म बिस्तारै होटेल तिर लागे….

खाना खाइ ओरी हामी ढिक्कुरपोखरी तिर लाग्यौ। भ्राताङ बाट ढिक्कुरपोखरी तिर लाग्दा बाटो सार्है रमाईलो छ। रोडै रोड हिंड्न परे नि, बाटो रमाईलो छ, र स्वर्गद्वारी पुग्न अगाडि भने एकछिन डर लाग्दो पनि, गाडी मा जाने हो भने। हिढ्न लाई त खसै त्यस्तो छैन।

म पहिलो पटक जादा स्वर्गद्वारीको पुल बनेको थिएन र मनाङ सम्म गाडी जादैन थ्यो। 

गाडी जाने भनेको तेही पुल वारी सम्म थ्यो। त्यहा बाट हिंड्नै पर्ने हुन्थ्यो। मनाङ मै भने एउटा ठुलो ट्र्याक्टर थ्यो, शायद हेलिकप्टर बाट लगेको हुन पर्छ। बाइकहरु झुलुङे पुल हुँदै जान्थे। पुलमा पुग्दा एउटा रमाइलो भौगोलिक संरचना देखिन्छ। सरर हेर्दा एउटा कचौरा जस्तो देखिने सिङो ढुङ्गा तल देखी माथि सम्म र लग्भग एउटा गोलो आकार मा फैलिएको छ। हरेक चोटि जादा मलाई त्यहा भने रमाईलो लाग्थ्यो। त्यहा बाट पुल तरेर एकछिन उकालो चढ्न पर्छ। उकालो चढी सकेर केही बेरको हिढाइमा ढिक्कुरपोखरी पुगिन्छ।

त्यहा पुग्दा सम्म मज्जाले थाकी सकिएको थियो, दिन भरीको काम अनी हिढाइ, ढिक्कुरपोखरी पुग्दा साझ पर्न लागि सकेको थ्यो र अली अली चिसो पनि भैसकेको थ्यो। मान सरहरु पहिले ढिक्कुरपोखरी नबसेको हुँदा हामी त्यहा भने नयाँ होटेलमा बसयौ। शायद होटेलको नाम कमला होटेल थ्यो। होटेल पस्न नपाई हामीले चिया र बिस्कुट मगायौ। र तयार हुँदा सम्म समान राख्न भनेर हामी कोठा तिर लाग्यौ।

हिमालको काखमा भए नि होटेल भने शहरको रेजर्ट भन्दा कम थिएन। कोठाहरु पनि उस्तै सजाइेको, काठले वारीपरी छेकेको। सधैं जस्तो, मान सर र बिक्रम दाई रुम पार्टनर हुन्थे भने संजय र म।

समान कोठामा राखी ओरी हामी होटेल बाहिरको बङैचा मा बस्यौ र होटेलको भाईले चिया बिस्कुट तेही ल्याइदियो। हिमालमा, मैले सधैं भन्ने जसो , दिन भरी काम गरेर वा हिंडेर साझाको शितल बातावरणमा बसेर चिया पिउनुको मज्जै अर्कै छ। तर एक घुट्की खान नपाई चिया भने चिसो हुने। तर त्यो चिया खानुको आनन्द अर्कै छ। चिया खाइ सकेर हामी कुरा गर्दै एकछिन तेही बङैचामा बस्यौ, तर बिस्तारै चिसो बढ्दै गए पछी हामी डाइनिङ हल तिर छिर्यौ।

त्यो होटेलको डाइनिङ पनि धेरै ठुलो छ, मल्टिप्लग र चार्जरहरु देखे पछी हामी नि आफ्नो आफ्नो चार्जर ल्याएर चार्ज गर्न थालयौ। अन्नपूर्ण सर्किट तिर धेरै जस्तो रुममै चार्ज गर्न मिल्ने बेवस्ता हुँदैन। शायद केही जमात पर्यटकहरुले त्यस्तो हुँदा, आफ्नै कोठामा खाना बनाएर खाइदिने भएर होला। नेपालीलाई धेरै जसो पैसा नली नै चार्ज गर्न दियिन्छ। म भने फोन सँगै क्यामरा नि चार्ज गर्न तिर लागे, आफुलाई त फोन भन्दा नि क्यामरा धेरै महत्वपूर्ण थियो तेती बेला।

चार्ज गर्ने टेबलको माथि एक खिल्ली तास रहेछ। संजयले देख्यो र तास खेलिदिम भन्यो, र सबै जाना बसेर तास खेल्न थालइयो। म खासै जुवा तासमा चासो नराख्ने मान्छे, तर रमाइलोको लागि कसैले खेलम भन्यो भने खेलिदिन्छु। हामी ३ बुक तास बोकेर म्यारिज खेल्न थालयौ। त्यो दिन तास खेल्न रमाइलो भयो र तेस पछी हाम्रो हरेक दिन खान कुर्ने बेला गर्ने भने काम नै तेही भयो। होटेल फर्क्यो अनी तास खेल्यो, खान पाक्छ , खाना खायो अनी सुत्यो। 

ढिक्कुरपोखरीको पहिलो दिनको फिल्ड मा भने धेरै दु:ख पाइयो। खेत कै साइडमा पर्ने रहेछ फिल्ड। मेटल डिटेक्टर चलाएर एक मिनेट लगाएर पत्ता लगायो, अनी अन्त्यमा किल्ला पर्ने, वा अरु केही फलाम। त्यहा काम गर्न धेरै नै गार्हो भएको थ्यो। तर हामी सँग पुरै दिन थियो र बिस्तारै काम गरियो। समय समयमा म ब्रेक लिन्थे र चरा खोज्न निस्किन्थे। भद्राइ र सेतो टिकटिके भने टन्नै थिए त्यहा। एकछिन फोटो खिची बारीमा फेरी काम तिर फर्किन्थे। खाना खान भने फेरी होटेल नै पुग्न पर्ने। करिब १०-१५ मिनेट को हिडाइमा होटेल पुगिन्थ्यो। हाम्रो दिनचर्या नै तेस्मै सिमित भैसकेको थियो, काम, खाजा, खाना अनी ढिक्कुरपोखरी बाट त झन साझ साझ तास।

ढिक्कुरपोखरीको पहिलो दिनको काम सकेर होटेल तिर गयौ, बेल्काको खाना खाइ ओरी चाढै सुतियो, भोली पल्ट ढिक्कुरपोखरी बाट पिसाङ जाने बाटोमा पर्ने फिल्डको काम सकेर पिसाङ पुग्न पर्ने थ्यो।

भोली पल्ट बिहानै उठेर हामी दोश्रो फिल्ड तिर लाग्यौ। त्यो फिल्ड ठ्यक्कै, कुनै जमानाको हिमनदीको तल पर्ने ठाउँ मा थ्यो। यस्को प्रसँग फेरी पछी गासिन्छ। बिहानै उठेर हामी फिल्ड तिर लाग्यौ। बाटोमा संजयको मनिपुर एफयम फेरी सुरु भयो। हिडाइ लामो थिएन, करिब ३०-३५ मिनको हिडाइमा हामी फिल्ड पुग्यौ। समान राखी ओरी हामी सुरुको एउटा ट्याग खोज्न तिर लाग्यौ। जुन सधैं एउटा गार्हो काम हुन्थ्यो, तर त्यो एउटा पाए पछी अरु भने सजिलै पाइन्थ्यो। पहिलो ट्याग भेटे पछी भने नक्सा हेरेर अरु अनुमान लगाउन सकिन्थ्यो।

संजय र म भने सधैं जिस्की रहेको हुन्थ्यौ। एकदमै मिल्ने भएर नि हो कि, हामी धेरै जस्तो त बच्चाबच्ची जस्तै चली रहन्थ्यौ। त्यस दिन पनि, संजय म सँग खै के कुरामा निउ खोज्दै थ्यो। म र बिक्रम दाई उस्लाई जिस्काउदै थ्यौ। म खन्दै थिए, बिक्रम दाई मेटल डिटेक्टरमा थिए, संजय भने घासमा बसेर लेख्दै थ्यो। मलाई समय समयमा साना ढुङ्गाहरुले हानी रहेको थ्यो। त्यसरी नै हन्ने क्रममा कहाँ बाट एउटा सल्लाको बिउ भेटे छ। मैले याद गरेको थियिन तर मलाई तेही सल्लाले हान्न लागेको रहेछ। तर खै कसरी हो, त्यो सल्लाको एउटा सानो टुक्रा उछिटिएर उस्कै आँखामा परेछ।   

बिक्रम दाई र मेरो काम मै ध्यान केन्द्रित थियो, तर एकै चोटि संजय अइया भन्दै कराउन थालयो। सधैं के के कुरा निकालेर जिस्की रहने भएकोले बिक्रम दाई र मैले त्यो बेला नि जिस्केकै होला भन्ने सोचेर खासै चासो देखाएनौ। एकै छिनमा त उ झन कराउदै भुइमा छटपट्टिन थालयो। उ छट्पट्टिएको हिसाबले नै हाम्ले नाटक गरेको हैन भन्ने बुझ्यौ।

“के भयो भाई?” बिक्रम दाइ उ लढेको ठाउँ तिर जादै सोध्न थाले।

म पछी पछी लागे।

“अइया, मरे नि” भन्दै उ आँखा समातेर एकोहोरो कराइ रह्यो।

बिक्रम दाई र मैले भने अझै बुझेको थिएनौ के भयो भनेर।

“आखा…. अइया…..”

“के भयो आँखामा? केही पर्‍यो हो?” बिक्रम दाईले आँखा हेर्दै सोधे।

“भिझायो…..अइया मरे नि” 

बाहेक उसको मुख बाट केही निस्केन।

तर त्यो बेला सम्म हाम्ले बुझी सकेको थियौ कि उस्को आँखामा केही परेको थियो। बिक्रमदाइले उस्को आँखामा हेर्न प्रयास नि गरे तर केही भेटिएन। उ अझै कराउदै थियो।

“फुट्न लाग्यो मेरो आँखा….अइया……” भन्दै 

उ एकोहोरो कराइ रहयो।

मैले पनि हेर्न खोजे तर उस्को आँखामा भने केही नि थिएन।

“कता पट्टी दुखेको छ तलाई?” मैले सोधे

“भित्र भित्र…..अइया…फुट्यो आँखा….फुट्यो” 

उस्को मुख बाट खाली तेती निस्की रहेको थियो। एकछिन त हामीलाई तनाव भै सकेको थियो, न वारी पारी अस्पातल छ, न केही। तेती बेला त्यहा गाडीनी नपाईने, पाएनै पनि गाडीमा ६-७ लाग्थ्यो होला बेसीसहर नै पुग्न त। हिंडेरै स्वर्गद्वारी पुग्न नि १ घण्टा त लाग्थ्यो अनी त्यहा बाट नै गाडी पाईन्छ भन्ने नि थिएन। आँखामा जती हेरे नि केही भेटिएको थिएन, उस्को दुखाइ भने झनै बढी रहेको थियो।

एकछिन सम्म त हामी नै केही छैन होला भन्ने निश्कर्शमा पुगी सकेको थियौ। तर पनि उस्को दुखाइ देखेर प्रयास गरी राखयौ। धेरै प्रयास पछी, करिब २० मिनेट जस्तोमा बल्लतल्ल उस्को आँखा बाट त्यो सल्लाको टुक्रा निकालियो। त्यती बेला सम्म उस्को आँखा बाट आसुँको धारो निस्की सकेको थियो। तर धन्न त्यो बेला हामीले आँफै त्यो टुक्रा खोज्न सक्यौ। ३०-४० मिनेट जस्तो त तनाव नै भएको थियो।

एकै छिन बिश्राम गरेर हामी फेरी काम तिर लाग्यौ। केही बेरमै मान सर पनि आइ पुगे। केही बेर अगाडि हामी जती नम्बरमा थियौ, तेतीमै देखेर

“हैन तिमीहरु गफ गरेर बस्यौ कि क्या हो?” भन्न थाले.

