो कुरा सम्झेर। यही घट्नाले धेरै अगाडिको कुरा नि सम्झायो, एउटा त बस मा थिए अर्को घटना त्यस्तै। एक पटकको मनाङ फिल्ड वर्क बाट फर्किँदै गर्दा बस डुम्रेमा रोकेको थियो। विक्रम दाइ माइक्रो रोकेकी केही किनेर खाइ हाल्न पर्ने मान्छे, त्यस बेला नि माइक्रो रोक्न नपाई ओर्लिन तयार भए! हामी भन्दा अगाडिको सिटमा बसेका उनी, के खाने हो तिमीहरू भन भन्दै थिए। मेरो दिमाग मा खसै केही आएको थिएन। यसो हेरेर केही ल्याउनु न भने। विक्रम दाइले बेलौती ल्याऊँ त भन्नु भयो! मैले जिन्दगीमा त्यस अगाडि बेलौती भन्ने शब्द सुनेको नि थिएन! “के हो त्यस्तो? ” भन्दै म अचम्म परे, र ल्याउनुस् , मैले अहिले सम्म खाएको छैन भने। विक्रम दाइ अचम्म परेर बेलौती किन्न गए। केही बेरमा एउटा झोला हलाउँदै आए र झोला मलाई दिए।
के के न रहेछ बेलौती भन्दै झोला खोलेको, भित्र थियो – अम्बा
यस्तै कुराले नझुक्किन भनेर नै वैज्ञानिक नाम को सुरुवात भएको हो। यस्तो उदाहरण धेरै पाउन सकिन्छ, अझै नेपालको चराहरूमा। त्यही एउटा सारुँलाई रुपी, मैना, डाङ्ग्रे , सारौँ र सरौटे वा अरू पनि पचासौँ नामले बोलाइन्छ होला।
यसरी जनावरहरूको नाममा भ्रम वा गडबड नहोस्, एउटै प्रजातिलाई धेरै प्रजाति भनेर नसोचियोस् भनेर नै एउटा विश्वव्यापी नामको सिर्जना भयो। जसलाई हामी वैज्ञानिक नाम भन्छौँ। वैज्ञानिक नाम संसार भरी नै एउटै हुन्छ।
सन १७५८ मा स्विडिश वैज्ञानिक कार्ल भन लिन्नेले आफ्नो किताब ‘सिस्टेमा नेचुरे’मा यो समस्याको हल निकाले। उनले यो समस्या दूर गर्न एउटा प्रणाली को प्रस्ताव राखे। जसलाई अहिले विज्ञानमा ‘ बाइनोमियल नोमेन्क्लेचर’ भने बुझिन्छ।

के हो त बाइनोमियल नोमेन्क्लेचर?
बाइनोमियल नोमेन्क्लेचर आफैँले के हो भनेर बुझाउँछ। बाइ भन्नाले दुई र नोमियल भन्नले नाम जनाउँछ अर्थात् दुइटा नाम। र नोमेन्क्लेचरले नाम दिने प्रक्रिया जनाउँछ।
रोचक कुरा त उनले आफ्नै नाम , कार्ल भन लिन्ने लाई वैज्ञानिक नाम मा रूपान्तरण गरेर आफ्नो नाम ‘कार्लस लिनेयस’ राखे।
मध्य युग तिरको विश्वव्यापी भाषा ‘ल्याटिन’ मा वैज्ञानिक नाम लेख्ने गरिन्छ। जस्तै कि, होमो सेपियन्स (अर्थात् हामी)। होमो सेपियन्समा, होमो लाई जिनस भनिन्छ भने सेपियन्सलाई स्पिसिज वा प्रजाति। वैज्ञानिक नाम जिनस र स्पिसिजले बनेको हुन्छ। लेख्ने क्रममा अङ्ग्रेजी मा जिनसको पहिलो अक्षर क्यापिटलमा लेखिन्छ भने स्पिसिजको लोवर केसमा। र, दुवै जिनस तथा स्पिसिजलाई इट्यालिक्समा लेख्ने चलन छ। हरेक वैज्ञानिक नामको केही अर्थ हुन्छ। जसले गर्दा वैज्ञानिक नाम सुन्दा गाह्रो भए पनि, बुझेको खण्डमा कण्ठ पार्न सजिलो हुन्छ। जस्तो कि, होमो सेपियन्समै, होमो भनेको मानव बुझिन्छ भने सेपियन्सले बुद्धिमान जनाउँछ- अर्थात् बुद्धिमान मानव।