“कहा बाट गफ गर्नु सर, मान्छेको यहाँ झन्डै आँखा फुट्यो ” संजयले कपी भुइमा राख्दै भन्यो।

“कसरी फुटछ आँखा? के गर्‍यो ? खाली चक्चक गरेर बसेको छ अनी के हुन्छ? भयो चाँही के?” मान सरले आफ्नै पारामा सोधे…

संजयले आफ्नो कुरा सुनायो, के भयो र कती समय लगाएर झिकियो भनेर।

मान सरले फेरी आफ्नै पारामा ” बेलुन होर प्वाट्ट फुट्न” भने

बिक्रमदाइ र म ठुलो स्वरले हास्यौ। संजय भने रुनु न हास्नु हुँदै हास्यो।

“कहा सार, कस्तो दुखेको थियो, फुटलै जस्तो भयो भन्दै आफ्नो कुरा राख्दै थियो।

तर मान सर भने “हावा कुरा….आँखा नि एतिकै फुट्छ कही” भनेर उढाइ दिए…

केही समय पछी हाम्ले त्यो घट्ना बिर्स्यौ र फेरी काम तिर लाग्यौ…….

त्यहाको काम सकेर हामी पिसाङ तिर लाग्यौ। पिसाङ मा भने हाम्रो धेरै दिनको बास थियो। ४ वटा फिल्ड त पिसाङमा मात्रै थियो। 

पिसाङमा पनि मान सरहरु सधैं बस्ने गरेको होटेलमै बस्न गयौ। होटेलमा ब्यागहरु राखी ओरी हामी एकछिन बाहिर निस्कियौ। सरले चिन्नु भएको एक जाना दिदीको होटेल (खाजा खाने) हामी बसेको होटेल बाट अली कती माथि थियो। त्यहा गएर चिया बिस्कुट खाने प्लान बन्यो। त्यहा नि छिर्न नपाई बिदेशी नै भन्ठान्नु भएको थियो। चिया मगाएर म होटेल बाहिर निस्केर वारीपरी हेर्दै चिया पिउन थाले।

तल्लो पिसाङ बाट ठ्यक्कै उतरपुर्वी पट्टीको डाडामा माथ्लो पिसाङ पर्छ। पुराना हिमाली किसिमको घरहरु ले भरिएको माथ्लो पिसाङले भने हिमालएे भेगको आवाश दिन्छ। बस्ती भन्दा धेरै माथि एउटा सानो चुचुरो साझाको घामको किरणले टल्की रहेको थियो। मेरो छेउमा बसेका होटेलको दाईलाई “कुन हिमाल हो दाई त्यो?” भनेर सोधे…

चिया खाँदै गरेको उन्ले गिलास भुइमा राखेर, “त्यो पिसाङ पिक हो भाई”

कती मिटर छ? हेर्दा त नजिकै देखिने रहेछ त, मैले भने

“६०९१ मिटर छ भाई, हेर्दा मात्र हो एही देख्ने, यो टेक्निकल पिक मध्य मै पर्छ। १९९४ मा एउटा जर्मन पर्वतारोही टोलीका ११ जनै पर्वतारोहीको मृत्‍यु भएको थियो। त्यहाको ढुङ्गा अली फितलो छ रे अनी क्लाइम्बिङ पिकहरु नि चलाऊन गार्हो छ रे” 

ओहो! भने पछी गार्हो नै रहेछ… पिक पारी चाँही के तिब्बत पर्ने हो?

“हैन भाई , उता पारी नारफु गाउ पर्छ। त्यहा बाट नि बोडर चाँही अली टाढै छ।

नारफु गाउको बारेमा धेरै सुनेको थिए।

“जान चाँही उता कोतो तिर बाट जाने हो, तर एता डाडा बाट नि लोकल हिंड्ने बाटो छ” उन्ले थपे।

त्यो होटेलको ठ्यक्कै बाहिर बङैचा जस्तो बरन्डा थियो, त्यहा बसेर चिया खाँदै धेरै बेर सम्म ति दाई सँग कुरा गरियो। साझा ढल्दै थियो, अध्यारो नपर्दा सम्म त्यहा बसियो।

 साझ परे पछी आफ्नो होटेल तिर लागियो। होटेलको दाईले रुम सफा गरिदिन्छु भनेको थिए, र हामी डाइनिङ तिरै बसी राख्यौ। खाना खाएर एकै चोटि माथि जाने कुरा बन्यो। केही बेर मै खाना आयो, भात, दाल र गाजर र बन्दा तारेको तरकारी, अनी टिम्मुरको छोपको अचार। गाजर र बन्दा तारेको भने एती खाइयो कि, एउटा समयमा पुगेर हेर्न नि मन लाग्न छोडि सकेको थियो। खान खाइ ओरी हामी आफ्नो कोठा तिर लाग्यौ, एकछिन बसेर तास खेलियो। र बिहान चाढै उठ्न पर्ने थ्यो र धेरै बेर भने बसिएन।

भोली पल्ट बिहानै उठेर काम तिर लागियो, फिल्ड अली टाढै भएकोले राती नै रोटी बनाउनलाई भनेको थियौ। बिहान रोटी तरकारी र अचार बोकेर हामी फिल्ड तिर लाग्यौ। माथिल्लो पिसाङ जाने बाटो हुँदै लग्भग ढिक्कुरपोखरीकै उल्टोपट्टी पर्ने ठाउँमा पुग्न पर्ने रहेछ। करिब ३० मिनको हिढाइ। एउटा सानो गोठको साइड मा रहेछ फिल्ड, ठ्यक्कै ढिक्कुरपोखरीमा रहेको पोखरीको छेउ नै छेउ हिढेर माथिल्लो पिसाङ जाने बाटोमा पर्ने।

काम नै गार्हो भएर नि हो कि, तर कतैको फिल्डमा नि सजिलै भने भेटिन्न थ्यो ट्याग। यहाँको समस्या भनेको चाँही फेरी सार्हो माटो थियो, बिरुवा भने थोरै थिए।

एती टाढाको फिल्ड आउँदा समस्या भने पानीको हुन्थ्यो, वरीपरी माग्न लाई नि केही थिएन। बिहान चिसै भए नि दिउसो मज्जाले घाम लागि हाल्थ्यो, दिन भरी घाममा काम गर्दा तिर्खा नि उत्तिकै लाग्ने। सधैं जस्तो सुरुको खोज्न गार्हो, एउटा भेटे पछी त अरु हाम्ले सजिलै भेट्दै गयौ। शायद १२ बज्न लागेको थियो होला, भोक लागेको जस्तो भएको ले हामी रोटी खान बस्यौ। बिक्रम दाइले भने रोटीले मात्र नपुग्ने भएर, २ वटा वाइवाइ र एउटा बिस्कुट नि हालेको रहेछन। रोटी सक्के पछी हाम्ले वाइवाइ र बिस्कुट खाएर एकै छिनको बिश्राम पछी फेरी काम तिर लाग्यौ। छिनछिनमा मान्छेहरु तेतै बाट हिढ्थे, के गर्दै छन यिनीहरु भन्दै एकछीन हेर्थे र आफ्नो बाटो लाग्थे। त्यस दिन ३ नबज्दै काम सक्कियो। काम सकी ओरी हामी भोली पल्टको फिल्ड साइट हेर्न भनेर निस्क्यौ, र त्यता बाट होटेल तिर लाग्यौ।

होटेलमा समान राखेर हामी चिया खान भनेर अर्को होटेल तिर लाग्यौ। तेही एक्दिन अगाडि बसेर खाएको होटेलमा। उही बारान्डामा बसेर चिया खाँदै म माथिल्लो पिसाङ तिर हेर्दै थिए, बिक्रम दाईले आएर

“माथि पो जान पर्छ कि क्या हो भाई?” भने।

हुन्छ नि दाई, जाम! भन्दै म उठे

“दाइलाई र संजयलाई नि सोध्छु है म ” भन्दै बिक्रम दाई भित्र छिरे।

एकैछिन पछी, जान्छन रे दुबै जाना भन्दै निस्किए र हामी डाडा चढ्न थालयौ। पुल तरेर पारी लागे पछी, सिडी हुँदै तल्लो बस्ती सम्म पुगियो, त्यहा बाट फेरी अर्को उकालो चढेर हामी सिधै गुम्बा तिर लाग्यौ। गुम्बा बाट तल्लो पिसाङ पुरै देखिने रहेछ। ढिक्कुरपोखरी हुँदै आएको बाटो, हाम्रो फिल्ड साइट सबै देखिने। मनाङ जाने बाटो पट्टी भने बादलले ढाकेकोले खासै देखिएको थिएन। गुम्बा अगाडि बसेर अली अली फोटो खिचियो, गाउ एक्छिन डुलियो र फेरी तल झरियो। गुम्बा बाट देखिने अन्नपूर्ण II को दृश्य भने त्यो बेला छुटेको रहेछ। पछी फेरी फर्केर जादा त्यो दृश्य नि देखियो।

होटेल पुग्दा सम्मा खाना लग्भग तयार भैसकेको रहेछ। हामी होटेलको डाइनिङ हलमा बस्यौ र होटेलको दाईले खाना ल्याएर राखी दिए, तरकारी फेरी उही नै, गाजर र बन्दा तारेको। म तरकारी नै बिना अचार सँग मात्र खान थाली सकेको थिए, कहिले काही अण्डा खान्थे बरु। बन्दा र गाजर एती धेरै खाइयो कि त्यो होटेलमा, मनाङ बाट फर्के पछी हेर्न नि मन लाग्थेन। बरु तिमाङ तिर भने आलु धेरै भएर नि आलो सम्म खाइ राख्न पाइन्थ्यो। पिसाङ को त्यो होटेलमा बसेर गाजर र बन्दाको तरकारी खाँदै गर्दा, केही दिन अगाडि चामेमा खाएको ब्यन्जन याद आयो। कहिले तल झरेर म:म र मिठो मिठो खाउला भन्दै सोचेर म फेरी भात तिर लागे। हामीले काठमाडौं छोडेको लग्भग १० दिन जस्तो भै सकेको थियो, काम सकिन्न अझै धेरै दिन बाँकी थ्यो। २ वटा फिल्डको काम त अझै बाँकी नै थियो।

त्यहा बसेर खाँदै गर्दा, काठमाडौंको याद आइ हाल्यो। के हुँदै होला, उता भए के के गरिन्थ्यो, केके खाइरा हुन्थे होला। कहिले काही त फेस्बुकमा के हुँदै छ भन्ने नि तनाव हुन्थ्यो। त्यो बेला चामे माथि लागे पछी खासै नेट्वर्क राम्रो थिएन। नेपाल टेलिकमको नेट्वर्क टिपे पनि इन्टर्नेट भने चल्दैन थ्यो। फेस्बुक नखोलेको त धेरै भैसकेको थियो। घरमा कुरा गर्न भने हामी होटेल को बरन्डा तिर गै ओरी मिलाउथ्यौ। मनाङ गाउमा नेपाल टेलिकमको टावर छ रे भन्ने सुनेको थिए, २ दिन पछी हामी मनाङ गाउ जादै थियौ। टावर नै भएको ठाउँ मा त शायद इन्टर्नेट नि चल्छ होला भनेर म कुरेर बसेको थिए।

सोचमा दुबेरै थाहा नपाई थालको बाट र सबै गाजर बन्दा तरकारी सक्किएको रहेछ। खान खाइ सकेर एकै छिन डाइनिङ मै एक्छिन बसेर हामी कोठा तिर लाग्यौ। भोली धेरै काम बहेकोले त्यस रात भनेर तास खेलिएन।

त्यस दिनको काम भने पिसाङ बाट मनाङ जाने बाटो तिर पर्थ्यो, होटेल बाट खासै टाढा भने थिएन। बिहान हल्का ब्रेकफास्ट गरेर हामी काम तिर लाग्यौ। धेरै जस्तो फिल्ड साइट खासै मान्छे हिंड्ने बाटोमा पर्दैनन थ्यो। यो भने अली बाटो कै साइडमा पर्ने थ्यो।

मेटल डिकेटर को ट्याट ट्याट र टुट टुट अनी ३ ४ जाना बसेर घास पात ओरी पारी काम गरिर देखे पछी बाटो मा हिंड्ने हरुको ध्यान भने आकर्षण हुन्थ्यो। कोही आउथे र के गर्दै हो भने सोध्थे, कोही भने टाढै बाट हेर्थे र हासेर आफ्नो बाटो लाग्थे। हाम्रो फिल्ड कै अगाडि एउटा सानो घर थियो। घरको ढोका बाहिर बसेर एउटा बुढो मान्छे हाम्लाई धेरै अगाडि देखी हेरी रहेको थिए। बोल्न भने आएनन। हाम्लाई नि बिश्राम चहिएको थियो र उन्को घर तिर गैयो। चिया खान पाईन्छ भनेर सोध्दा , उन्ले हासेर पाईन्छ बाबु भन्दै घर भित्र छिरे। केही बेर पछी ३ वटा सानो मुडा बोकेर बाहिर निस्के। मुढा भुइ मा राखेर हामीलाई बस्न संकेत गरे र फेरी हाँस्दै भित्र पसे।

उन्को घर सामान्य हिमाली भेगको घर जस्तो थियो। ढुङ्गाको घर, बाहिर पट्टी काठले बारेको। भित्र अली कती बस्न मिल्ने गरी ढुङ्गा बिछाएको। शायद धेरै पुरानो घर थियो। ढुङ्गामा लेउ मात्र नभएर सान्तिनो बोट्बिरुवा नै निस्केको थियो। डाडाको ठ्यक्कै पछाडि पर्ने भए पनि दिउसो चाँही घाम मज्जाले लाग्ने। हरेक दिन ६ बजे देखी ६ बजे सम्म जस्तो काम अनी तेस माथि उभी राख्नु पर्ने काम। थकाई त एती लागि सकेको थियो। तेस माथि कुटोले त्यो सार्हो माटो खन्दा खन्दा हातमा ठेला उठेर, एकचोटी फुटेर फेरी फोका आउन भ्याइ सकेको थियो।

घर जान भने अझै धेरै दिन बाँकी थियो। ति बुढाको घरको पिडीमा बसेर फेरी काठमाडौंको बारे सोच्न थाले।

कहिले जाने होला घर……..

हामी त्यहा बाट अझै मनाङ गाउ जान बाँकी थियो। त्यस पछी त्यता बाट बिक्रम दाई र म तिलिचो जान पर्ने काम थ्यो भने, मान सर र संजय भने बिशेष काम आइपरेको ले काठमाडौं फर्किने भनेर बसेका थिए। तिलिचो मात्र नभएर हामी धारापानी फर्केर त्यहा बाट फेरी लार्खे पास सम्म पुगेर फर्किन पर्ने थियो। हातैमा दिन गन्दा नि अझै १० दिन जस्तो को काम बाँकी थियो। धेरै सोचेर उल्टै घरको याद आउने भएर म त्यो कुरा सोच्न छोडेर अतिथमा फर्के। चिया अझै आइ सकेको थिएन। घरको छेउमा एउटा टिक्टिके चरा कराइ रहेको थियो, त्यसको फोटो खिच्न भनेर म बाहिर निस्के। रोडको बिच्चोमा बसेर फुछर हलाउदै अहारा खोज्दै थियो, सक्दो नजिक गए र २ ४ वटा फोटो खिचे। टाढा कतै ट्याउट्याउ चरा नि कराइ रहेको थियो। खोज्न जाने जागर भने थिएन। बिहान देखी उभिएकोले शरीरको उर्जा सबै सक्की सकेको थियो। चिया आयो कि भनेर म फेरी घर तिर लागे, बुढाले भखर भित्र बाट थालीमा चिया बोकेर आउँदै रहेछन।

“के गर्दै हो बाबु यो?”

केही बेरको मौन्ता पछी उन्ले सोधे।

“एस्सो अध्ययनको काम हो यो बनस्पती सम्बन्धी” मान सरले उतर दिए।

“बर्षदिन अगाडि जस्तो पनि एक दुई जना आएको थ्यो, तेही बसेर के के हेर्दै थ्यो। बिदेशी पनि आएको थियो एक जाना” बुढाले बट्टा बाट चुरोट झिक्दै भने।

“अ! हामी नै हो त्यो पनि, हाम्ले १ २ बर्ष देखी गर्दै छौ यो अध्ययन। यहाँ त केही थिएन जस्तो लाग्छ , पहिले पहिले तपाईंलाई देखेको जस्तो लागेन त?”

चुरोट बाल्दै बुढाले टाउको हल्लाए।

“खेत तिर हुन्छ धेरै जस्तो, घरमा एक्लै बस्छ, दिउसो तिर आउँदा देखेको थियो मैले। अनी यो आवाज आउने यन्त्र के हो? एस्ले यार्शागुम्बा खोज्छ?”

हामी सबै हास्यौ र बिक्रम दाईले “खोज्दैन बुवा” यस्ले फलाम भएको कुरा भेट्ने हो। हामीले यो बिरुवाको फेद मा फलाम राखेको छौ, र त्यो फलाम भेटे पछी एस्ले आवाज निकाल्छ भने। 

“यार्शागुम्बा कता तिर बढी पाईन्छ बुवा एता?” बिक्रमदाइ बुढा भए तिर सर्दै सोधे।

“एता लेकमा जता ततै पाउछ, माथि पिसाङ पारी नारफु गाउ को चाँही धेरै राम्रो भन्छ। मनाङको देश भरीमै राम्रो मान्छ।”

“तपाइ नि जान हुन्छ? यार्शा खोज्न?”

“पहिले जान्थ्यो बाबु अहिले ज्यानले दिदैन, अब बुढा भयो केही गर्न सक्दैन।”  

एकै छिन को यार्शा बारेको गफ पछी हामी फेरी काम तिर फर्क्यौ। छिनछिनमा अरु मान्छेहरु आउथे हेर्थे जान्थे, हामी काम गरिरहन्थ्यौ।

१०० वटा जस्तो बिरुवा बाँकी रहदा संजय “ओहो भोली त ट्याट-ट्याट टुट-टुट को अन्तिम  दिन” भन्दै थियो। जिस्किदै मान सरलाई ,

“सर आजकल त सपनामा नि ट्याट-ट्याट टुट-टुट गर्न थाली सक्यो। एतिकै मेटल डिटेक्टरको आवाज आउछ। राती उठेर रूम मै बिरुवा खोज्दै १० १५ २० भन्दै हिडिन्छ कि भन्ने डर भै सक्यो” भन्दै बिरुवा नाप्दै थ्यो। बिरुवाका पातमा किराले खाएको भागलाई हामी प्रतिशतता मा गन्द थ्यौ। कती प्रतिशत किराले खाएको छ भनेर। 

थकाई धेरै लागे पनि एउटा भागको काम सक्किन लाग्दा खुशी भने लागेको थियो। घर जाने दिन पनि नजिकिदै थियो। त्यस माथि पर्सी पल्ट हामी मनाङ गाउ जादै थियौ र त्यता बाट तिलिचो। तेसैले रमाइलो भने लागि रहेको थियो, कहिले पर्सी हुन्छ भन्ने जस्तो नि लागि राखेको थियो। काम सक्काएर हामी होटेल तिर लाग्यौ, पिसाङ को त्यो होटेल नि अब त घर जस्तो भैसकेको थियो, हामी बसेको रुम भने आफ्नै कोठा जस्तो। होटेल पुग्न नपाई  डाइनिङ तिर लागियो र चिया र तास सुरु भयो।

खाना तयार हुँदा सम्म हामी तास नै खेलेर बस्यौ।

भोली पल्टको काम भने अली टाडै थियो। पिसाङ गाउ बाट लग्भग ३० ३५ मिनेट को हिडाइमा। पिसाङ बाट मनाङ जादा केही बेर सम्म माथि चढ्नु पर्छ, डाडाको टुप्पोमा पुगेर फेरी झर्न पर्छ। हामी फिल्ड नि लग्भग टुप्पैमा थियो। यो साइट पनि बाटो मै पर्थ्यो, झन तल्लो फिल्ड भन्दा नि बाटो मै। कम्से कम तल्लो फिल्ड त अली कती जङल भित्र जस्तो थियो, माथिल्लो भने रोडैको छेउमा। त्यहा त झन सोध्न आउने को कमी नै थिएन। छिनछिन मा मान्छे आउथे, के हो कसो हो सोध्थे अनी जान्थे। अरु ठाउँ मा भने ट्याग खोज्न लाई माटो वा टाढा भएको ले गार्हो हुन्थ्यो भने, यहाँ चाँही फिल्ड जङल नै भित्र जस्तो पर्ने थ्यो। रोड को साइड बाट सुरु भएर भिरको तल्लो छेउ सम्म। झारी पनि धेरै बाक्लो, ट्याग खोज्नै गार्हो हुने। आवाज भने आएको आइ तर भेट्न गार्हो। त्यहाको काम सक्काउन लग्भग पुरै दिन लाग्यो। टाढा भएको ले खाज भने बोकेरै गैएको थियो। तर खुशी को कुरा भने ट्या-ट्याट टुट-टुट को अन्तिम दिन थ्यो त्यो। काम सकेर हामी होटेल तिर लाग्यौ। 

होटेल पुगेर हामी सामान प्याक गर्न तिर लाग्यौ, भोली को दिन लामो हुने वला थियो, र प्याकिङ चाँही सक्न पर्ने थियो।

“भोली निस्किने हैन बाबुहरु?” होटेल को दिदीले भान्सा भित्र बाट सोध्नु भयो।

“हो दिदी, बिहानै निस्किन्छौ हामी, बरु बिहान एस्सो खाजा केही बनाउन मिल्छ भने बनाइ दिनु है”

“हुन्छ, रोटी खाने कि चाउचाउ?”