अझ धेरै जस्तो केसमा त्यस्तो रमाइलो अर्थ हुन्छ। जस्तै राजा गोमनको वैज्ञानिक नाम ओफियोफेगस ह्यानाह। मलाई ट्विटरमा फलो गर्न हुन्छ भने मेरो ह्यान्डलमा यो देख्नु भएको होला। ओफियो भन्नाले ल्याटिनमा सर्प जस्तो भन्ने बुझिन्छ भने फेगस भनेको खानु हो। ओफियोफेगस भनेको सर्प खाने भनेर बुझिन्छ। राजा गोमनको प्राथमिक आहारा नै अरू सर्प हुने भएको ले त्यसलाई सो नाम दिइएको हो। धेरै जस्तो वैज्ञानिक नाम त्यो जनावर पत्ता लगाउने मान्छे, वैज्ञानिक वा पत्ता लगाइएको ठाउँ वा देश बाट राखिएको हुन्छ। जस्तै काढे भ्याकुरको वैज्ञानिक नाम – टुर्डोइडेस निपालेन्सिस हो। टुर्डस भनेको ल्याटिनमा एउटा थ्रस चरा (चाँचर प्रकारको चरा) हो भने निपालेन्सिसले नेपाल मा पहिलो पटक व्याख्या गरेको भनेर बुझिन्छ। त्यसरी नै पूर्वी विश्वमा पाइने स्टिप इगल (गोमायु महाचील)को नाम अक्विला निपालेन्सिस हो। अक्विला भन्नाले ल्याटिनमा चिल हो भने निपालेन्सिसले फेरी नेपालमा व्याख्या गरेको जनाउँछ।
वैज्ञानिकको नाममा राख्ने हिसाबले भने नेपालमै पाइने तनकम्प खञ्जरी अर्थात् फोएनिकुरुस हड्सनी भन्ने चराको नाम ब्रायन हटन होड्जन्स भन्ने न्याचुरलिस्ट र वैज्ञानिकको नाम बाट राखिएको हो। जे जसो भए पनि, वैज्ञानिक नामलाई ल्याटिनाइज गर्न पर्ने भएकोले जस्तोको त्यस्तो नराखी, ई थपेर वा -सिस थपेर ल्याटिनाइज गरिन्छ। त्यति मात्र नभएर यो चराको परिवार मस्किक्यापिडेइ हो, जस्मा मस्का भनेको ल्याटिनमा किरा फट्याङ्ग्रा हुन भने, क्यापियरले समात्ने भन्ने बुझाउँछ। किरा फट्याङ्ग्रा समात्ने चराहरूको परिवार भनेर बुझाउँछ।
यसरी विज्ञान वा वैज्ञानिक नाममा धेरै अप्ठ्यारो पन देखे पनि, यसको अर्थ बुझ्न सके धेरै सजिलो हुन्छ।
र यसरी, संसार भरीका जनावर तथा बोट बिरुवाहरूलाई वैज्ञानिक नाम दिनाले आजको दिनमा विश्वभरिको जनावरहरू को अध्ययन गर्ने काम धेरै सजिलो भएको छ.
यो लेख मन पर्यो भने कृपया शेर गरिदिनु होला। यस पछि भने म कार्लस लिनेयसले क्लासिफाइ कसरी गरे जनावरहरूलाई भनेर लेख्ने छु।
हस् त धन्यवाद।