शायद पिसाङ को दोश्रो दिन को फिल्ड हुनु पर्छ, हामी बिहानै हिंड्न परेको दिन। अगिल्लो दिन बिहान खाजा बनाइ दिनु है भनेर सुत्न गएको थियौ, बिहान उठ्दा चाउचाउ भनेको रहेछ। बिहान को ५:३० मा चाउचाउ। त्यस माथि नि त्यताको लोकल चाउचाउ, राराको नमिठो संस्करण जस्तो थियो। तेसैले गर्दा चाउचाउ चाँही नखाउ होला, बरु रोटी नै खाउ भनेर भनियो।

भोलीको दिन भने हामी पिसाङ देखी याकखर्क वा श्रीखर्क सम्म पुग्न पर्ने थियो, तर बाटोमा २ ठाउँ को काम सकेर।  ट्याट-ट्याट टुट-टुट को काम सक्के पनि बिरुवा नाप्ने काम भने बाँकी नै थियो।

हामी बिहानै उठेर हिढ्न सुरु गर्यौ। त्यो होटेल छोडेर जादा त एकछिन नरमाइलो नै लाग्यो, ५ रात बसेको थियौ तर साचिकै घर नै जस्तो भएको थ्यो। हामी हिड्दा अध्यारो नै थियो, केही बेर हिडे पछी पछाडि फर्केर हेर्दा तल्लो पिसाङ बिस्तारै टाढिदै थियो, बस्ती नि पातलो हुँदै थियो। पिसाङ को बस्ती सक्के पछी एउटा सानो पुल आउछ, पुल छोडेर गए पछी भने खासै घरहरु छैनन। माथिल्लो पिसाङ भने अध्यारो भएको कारण खसै देखिएको थिएन, केही घरमा फट्ट फुट्ट बत्ती बलेको थिए। पिसाङ पिकको टुप्पो मा भने हिउ अली अली टल्केको थियो। देब्रे पट्टी मर्स्याङ्दी खोला हल्ला गर्दै बगी रहेको थियो। दाँया पट्टी बादलले धाकेको ले अन्नपूर्ण II भने लुकेको थियो।

“कहाँ अढ्केको फेरी?” पछाडि बाट मान सरको आवाज आयो। म पछाडि फर्के, आए सर म , भन्दै हिंड्न थाले, सर उता फरेर लुइ लुइ हिंड्न थाले सकेको थिए। मनौ बस स्टपमा बस छुट्न लागेको छ।  एक चोटि सुरु गरे पछी गुटुङटुङ हिडेको हिढै।

एकदिन अगाडि हिडे कै बाटो हिड्दै हामी डाडा को टुप्पोमा पुग्यौ, त्यहा बाट भने सिधै मनाङ सम्म नपुग्दा कतै केही चढ्न भने पर्दैन। लगभग तराइको जस्तै सम्म छ। झर्न पर्ने ठाउँ बाट भने हुम्दे तेही २० मिनेट को बाटोमा छ जस्तो लाग्ने गरी हुम्दे बिमानस्थल आँखै अगाडि देखिन्छ।  तर हिंड्न थाले पछी भने कहिले आउँदैन। तर म भने धेरै खुशी थिए, सोचेको जस्तो परिदृश्य बल्ल देख्न पाइेको थियो। आफुले सोचेको बुझेको मनाङ जस्तो मनाङ देख्न पाइेको थियो। म त्यस पछी झन छिटो छिटो हिंड्न थाले। सम्म बाटो अनी हिंड्न नि गार्हो नहुने, त्यस माथि रमाइलो ठाउँ। हामी हिंड्न थालएको धेरै दिन भैसके पनि त्यो बेला थकाई कहाँ पुग्यो र हामी रमाउन थालयौ। मान सर र बिक्रम दाई भने पहिले पनि मनाङ पुगिसकेका थिए, संजय र मेरो भने पहिलो पटक थियो। र हामी अझै बढी उत्साहित थियौ। हुम्देको बाटो मा हिड्दा भने धेरै चरा नि देखियो, फिस्टे, भद्राइ भने एकदमै धेरै।

आकाश तिर खासै ध्यान दिएको थियिन तर घाम लाग्न थाले पछी शायद पछाडिको हिमाल खुल्यो कि भनेर हेरेको थिए, पिसाङ पिक भने टिलिक्कै टल्केको रहेछ। वारी पारी के छ भनेर एस्सो आँखा घुमाउदै थिए, हाम्रो ठ्यक्कै माथि एउटा हिमाली गिद्ध उढी रहेको रहेछ। हतरपत्तर क्यामरा झिकेर फोटो खिच्न तिर लागे। गिद्धहरु मा सबै भन्दा धेरै मन पर्ने नै मलाई हिमाली र हाड्फोर गिद्ध हो। यो भन्दा पहिले पिसाङमै ढिक्कुरपोखरी नजिकको फिल्डमा काम गर्दा देखिएको थियो, तर धेरै पर भएको ले फोटो भने राम्रो आएको थिएन।  

 यो पाली भने ठ्यक्कै हाम्रो माथि भएको ले ठिकै फोटो आएको थियो। हुम्दे पुग्दा सम्म धेरै चरा देखियो। मैले पहिलो पटक देखेकोमा वनसर्रा र  गाजले पीतचरी थियो। दुइटै को राम्रै फोटो आएको ले म खुशी थिए।

डाडा बाट तेही देखिएको हुम्देको बिमानस्थल भने आउने नामोनिशान थिएन। संजयको मनिपुर एफयम चालु थियो। कहिले गीत बज्थ्यो भने कहिले हास्यब्यङको कार्यक्रम। कुरा गर्दा गर्दै हामी हुम्दे नि पुगियो, हुम्दे नपुग्दै बाट पेट कराइ सकेको थियो र हुम्दे मा भने केही खाएर निस्किन पर्छ भन्ने भयो र हामी एउटा होटेलमा पस्यौ। होटेलको दिदीलाई भात पकाउन लगाएर एकछिन एस्सो हुम्दे डुलयौ। होटेल कै ठ्यक्कै अगाडि बिमानस्थल थ्यो, र रोड मा एउटा सालीक। पुर्व तिर हुम्दे गाउ र पश्चिम तिर मनाङ जाने बाटो।

हुम्दे मलाई एकदम मन परेको ठाउँ मा पर्छ, डाडा कडा हेर्दा मुस्ताङ जस्तो देखिने , तर तल्तिर भने हरियाली। मनाङ पुग्न अगाडि म मनाङ नि मुस्ताङ जस्तै सुक्खा छ सोच्थे , तर मनाङ भने धेरै नै हरियो रहेछ, रमाइलो पनि। दुइचार वटा फोटो पनि खिचियो, र फेरी होटेल तिर लागियो। होटेलको बारन्डामा मज्जाले घाम लागेको थियो। आफुलाई घाममा सुत्न जस्तो मन पर्ने कुरा केही छैन, धेरै दिन भएको थ्यो त्यसरी सुत्न नपाएको नि। तेसैले ब्याग भुइ मा ओछ्याएर सुती हाले। घामले आँखा सुनौलो पारी सकेको थियो, आँखा खोले अन्दकार देख्ने जस्तो गरी, तर घाम भने पारीलो लागेकोले म आनन्दले सुते। एकछिन त  मज्जाले निदाएछु। होटेलमा खाना नि भखर बनाउदै गरेको भएर तयार भएको थिएन रहेछ। लग्भग ४५ मिन जस्तो लगेको रहेछ। म उठ्दा सम्म भने त्यार भै सकेको रहेछ। मान सरले उठ भनेर बोलाउनु भएको त रहेछ तर म मस्त निन्द्रा म थिए, थाहा नै पाएन छु। 

धेरै दिन पछी भात खाएर खुशी भैयो गाजर र बन्दा खादा खादा आजित भएको, आज भने काउली र आलु रहेछ। त्यो भने मासु भात नै खाएको जस्तो थियो मेरो लागि तेती बेला। त्यस माथि मुलाको अचार, अझ दही पनि भएको भए त कती खुशी होइन्थ्यो होला। धेरै पछी थपेर भात खाइयो। भात खाएर एकै छिन बिश्राम गरेर मनाङ तिर हिडियो। हुम्दे बाट हिंड्न थाले पछी भने धेरै उत्साहित भएको थिए म, केही घण्टामै मनाङ पुगिदै थियो र भोली पल्ट त झन तिलिचो ताल।

पिसाङको डाडा काटेर तल झरेर सम्म बाटो हिड्दा देखी नै मेरो पैताला पोली रहेको थियो। बालुवा वा सना ढुङ्गा छिरेर घोचेको जस्तो लागि रहेको थियो। तर जुत्ता खोलेर हेर्दा भने अली अली बालुवा थ्यो, र समय-समय मा फाल्दै हिड्दै थिए। तर पनि पैताला पोल्न भने काम भएको थिएन। भ्राकाको गाउ पुग्दा सम्म त झन पैताला भात्भती पोली सकेको थियो। कहिले मनाङ पुगेर जुत्ता खोलम भै सकेको थियो। भ्राका बाट लग्भग १ घण्टा जस्तो मा मनाङ पुगियो, मनाङ पुग्नु अगाडि एक ठाउँ मा बिरुवाहरु नाप्न पर्ने थ्यो र काम सकी ओरी जादा एक घण्टै लाग्यो।

मनाङ पुग्दाको उत्साह भने भिन्दै तहको थियो। एउटा सपना नै पुरा भएको थियो। मनाङमा स्वागत छ भनेर लेखिएको ढोकामा बसेर फोटो खिचेर हामी बस्ती तिर लाग्यौ। मनाङ बाट तिलिचो जाने बाटो तिर अर्को एउटा ठाउँमा बिरुवा गन्न पर्ने थ्यो र हामी त्यता तिर लाग्यौ। त्यहाको काम सकेर हामी एउटा होटेलमा म चिया खान पस्यौ। त्यस पछीको प्लान पनि बनाउन पर्ने थियो।

म मनाङ पुगे देखी नै मोबाइलमा नेट्वर्क छ कि छैन, डाटा चल्छ कि चल्दैन भनेर हेर्दै  थिए। त्यती बेला वाइफाइ त्यस्तो सामान्य नि थिएन र हामी बस्ने गरेको होटेल कुनै म नि थिएन। वाइफाइ भने देखाइ रहेको हुन्थ्यो अली अली अरु होटेल तिर को। दुर्भाग्यबस मनाङमा फोन को डाटा टिपेन, के हुँदै छ भनेर थाहा पाउन पाइेन। चिया खान बसेको ठाउँ म भने त झन के होस् वाइफाइ।

चिया पाक्दा सम्म म बाहिर घुम्छु भनेर निस्के। हिमाली भेट दर्शाउने घरहरु, चिसो हावा र वारी परी डाडा काडा। दक्षिण पट्टीको डाडा माथि भने बादल लागेको थियो, केही नदेखे पनि मलाई त्यहा हिमाल छ भन्ने चाँही थाहा थियो। त्यो फिल्डमा जादा भने गंगापूर्ण हिमाल देख्न पाइेन। हाम्रो मनाङको बास धेरै बेर को भएन। काम भने तिलिचो सम्म पुग्न पर्ने थ्यो, बिक्रम दाई र मेरो, तर मान सरले हामी लाई बाटो देखाउन र कस्तो कस्तो फुल खोज्ने भनेर अली कती माथि सम्म लाग्दा, खासै सबै फुलहरु मरी सकेको देखेर, माथि जानु मा कुनै औचित्य छैन भनेर नजान सुझाब दिए। तेस्को मत्लब, हामी मनाङ बाट सँगै तल फर्किने भयौ। हामी फेरी तल होटेल तिर झर्यौ र एकै छिन बिश्राम गरेर, फेरी पिसाङ तिर लाग्यौ।

“पुरै दिन बाँकी छ, किन मनाङमा केही नगरि बस्नु, लुइ लुइ हिंडे पिसाङ पुगिन्छ, बरु यहाँ धेरै बेर बसेर हुन्न , छिटो छिटो जाम यहाँ बाट” भन्दै मान सर रेडी हुन थाले। पिसाङ बाट मनाङ कारीब १६ किलोमिटर छ, तेस माथि हामी याकखर्क तिर नि गयौ एकछिन, ३ ४ किमी त अझै धेरै हिडियो होला। अब फेरी १६ किमी फिर्ता पिसाङ जान पर्ने भयो। बाटो सजिलो भएर नि खासै थाकिएको भने थिएन, तर मेरो पैताला भने धेरै पोली सकेको थियो, अनी फेरी अर्को १६ किमी तेही बाटो हिंड्न परेको ले अली अली तनाव भने लागि सकेको थियो। खुट्टा चिसो पानीमा हाल्नु पर्ला भनेर सोछेको थिए तर खासै सम्य नै मिलेन, तर होटेल बाट निस्किनु अगाडि खुट्टा चाँही पखालेर मात्र निस्किन्छु भनेर म पानी खोज्न हिंडे। होटेल को बाहिर पट्टी एउटा सानो धारा रहेछ। जुत्ता खोलेर, मोजा निकाले पछी बल्ल थाहा भयो कि मेरो खुट्टा मा फोकै फोका उठेको रहेछ।

तेस्ले गर्दा पो पोलि रहेको रहेछ मेरो पैताला। पैतालाको अगाडि भाग त पुरै फोका मात्र बनी सकेको रहेछ, दुबै तिर को खुट्टा मा लग्भग उस्तै। एकदिन अगाडि पिसाङमा बस्दा सम्म खसै केही नभएको पैताला एकै दिनमा फोकै फोकाले भरिएछ।

मनाङको चि~~~~सो पानी बगी रहेको धारामा मैले आफ्नो खुट्टा भिजाए। एक्छिन त एती आनन्द भएन। खुट्टा एकछिन पानी मै राखेर म वरीपरी हेर्दै थिए। होटेलको दिदी आएर, के भयो बाबु खुट्टा भनिन। मैले पानीको फोका देखाउदै, फोका उठेछ भने।

“अनी कहाँ चिसो पानी मा भिजाएको त, झन फोका उठ्छ अब, चिसो तातो भएर” भन्न थालिन.

आफुलाई झन तनाव पर्‍यो। तेती भने पछी म खुट्टा सुकाएर, मोजा जुत्ता लगाइ भित्र छिरे। सरहरु निस्किनलाई तयार भै सक्नु भएको रहेछ। म नि आफ्नो ब्याग भए तिर गए र ब्याग बोकेर बाहिर निस्के। खुट्टा भने पहिलेको भन्दा धेरै पोल्न थाल्यो, होटेलको दिदीले भनेको हो नै रहेछ कि क्या हो भन्दै म हिंड्न थाले। केही बेर हिंड्न नपाई खुट्टा त झन पोल्दै थियो, केही बेर अगाडि मात्र सफा गरेको थिए, पक्कै केही थिएन जुत्तामा तर पनि भित्र बालुवा भएको जस्तो महसुस भैरहेको थियो। म सँग अरु केही विकल्पहरू थिएन। पिसाङ सम्म हिंड्नै पर्ने अवस्था थ्यो।

म बिस्तारै बिस्तारै हिंड्न थाले। मनाङको बसाइ भने धेरै छोटो रहयो, तिलिचो जाने सपना चाँही हिमालको बादल जस्तै केही बेरमै हरायो। एउटा त तिलिचो जान नपाएकोले निरास, अर्को खुट्टाको फोकाले दु:ख दिएर तनाव। फर्किन भने मजै आइ रहेको थिएन, जादा तेही बाटो कती रमाइलो लागेको थियो नयाँ भएर, र मनाङ पुग्ने उत्साहले , तर फर्किदा भने त्यो मरी सकेको थियो। पत्तै नपाइ कती छिटो भ्राका पुगियो। पैताला धेरै नै पोल्न थालएको भएर म बिश्राम लिएर बिस्तारै हिड्दै थिए। भ्राकामा रोकिएको ठाउँमा एउटा साइन बोर्ड देखे, त्यहा “आइस लेक” लेखेको थियो। मनमनै ओहो “यहा जान पाएको भए हुने, कस्तो राम्रो होला यो ताल” भन्दै सोचे, तर काम नै भएर त्यता जान पर्ने भएको भए नि मेरो हिंड्न सक्ने अवस्था भने थिएन। तेसैले आकाशको फल आखा तरी मर भन्दै फेरी हिंड्न थाले। तर एकचोटी जिन्दगीमा आइस लेक भने गएरै छोड्छु भन्ने चाँही सोचेको थिए।

ठुलो दूरी हिंड्न पर्ने थियो, समय खेर फालेर नि काम थिन। तेसैले म फेरी हिंड्न थाले , पैताला उठाउनै गार्हो हुने अवस्था आइ सकेको थियो , तर अब हिंड्नै पर्‍यो।

हुम्दे पुग्दा सम्म अली अली बोक लाग्न थाली सकेको थियो। खाजा खान पर्छ भनेर मान सरलाई भन्दै थियौ हामी। सरले, “हुम्दे सक्किन्न लागे पछी एउटा बुढाको पसल छ, चाउचाउहरु बन्छ, मिठो बनाउछन, मैले चिनेको नि छु तेतै जाउ खान” भने। हामी नि हुन्छ भन्दै हिड्यौ। सरले भनेको होटेल पुगे पछी म फेरी जुत्ता खोलेर भित्र पसेका अली अली बालुवा झिक्न थाले। मोजा भने खोल्न मन लागेन, होटेलको दिदीले भने जस्तै चिसो तातोले झन दुख्छ भनेर, जुत्ता टक्टकाएरमा डाइनिङ भित्र छिरे। सरले चाउचाउ र चिया भनी सक्नु भएको रहेछ। हामीलाई होटेलको दाई सँग चिन्जान गराउदै, “उहालाई मैले चिनेको धेरै भयो, एता आउँदा म सधैं खाजा एही खान्छु” भने। होटेलको दाई भने नमस्ते भन्दै हासी राखे र चिन्जान सक्के पछी भान्सा तिर लागे।

“के भयो तिमी? बिस्तारै हिंड्न थाल्यो त, लुइलुइ हिंड्ने मान्छे”। मान सरले सोधे

खुट्टा पोलिरछ सर, फोका उठेछ टन्नै।

“जुत्ताको सोलमा प्वाल परेको छ र?”

प्वाल त छैन सर, तर सानो सानो बालुवा जस्तो छिरेको रहेछ, तेस्ले अली अली पाछेर होला।

“बेल्का होटेल पुगेर बिश्राम गरे पछी भोली बिहान सम्मा ठीक हुन्छ”

अ! शायद हुन्छ होला।

केही बेरमा चिया आयो, र चिया सक्किन नपाई चाउचाउ। त्यो मनाङको घाम ढल्किन लाग्दको चिसोमा तातो चाउचाउको सुपले ज्यान मात्र नभएर मन पनि तताउने। चाउचाउ खाइ सकेर म, बिक्रम दाई र संजय बाहिर निस्केउ, मान सर भित्र पैसा तिरेर निस्किदै हुनुन्थ्यो।

झन चिन्या मान्छे भनेर आएको एक कचौरा चाउचाउको २०० लिदियो भन्दै सर बाहिर निस्के। हामी ३ जानै एक्कै चोटि हास्न थालयौ। यो कुराले सरलाई धेरै पछी सम्म जिस्काइयो।  त्यहा चाउचाउ खाए पछी हामी ननस्टप पिसाङ सम्म हिड्दै थियौ। बाटोमा खासै केही गर्ने जागर भने आएको थिएन। न चराको फोटो खिचियो न गफै गरियो खासै। संजय र म सँगै हिड्दै थियौ, मान सर र बिक्रम दाई हामी भन्दा अगाडि, सर समय समयमा पछाडि फर्किदै, खुट्टा कस्तो छ तिम्रो भन्थे। म ठिकै छ सर भन्थे र फेरी हिडाइ सुरु हुन्थ्यो।

हिंडेको कती बेर भयो नि बिर्सी सकेको थिए मैले। थकाई नि लाग्न लागि सकेको थियो। 

पैताला भने भातभती पोल्दै थियो। कती हिडियो भन्ने नि थाहा थिएन, धेरै समय सम्म जता हेरे नि बाटो उस्तै जस्तो लाग्ने, साझ नि पर्न लागि सकेको थियो, तर हाम्रो अगाडि भने एउटा डाडा देख्न चाँही थाली सकेको थियो, करिब २० मिनेट जस्तो को हिडाइ मा छ भन्ने अनुमानको साथ म हिडिराखे।  २० मिनेट मै भने आएन, तर जब डाडा पुगियो एकछिन भने आनन्द महसुस भयो, डाडा कटे पछी पनि २०-३० मिनेटको हिडाइ भने बाँकी नै थियो, तर पनि होटेल आयो अब भन्ने जस्तो भएको थियो। कनी कनी डाडा चढियो , एउटा त थकाई अर्को पैताला।

लगबग आधा घण्टा पछी हामी होटेल पुग्यौ, होटेल पुग्दा सम्म भने अन्दकार भै सकेको थियो। होटेल पुगेर हामी सिधै डाइनिङ हल तिर छिर्यौ, भित्र बुढा बुढी बसी रहेको रहेछ।

“ओह बाबुहरु फेरी फर्क्यो?”

” अ, उता काम भएन सबै सुकी सकेछ, अब आज एत बसेर भोली तल जाने” मान सिर ब्याग भुइमा राखेर कुर्सी तानेर बस्दै भने।

बरु ब्याग कोठा मा राखेर एकछिन धल्न पाए हुने भन्दै मैले होटेलको बुढालाई भने,

उन्ले तेस पछी जे भने तेस्ले चाँही मन छ्यो।

“हुन्छ बाबु आफ्नै कोठा मा त बस्ने होला नि”?

नभन्दै त्यो कोठा आफ्नै कोठा जस्तो भै सकेको थियो, त्यो रात सहित हाम्रो छैटौ रात हुन्थ्यो त्यो होटेलमा।

म ब्याग बोकेर कोठा तिर लागे। पुग्न नपाई जुत्ता खोले, पैतालाको फोका भने झनै ठुलो र रातो भै सकेको रहेछ। अली अली धुलो नि टासीएको रहेछ। मनाङको होटेलको दिदीले चिसो पानीमा नहाल्नु भन्थिन, तर धुलो नि परेको र तातो भएकोले मन ले मानेन, म खाली खुट्टा तल सम्म ओर्लिए, धारा भने होटेलको अगाडि पट्टी बाटो कै छेउ म थियो, र भर्र्याङ् ओर्ले पछी भने माटो मै टेकेर जान पर्ने हुन्थ्यो। तल आए पछी मात्र मैले सम्झे कि त्यहा आउँदा चप्पल लिएर आउन पर्थ्यो। 

धाराको छेउमा एउटा ढुङ्गा थियो, त्यो ढुङ्गामा बसेर म खुट्टा धुन थाले, धोइ सके पछी पो के गरेर माथि जाने भन्ने थियो, तर होटेलको दाई बाहिर निस्केको रहेछन।

दाई एउटा चप्पल छ? खुट्टा धोएको चप्पल ल्याउनै बिर्सेंछु भनेर उन्लाई भने।

“एही लगाउनु बाबु” भन्दै उन्ले आँफैले लगाएको चप्पल मलाई दिए र भान्छ तिर छिरेर अर्को चप्पल लगाएर आए।

म उन्को चप्पल लगाएर कोठा तिर गए। तेती बेला सम्म धेरै नै थाकी पनि सकिएको थियो। तेसैले म खान नपाक्दा सम्म ओछ्यान मा पल्टिन पर्‍यो भनेर ढले। एकछिन पल्टिने भनेको मज्जाले नै निदाइएछ। २ घण्टा जस्तो सुतेर तल झर्दा सबै जना खाएर बसिसएको रहेछन, होटेलको दाईले बोलाउन नि आएको रहेछन तर म आनन्दले सुती रहेको थिए।

थकाई सुतेर मरे पनि खुट्टा पोलेको भने उस्तै थियो। भर्र्याङ् झर्दा नै पोलेर गार्हो भै सकेको थियो। तेही नि जसो तसो झरे र डाइनिङ मा गए।

“हेर मान्छे मज्जा ले निन्द्रा पुराएर आएछ, भोली हिंड्न सक्छ तिमी एस्तो ताल ले?” मान सरले सधैं झै ढाडो सैलीमा सोधे।

सकिन्छ सर, भन्दै म कुर्सी तानेर बसे। होटेलको दाइले भात र उही गाजरको तरकारी ल्याएर अगाडि राखिदिए।

मान्छेको शरीरमा ७० प्रतिशत पानी हुन्छ, त्यो बेलामा मेरो शरीरमा ७० प्रतिशत क्यारोटिन पिग्मेन्ट भै सकेको थियो होला, गाजर खादा खादा।

थाकेर लोथ र भोकले चुर भए पनि खान भने धेरै सकिएन। दाल र भात मात्र कसरी खानु? तरकारी त म आजित भै सकेको थिए गाजर खादा खादा। भात फेरी हिमाइल भेग मा आफुलाई दुई दिन पुग्ने जस्तो हालिदिन्छन, अरु बेला भने म थोरै हाली दिनु म पछी थप्छु पर्‍यो भने भन्थे, त्यस दिन भोक लागेको ले खान सकिन्छ सोचेर भनिन, १० गास नि खाएको थिइन होला पुगी गो।

भात सक्किन नपाई मलाई होटेलको दाईले एक कप चिया ल्याइदिए, मेरो सुत्न अगाडि चिया खान पर्ने बानी नि उन्लाई कन्ठ भै सकेको थियो। चिया खाँदै गर्दा, मान सरले भोली को प्लान बनाउ, अनी तिमी हिंड्न नसक्ला जस्तो छ, काम अझै बाँकी छ, त्यो कुरा नि सोच्न पर्‍यो भन्न थाले।

“काम त सक्केको हैन र सर?” संजयले सोध्यो

“कहा बाट सक्किनु, दानक्युको पुरै बाँकी छ”

“ट्याट-ट्याट टुट-टुट नै?” संजयले अचम्म मान्दै सोध्यो

“बाकी छ त अनी , अस्ती देखी भन्या हैन? फर्किदा गर्दा सजिलो हुन्छ भनेर छोडेको” सरले फिल्डको म्याप झिक्दै भने।

त्यो बारे चाँही मलाई नि थाहा थिएन। हामी काम सक्कियो भनेर आनन्दले बसेको थियौ।

ट्याट-ट्याट टुट-टुटको काम ले पुरै दिन खान्थ्यो, भने पछी अर्को एक दिन पुरै दानक्युमा बित्ने वाल थियो। 

मैले मन मनै एस्सो हिसाब गरे, भोली लुइ लुइ हिडियो भने तिमाङ कसो नपुगिएला? पर्सी दिन भरी काम अनी धारापानी सम्म हिंडेर त्यताको बास, त्यता बाट लार्खे पास। तर फेरी एस्सो सोच्दा, पैतालाको एस्तै ताल हो भने लार्खे पास हैन, तिमाङ नि पुग्न सकिन्न भन्ने कुरा मन मा आयो। भोली उठ्दा सम्म पोलेको कम होस् भनेर सोच्न बाहेक गर्न सक्ने केही अवस्था थिएन। त्यो बेला औषधीनी खासै केही बोकेर हिंडेको थिएन। बिहान सम्म पोली नै राख्यो भने चाँही चामे मा किन्न पर्ला कि भन्ने चाँही दिमाग मा आयो।

घर पुग्ने त कहिले कहिले………

“हिंड्न सक्छ नि तिमी? ” सरले फेरी सोधे…

सक्नै पर्‍यो नि सर अब अरु केही बिकप्ल छैन। बरु चामेमा नियोस्प्रिनहरु केही पाए किन्न पर्ला।

“पाउछ चामेमा, औषधी पसल छ तेही पोलिस चौकी अगाडि”

अ तेही गर्न पर्ला अनी बिस्तारै ठीक भै हाल्छ नि।

तेसो भए भोली हामी बिहान ६ बजे नै निस्किउ, तिमाङ पुग्न पर्छ धेरै लामो छ बाटो।

“आजको भन्दा त के लामो होला र सर?” संजय ले दि हाल्यो।

हुन पनि हामी कम्ती मा ३६-३७ किलोमिटर हिंडेको थियौ।

सरले सुन्या नसुनै गरेर कुरा फेरी दिए।

हामी केही बेर भोली पल्टको प्लान गर्दै बस्यौ र सुत्न गयौ।

अरु दिन कोठा पुगेर संजय र म केही बेर कुरा गरेर बस्थौ भने त्यस दिन दुबै जाना सुत्यौ।

भोली पल्ट बिहान ५:३० मा अलार्म बज्यो, ६ बजे हिंड्ने भनिएको थियो तर त्यो हिडिन्न भन्ने थाहा थ्यो, ६:३० सम्म हिडिन्थ्यो होला झै लागेर ५:३० को अलार्म राखेर सुतेको थियौ हामी। अलार्म बजे नि ओछ्यान बाट उठ्न भने अर्को १० मिन लाग्यो। त्यो नि मान सर बाहिर आएर के ताल हो यो भन्दै कराएकोले नभए म अर्को १ घण्टा आनन्दले सुती दिन्थे, संजय त दिन भरी सुतिदिन सक्थ्यो, कहिले काही त फिल्ड मै निदाइ दिन्थ्यो।

“छिटो उठ ! ६ बजे हिंड्ने भनेको ६ एही बजी सक्यो, यसरी कहाँ हुन्छ। ल हेर सामान हिजै प्याक गर्न पर्दैन? यिनीहरुले ७ बजाउने भए। ल हेर यो संजय अझै घुर्दै छ क्या हो?” भन्दै संजयको सिरक निकाल्दै मान सर कराउदै गए।

“छिटो गर….तिमीहरु”

प्याकिङ सक्के पछी अली अली केही खाएर निस्किन पर्छ भनेर हामी तल तिर झर्यौ, तल भएको बिकल्प भनेको तेही चाउचाउ थियो। राती नै भनेको भए शायद रोटी नि बन्थ्यो होला। भनिएन छ, अब बिहानै फेरी चाउचाउ खाएर हिंड्न पर्ने भयो।

बिहान भने खुट्टा अगिल्लो दिन को जस्तो पोलेको थिएन, तर हिंड्न भने अफ्ट्यारो भैराथ्यो। तर अब हिंड्नै पर्‍यो। पिसाङ बाट चामे करिब १४ किमीको दुरी मा पर्छ, र चामे बाट तिमाङ ४-५ किमी होला कि। जे होस् दिन भरीको हिडाइ थियो, र खुट्टाले कती दु:ख दिन्छ भन्ने कुराले मनलाई तनाव दिरहेको थ्यो।

चाउचाउ सकाएर हामी हिंड्न थालयौ। सामानको भारले हो कि त्यो खुट्टा लिएर हिंड्न पर्ने तनावले, मेरो गती भने धेरै सुस्त थियो। बिहान खासै न पोले पनि अफ्ट्यारो भने भै रहेको थियो। म बिस्तारै पछाडि हिड्दै थिए, अगाडि मान सर, बिक्रमदाइ र संजय।

जिन्दगीमा कती ट्रेकिङ गरियो, तर तेस्तारी फोका भने कहिले उठेको थिएन र तेती गार्हो पनि कहिले भएको थिएन। तर अब अरु बिकल्प नै केही थिएन। गाडी चढम भने गाडी नै छैन, कम्तीमा चामे सम्म त पुग्नै पर्ने, चामे पुगी सके पछी तिमाङ सम्मलाई फेरी के गाडी चढ्नु।

घण्टौ हिडि सके जस्तो लाग्थ्यो तर, ढिक्कुरपोखरी नै अझै आएको थिएन। पहिलो पटक हिड्दा जे भए नि नयाँ ठाउँ, अब के आउछ होला भन्ने उत्साह हुन्थ्यो, दोश्रो पटक त लग्भग बाटो नि थाहा हुने। ढिक्कुरपोखरी पुग्न अगाडि एउटा सानो पोखरी आउथ्यो, पोखरी बाट लग्भग १० मिनेटको हिडाइमा बस्ती।

पोखरी नै अझै आएको थिएन।

जब पोखरी देखियो, अली अली खुशी पनि लाग्यो र अली कती दु:ख, ढिक्कुरपोखरी बाट चामेको बाटो त अझै हिंड्नै छ भन्ने नि मन म आयो। त्यो बाटो झन खसै रमाइलो नि छैन, बरु ढिक्कुरपोखरी तिर कम्सेकम रमाइलो त थियो। हामी बसेको होटेल बाटोमै भएको ले तेतै बाट हिंड्न पर्थ्यो, म एस्सो भित्र हेर्दै गए। खासै कोही थिएनन, एउटा बिदेशी बाहिर बसेर दात माज्दै थिए। बिहानै भएर मात्र नि हैन, ढिक्कुरपोखरी आँफैमा सुन्सान नै ठाउँ छ। खासै धेरै मान्छे नि बस्दैनन्न। धेरै जस्तो चामे बस्छन, अनी चामे बाट पिसाङ। तर ढिक्कुर पोखरी बस्नलाई धेरै रमाइलो ठाउँ छ। खासै मान्छे नबस्ने भएर हो कि , अली महँगो भने छ।

ढिक्कुरपोखरी छोडेर हामी जङलको बाटो हुँदै स्वर्गद्वारी तिर झर्यौ। जङलमा एउटा इुरोपियन गोल्डफिन्च देखे र एकछिन रोकिएर फोटो खिच्न तिर लागे, त्यो मेरो लागि नयाँ चरा भने थिएन, तर खुट्टा नि दुखी रहेको , रोकिने बहाना नि बन्यो, र नजिकै भएको ले फोटो नि आयो राम्रै।

स्वर्गद्वारी पारी गाडी छन कि भन्दै म हेर्दै थिए, चामेमा हामी बस्ने होटेलको को दाईको गाडी थियो, र त्यो पुल बनाउने काममा नि उन्को संलग्नता थियो र धेरै जसो तेतै हुन्थे। तेही दिन भने छैनन रहेछ।

चामे सम्म हिंड्न बाहेक केही बिकल्प भएन।  

स्वर्गद्वारी बाट तल झरेर पुलमा एकछिन बिश्राम गरे, पल्लो पट्टी बाट एउटा बाइक नि आउँदै थियो, एकै छिन रोकिएर उस्लाई बाटो नि दिए अनी केही बेर बसे। खुट्टा भत्भती पोलेको पोलै थियो। एसो सोच्यो, चामे त कहाँ छ कहाँ, चामे पछी नै तेत्रो हिंड्नु थियो, त्यो मात्र हैन अझ दानक्यु सम्म त हिंड्नै थ्यो, त्यहा बाट सिधै गाडी पाइन्न थ्यो, कि त कुनै आउँदै गरेको मा बस्न पर्‍यो, नभए कम्तीमा नि धरापानी सम्म हिंड्नै पर्थ्यो, त्यहा नि पाईन्छ भन्ने थिएन, नपाएको खन्डमा त झन म्याग्दी भिर सम्म। सोचेरै दिमाग घुम्यो, तर त्यो दुई दिन पछी को कुरा थियो र त्यो पलको लागि मलाई मात्र तिमाङ पुग्न थियो।

सोचमा डुबिरहेको थिए, संजय “के भो तलाई?

“खुट्टा ठीक छ कि उस्तै छ भन्दै आयो”

ठीक त के हुनु मुला, उस्तै छ , बरु अझै धेरै फोका उठे जस्तो छ पोलेको पोलै छ। अब हिंड्न परी हाल्यो भन्दै म हिंड्न थाले। संजय पनि मै सँग हिंड्न थालयो। शायद मान सरको गतीमा हिंडेर ऊ थाकी सकेको थियो।

संजय र म गफ गर्दै हिड्यौ। कहिले त्रिबी र प्राणीशास्त्रका कुरा भने कहिले जिन्दगीको। त्यो बेला परिपक्व त हामी दुबै थिएनौ, हावा कुरा गर्थ्यौ, एक अर्कालाई उडाउन पछी नै नपर्ने। मान्छे चाँही सार्है हावा नै थियो, कोष जिवबिज्ञान बारे चाँही धेरै ज्ञान थ्यो। मास्टर्स सके पछी पियचडी चाँही त्यसमै गर्छु, दिल्ली गएर भनेर बसेको थियो। म भने के गर्ने भन्ने मा निश्चित थियिन, पियचडी त गर्नु नै थियो, तर त्यो बेला कहिले गरिन्छ वा गरिन्छ कि गरिन्न नै थाहा थिएन, तर हामी केही बेर, थेसिस सक्के पछीको जिन्दगी के गर्ने भन्ने सल्लह गर्दै हिड्यौ। कुरा गर्दा गर्दै , हामी भ्राताङ पुग्यौ, त्यहा मान सर र बिक्रमदाइ कुरी राखेको रहेछन,

“कस्तो छ खुट्टा? हिंड्न सकेको छौ जस्तो छैन त, अरु बेला खुरुखुरु हिंड्ने मान्छे”

अ सर,पोलेको पोलै छ्ह, हिडिराछु मिलाएर।

“खान पर्छ तिमीहरुलाई ? कि चामे पुगेर खादा हुन्छ? भोक कत्ती को लागेको छ? गणेश यहाँ भोक लाग्यो भन्दै छ,

भात नै त खान पर्दैन, तर चिया चाँही खाएर निस्किउ न त, एकछिन बिश्राम नि हुन्छ, मैले भने ।

संजयले नि हो मा हो लगायो, गणेश दाई त झन खुशी।

चिया बनाउन लगाएर हामी होटेलको बाहिर पट्टीको टेबलमा बस्यौ। जहाँ बाट वारी परी ठुलाठुला चट्टान देखिन्थ्यो, मर्स्याङ्दी पारीको ठुलो झर्ना भने बादलले गर्दा देखेको थिएन।

“चरा पायो नयाँ कुनै?” मान सरले सोधे,

पाइएन सर आज नयाँ कुनै नि तेही पुरानो हो सबै।  फोटो नि लिन मैले खासै।

“कती वटा भेट्यो अहिले सम्म?”

कपी मै हेर्न पर्छ सर, तर ६० जस्तो त पिसाङ पुग्दै थियो।

म काठमाडौं बाट हिड्दा १०० वटा चरा नपुराइ फर्किन्न भनेर हिंडेको थिए, देख्न मा शायद ८० कटी सकेको थियो होला तर स-साना फिस्टे चरा भने राम्ररी चिन्न सकिएको थिएन। सानो हुने अनी एउटा ठाउँ मा बसी नराख्ने हुना ले फोटो खिच्न र चिनीहाल्न गार्हो।

गफको क्रम जारी हुँदै गर्दा चिया आइ पुग्यो  र हामी त्यता तिर लाग्यौ। साथमा टेस्टी बिस्कुट पनि आयो, बिस्कुट बिना त बिक्रमदाइको चिया नै घाटी बाट छिर्दैन थियो। हाम्रो नि बानी भै सकेको थियो।

चिया खाइ सकेर हाम्रो यात्रा फेरी सुरु भयो। भ्राताङ बाट चामे शायद ७ किमी जस्तो होला, सरासर हिंडे डेढ घण्टाको बाटो हो। तर मेरो गती भने त्यस दिन धेरै क भै सकेको थियो। मान सर र बिक्रम दाई भने अगाडि अगाडि नै थिए, म र संजय पछाडि पछाडि हिड्यौ। भ्राताङ बाट अगाडि लागे पछी स्याउको खेत कट्न नपाई तल झर्न पर्ने हुन्छ। बाटै बाटो झर्दा लामो पर्छ, तर एउटा ठाउँमा सानो शर्टकट थियो र हामी त्यता बाट झर्यौ, बाटो भनेरै त थिएन, ढुङ्गाहरु को भिर बाट झर्न पर्ने हुन्थ्यो। एउटा त खुट्टा पोलेर कहिले पुगौ भएको थ्यो, शर्टकट भेटे पछी म तेतै बाट तल झर्न थाले। एउटा ठुलो ढुङ्गा बाट सजिलै तल झर्न नसकेर, म तेही ढुङ्गा माथी बसेर तल झर्दै थिए, मेरो खुट्टाको छेउ बाट एउटा सानो जनावर भाग्यो। छिटो भएको र ध्यान नदेको हुनाले के हो भनेर चिन्न भने भ्याइन। तर अब केही देखे पछी कुर्न त पर्‍यो, म क्यामरा खोलेर तयार भएर कुरेर बसे। मलाई शायद लोखर्के होला भन्ने मन मा लागेको थियो, तर करिब दुई मिनेटको पर्खाइ पछी थाहा भयो, त्यो पाइका रहेछ। पाइका लाई नेपालीमा लाम्काने ठुटेखरायो भनिन्छ, जुन एउटा सानो स्तन्धारी जनावर हो। हेर्दा मुसा जस्तो देखिने पाइका, खरायो को सन्तानमा पर्छ। जस्को पुछर भने हुन्न, र कान ठुलो हुन्छ। पहिले नै लाङ्टाङ जादा घोडातबेलामा तन्नै देखिएको थियो। त्यता गाडीहरु को खलबल नहुने भएर होला, ट्रेकिङ गर्ने बाटो मा ढुङ्गा भएको ठाउँमा धेरै पाईन्छ। 

पाइकाको फोटो खिचेर आफ्नो बाटो लागियो। केही बेर ओरालो भएकोले गती भने अली बढेको थियो। भ्राताङ छोडेर निस्के पछी को अर्को बस्ती भनेको तलेखु थियो, तलेखु बाट भने हाम्रो चामेको एउटा फिल्ड नजिकै थ्यो। म कहिले तलेखुको घरहरु देखिन्छ भनेर अगाडी हेर्दै हिडि रहेको थिए। जब देखियो, तब चामे नै पुगेको जस्तो महसुस भयो, तर त्यहा बाट नि करिब ३०-४० मिनेटको हिडाइमा थियो चामे। तर अब भने मलाई खुट्टा पोलेको पिडा भन्दा नि चामे पुगेको खुशी बढी लाग्न थाली सकेको थियो। लग्भग ४० मिन जस्तो मै हामी चामे पुग्यौ। होटेल पुग्दा सम्म मान सरले खान पकाउन भनी सक्नु भएको रहेछ। हामी पुग्दा त लग्भग त्यार नै भैसकेको थियो।

धेरै पछी गाजर र बन्दा बाहेक को तरकारी खान पाउदा खुशी को सिमै थिएन। अझ मिठो आलुको अचार। किन सबै फिल्ड चामे मै मात्र सिमित भएन भने झै लाग्थ्यो चामे बसेर मिठो मिठो खादा।

हाम्रो दिन भने अझै सकिएको थिएन। चामे देखी तिमाङ सम्म हिंड्न पर्ने थियो। खाइ ओरी फेरी हिंड्न पर्ने थियो। आफ्नो खुट्टा भने पोल्न कम भएको थिएन। खान खाइ सकेर हामी चामे र होटेलको दिदी सँग बिदा मागेर तिमाङ तिर लाग्यौ। धेरै लामो हिडाइ नभए नि खुट्टा र दिन भरी हिंडेको थकाईले गार्हो हुन थाली सकेको थियो, एउटा त हिडाइ नै धेरै अर्को खुट्टा घिसार्दै हिंड्न परेको पिडा।

तर कुरा गर्दै हिंडेको ले खासै थाहा नै भएन, अध्यारो पर्नै लाग्दा हामी तिमाङ पुग्यौ। सधैं जस्तो आ-आफ्नो होटेलमा गयौ र आफ्नै कोठामा पनि। धेरै जसो होटेल पुग्न नपाई चिया मगाएर अनी कोठा तिर जाने बानी, त्यस दिन भने म सिधै कोठा तिर गए र सुती दिए। जुत्ता खोलेर हेर्दा खुट्टामा फोका बाहेक केही थिएन। तिमाङ पुगे पछी सम्झे, चामेमा औषधी नि किन्न बिर्सें छ, क्लोबेन जि एउटा किने को भए अली अली भए नि राहत हुन्थ्यो होला।

कती घण्टा पछी उठे थाहा छैन तर उठ्दा सम्म सबै जाना खाएर बसी सकेको रहेछन, पिसाङमा जस्तै बोलाउन नि आएको रहेछन तर मेरो निन्द्रा भने खुलेन।

“खाना तताइदिउ बाबु?” होटेलको साहुनीले सोधिन।

हुन्छ, बरु मासु छ?

“सुकुटी छ बाबु”

हुन्छ, तेही फ्राइ गरिदिनु न त अली अली गोल्भेडा हालेर भनेर म सरहरु बसे तिर लागे।

“कस्तो निदाएको त तिमी त, खुट्टा सार्है दुख्यो कि क्या हो? मान सर ले सोधे

खुट्टा दुख्ने भन्दा नि पैताला ले दु:ख दिएको हो। तेही तनावले हिंडेर होला आज चाँही थकाई नि लाग्यो भन्दै म कुर्सीमा बसे। बिचमा आगो बल्दै थियो, बाहिर खासै धेरै चिसो त थिएन, तेही पनि आगोमा बस्दा भने आनन्द भएको थियो।

“भोली काम गर्न सक्छ नि?” मान सरले फेरी सोधे, दानक्युको काम बाँकी थ्यो भनेर मैले बल्ल तेती बेला सम्झे। पैतालाको पिडाले बिर्सी सकेको रहेछु।

सकिन्छ, हिंड्न नपरे खासै गार्हो हुन्न।

तिमाङ बाट दानक्यु झर्न करिब ३० मिन जस्तो लाग्छ, तेसैले हिंड्न त गार्हो होला जस्तो लागेको थिएन। तर फेरी त्यता बाट धारापानी हुँदै लार्खे पास तिर पो जान थ्यो। धारापानी सम्म चाँही कसरी पुग्नु जस्तो लागि रहेको थ्यो।

“लार्खे त जान सक्छ जस्तो छैन तिमी, त्यताको काम पछी गरुला, भोली बेल्क सम्म ठीक भयो भने लार्खे नि जाउ, नभए धारापानी बाट पर्सीको गाडीमा फर्के हुन्छ।

हुन्छ। सके सम्म जाने हो।

पहिलो पल्ट मनाङ आउँदै एती रमाइलो लागेको थ्यो, मनस्लुको फेदमा जाने इक्ष्या नि धेरै थियो, सके सम्म खुट्टा ठीक भए हुन्थ्यो जस्तो भैरथ्यो। खुट्टा ठीक नभएको खन्डमा भने कहिले घर पुगु भएको थियो। तर त्यस दिनको खुट्टाको ताल हेर्दा अर्को एक रात मै केही प्रगती होला जस्तो भने लागेको थिएन।

हामी फिल्डकै कुरा गर्दै थियौ, भान्सा पट्टी सुकुटी तारेको आवाज आउँदै थियो। परररर तारिएको अावाज र सुकुटी को बास्नाले मुखमा पानी आइ सकेको थियो। भात पनि साइडमा तात्दै थियो। खासै पिरो खान नस्क्ने भए पनि धेरै भोक लाग्दा भने मलाई पिरो खान पर्छ। सुकुटीमा पिरो थप्न भनेर म फेरी गफ तिर फर्के। 

के गर्ने कसो गर्ने भन्ने प्लान बन्दै थ्यो।

मान सरले भोली पल्ट बिहानै उठेर हामीलाई फिल्ड देखाएर, सन्ज्य र आफु काठमाडौं तिर लाग्ने बताए। दानक्युको फिल्ड बिक्रम दाई लाई नि थाहा छैन रहेछ। लार्खे पास चाँही खुट्टा ले सात दिए जाने नभए नजाने भन्ने प्लान बन्यो।

भात र सुकुटी रेडी भए पछी म खान तिर लागे, सरहरु फिल्ड कै रमाइलो कुराहरु सम्झिदै उता पट्टी हाँस्दै थिए। सन्ज्यको आँखा झन्डै फुटेको , बिक्रम दाईको म्यारिजको हिसाब, तेस्तै तेस्तै कुरा हुँदै थियो। म, कहिले एतै बसेर अरु कुरा सम्झाइदिन्थे, अनी भान्सा र डाइनिङ फेरी हासो को हल्ला ले भरिन्थ्यो।

खान खाइ सक्दा मेरो जिब्रो पोलेर आगो झै भएको थियो। गएको केही दिन एता मेरो पैताला भन्दा धेरै केही पोलेको थ्यो भने, त्यस बेलाको जिब्रो थियो। तर भोकको सुरमा खाइयो मज्जाले, भोली पल्ट बिहान भने दु:ख पाइने वाला थियो। खाइ सकेर म सरहरु भएको तिर गए। मनाङ को फिल्ड भरी बाट भात खाएर चुठ्ने बानी भने हटी सकेको थियो, पानी एती चिसो हुने, पानी चुने काम एक्दुम निम्न बनै सकिएको थियो। त्यो बानी काठमाडौं आएर नि लागेकोले आमाको गाली भने नियमित रुपमा खाइ राखिन्थ्यो।

जिब्रोको पोलाई हेरेर चिया पिउन सकिन्छ जस्तो त लागेको थिएन, तर चिया नपियी आफुलाई निन्द्रा नै लाग्थेन, निन्द्रै नलाग्ने भन्दा नि बानी भै सकेको थियो, र सधैं सुत्न अगाडि चिया पिउनै पर्ने। जे सुकै होस्, सेलाएर खाउला भन्दै चिया बनाइदिन भने।

“त खाएर आइज, हामी जादै गर्छु” भन्दै सन्ज्य उठेर कोठा तिर लाग्यो।

म भान्सामा एक्लै बसेर चिया पिउन थाले। केही बेर अगाडि सम्म हल्ला खल्ला भएर रहेछ, सबै जाना गए पछी भने बाहिर कराइ रहेको किराहरु नि सुनिन थालयो। एकछिन बाहिरै बसेर चिया पिउन पर्‍यो भनेर म निस्के अध्यारो रातको आफ्नै सुन्यता थियो तर प्रक्रितीको अावाज भने आफ्नै हिसाबमा गुनगुनाइ रहेको थियो। आकाश सफा थियो, सप्तरीशी, ओरायन झिलिमिली चम्किरहेको थिए दक्षिण पट्टी मनास्लुको शिखरमा हिउ टल्की रहेको थियो। आकाशमा चन्द्रमा भने देखिएको थिएन, तर उज्यालो भने थियो, शायद कतै लुकिरहेको थियो होला।

रुममा पुग्दा सम्म सन्ज्य घुर्न थाली सकेको थियो। सुत्ने बेला चिसो हुन्छ भनेर, मैले पहिले नै सिरक ओछ्याएर गएको थिए। केही बेर अगाडि मात्र सुतेको ले खासै निन्द्रा लाग्छ जस्तो लागेको थिएन।

तर कती खेर निदाइेछ निदाइेछ।  

निन्द्रा खुल्दा बिहान भै सकेको थियो, सन्ज्य अझै घुरिरहेको थियो। पैताला अझै पोली रहेको थियो, फोका भने अली अली सुकेको रहेछ तर खाली खुट्टा भुइमा छुदा भने अझै पोली रहेको थियो।

दात नमाजेको धेरै दिन भएको थियो। माथि तिर त चिसो पानी हुने भएकोले खासै दात माज्न तिर लाग्दिन थिए म। तिमाङ मा नि चिसै थियो तर के मुड चलेर, वा आफ्नै मुख आफुलाई अफ्ट्यारो लाग्न थालएर मुख धोइयो र दात नि माजियो। ननुहाएको भने काठमाडौं छोडेर हिडे देखी। 

केही बर्ष पछी प्रकाश सँग मनाङ जादा, च्याम्जेमा प्रकाशले तुथब्रश बोकेको देखेर मैले , किन बोक्छस बेक्कार को यो भारी भनेको थिए। प्रकाशले , जस्तो भए नि दात त माजिन्छ, भो छोडिदे भनेको थ्यो। केही दिन पछी , ढिक्कुरपोखरी पुग्दा, बिहानै उठेर झ्याल बाट ब्रश फाल्दै रहेछ। त्यो हुन्छ भन्ने त थाहा थियो, ब्रशनै फाल्छ जस्तो चाही लागेको थिएन।

तराइ तिर फिल्डमा जादा र हिमाल तिर जादा फरक नै तेही, तराइ हुँदा दिनमा दुई तीन चोटि नुहाइन्छ, ब्रश नि नियमित रुपमा हुन्छ। हिमाल जादा महिनौ ननुहाइ घर फर्किन पर्ने। 

ब्रश गरि सकेर रुममा फर्किदा सन्ज्य उठि सकेको थियो। 

“सर उठे?” ओछ्यानमा सिरक भित्र बाट टाउको निकालेर उस्ले सोध्यो।

उठ्नु भयो होला। मैले देखेको त छैन। तर चाडै निस्किने भन्थे, उठ्न पर्ने हो। त नि उठ।

“ह” भन्दै उ सिरक भित्र छिर्यो।

सामान प्याक गरेर म भान्सा तिर गए। बिक्रम दाई भान्सामा पुगी सकेको रहेछन, चिया बनाउन लगाएर हात म बिस्कुट भने लि सकेको रहेछन।

मलाई देखे पछी , पानी थप्नुस् हाम्रो भाई नि आयो भने।

म आँफै भान्साको दराज बाट बिस्कुट झिकेर बिक्रम दाईको साइडमा बसे।

“खुट्टा कस्तो छ? ” चपाइ सकेर सोधे

कम त भएको छ तर अझै नि पोल्न त पोलिर छ। सकिन्छ होला हिंड्न। आज एस्सै नि धेरै हिंड्न पर्दैन। तेही तल सम्म त हो। दिन भरी उभिने हो, बेल्का धारापानी सम्म त हिडिएला।

चिया सँगै मन सर नि आइ पुगे।

ल आमा फेरी थप्नुस चिया हाम्रो दाई आइपुगे। बरु म नि एकलट खाइदिन्छु भन्दै बिक्रम दाई अर्को बिस्कुट लिन दराज तिर लागे।

मलाई नि सार्है भोक लागेकोले मलाई नि अर्को एउटा बिस्कुट ल्याइदिन लाई भने।  

हामी चिया खाएर निस्किदा सम्म नि सन्ज्य आएको थिएन।

भान्साको ढोका बाट निस्किदै गर्दा, “हैन कहाँ छ त्यो मान्छे ? अझै उठ्या छैन, कि क्या हो? भन्दै मान सर पछाडि फर्केर मलाई सोधे।

खै सर, म हेर्छु। उठ्या छैन भने उठाउछु म भनेर रुम तिर गए।

“ल छिटो गर अब आधा घण्टामा निस्किन पर्छ”

राती जती खेर निस्किने भनेर प्लान बने नि तेही समय मा निस्किने भनेको कहिले हुन्थेन। सधैं ढिलो नै हुन्थ्यो। हामी त अझ दिन भरी काम गरेर धारापानी जान थ्यो।

म रुम पुग्दा, सन्ज्य अझै घुरिरहेको थ्यो। ओइ मुला! छिटो उठ, हिंड्ने बेला भयो भन्दा हु हु भन्दै बस्यो। जे सुकै गर भनेर म ब्याग बोकेर निस्के।

होटेलको बाहिर पट्टीको भर्र्याङ् मा बसेर जुत्ताको तुना बान्दै गर्दा, पछाडि मान सरको आवाज सुने। “कहा छ त्यो मान्छे?”

खै सर उठ भनेको मैले उठेन।

“हैन के पारा हो? ” भन्दै सर कोठा तिर लागे।

बिक्रम दाई नि बाहिर निस्की सकेको रहेछन। टोइलेट बाहिरको ऐना मा हेरेर कपाल मिलाउदै थिए।

माथि बाट मान सरको आवाज आइ रहेको थ्यो।

“यो मान्छेले टाइम लाउछ जस्तो छ, तिमीहरु गएर काम गर्दै गर, हामी एकछिन म निस्किन्छौ” भनेर मान सर फेरी कोठा भित्र छिरे।

हुन्छ भन्दै हामी चाँही दानक्यु तिर झर्यौ।

ओरालो झर्दा खुट्टाले दु:ख दिन थाली सकेको थियो। पैताला बिस्तारै पोल्न थाली सकेकोले म बिस्तारै हिड्दै थिए। हामी तल झर्न अगाडि सम्म मान सर र सन्ज्य पछाडि आइ सकेको रहेछन। सरले सन्ज्यलाई खाजा तलै गएर खाउ , जिप पाउन भनेर हिढाएछन। हाम्रो भेट लग्भग दानक्यु पुग्न अगाडि नै भयो। फिल्ड भने ठ्याकै खोला तरी सके पछी को डाडामा रहेछ, बाटो कै छेउ मा।

हाम्ले समान राखेर सबै तयार गरे पछी, सरहरु बाटो लागे। एउटा फिल्ड को काम सक्न लग्भग पुरै दिन लाग्थ्यो। त्यो नि ४ जना भएर। आज हामीले दुई जना भएर गर्न थियो। तेस माथि आफ्नो खुट्टाको ताल ठीक थिएन, सकिन्छ कि सकिन्न समय मा भन्ने तनाव थियो। सकिएको खन्डमा धारापानी सम्म हिंड्न पर्ने थ्यो। नसके दानक्यु तिरै बसेर भोली पल्ट हिंड्न पर्ने हुन्थ्यो। लार्खे पास तिर भने जान सक्ने अवस्था खासै देखिएको थिएन। खुट्टा झन दुख्दै गै रहेको थियो। 

Facebook Comments