राम बहादुरको औसत जिन्दगी: जागिरको खोजीमा

कुक्कु……. कुक्कु…

आधा भित्ता ओगटेर बसेको त्यो भित्ते घडीको झ्यालबाट निस्केको चराको कुक्कुऽऽऽको त्यो तिखो आवाज सुने पछी राम बहादुरको निन्द्रा खुल्छ। ओछ्यान मा मडाँरिदै उसले आफ्नो आइफोन खोज्छ। फेरि आधा आँखा खोलेर फोनको होमबटन थिच्छ, अँध्यारो कोठानै उज्यालो हुने गरी उस्को आइफोन १२ म्याक्स प्रो धपक्क बल्छ।

६:४०… फोनमा समय। मन नलागी नलागी ऊ उठ्छ…

 

आजको दिन कति लामो हुनेवाला छ भन्ने कुरा रामले हिजै राती अनुमान गरी सकेको थियो। फोनमा घटेको चार्ज देखेर उसले फोनलाई आइकिया लेखेको टेबलको माथि रहेको वायरलेस चार्जर माथि राख्छ र किचन तिर लाग्छ। …………………..

“गूड् मर्निङ सिरी”……….

किचेनको टबेलमा अढेस लगाएर बसेको आइप्याड बाट सिरीले भन्छिन्, “गूड् मर्निङ र्‍याम”। “टूडे इज अगस्ट नाइनटिन्थ्……द वेदर इज गोइङ टु बि ……….”

सिरी बोल्दै गर्दा उस्ले आन्फो बोश् दराजबाट कोलम्बियन कफी झिक्छ र फ्रेन्च प्रेसमा हालेर दिनको पहिलो कफी बनाउन तिर लाग्छ। सिरी पछाडि बोल्दै हुन्छिन्……”द टालिबान ह्याज़ कम्प्लिट्ली टेकन ओभर………..”

 

कफी सक्काएर उ लुगा फेर्ने सुरसार गर्छ। मास्टर बेडरुमको वाकइन क्लोजेट भित्र छिरेर उसले आफ्नो डिजाइनर जिन्सको कलेक्सनबाट लिभ़ाइजको जिन्स् झिक्छ। टिशर्ट भने उस्लाई पोलो लगाउन मनलाग्छ। क्लोजेटबाट निस्किएर ऊ आफ्नो जुत्ताको कलेक्सन तिर मोडिन्छ र क्लार्क्सको जुत्ता निकाल्छ। पर्फ्यूमको काउन्टरबाट उस्ले क्लाइव क्रिस्टियनको नम्बर वान इम्पेरियल म्याजेस्टी छर्किन्छ र बाहिर निस्किन्छ। ढोकाको साइडमा झुन्ड्याएको आफ्नो हर्ली डेभिड्सनको साँचो लिएर रामबहादुर बहादुरीका साथ निस्किन्छ…

राम बहादुर आज जागिरको खोजीमा निस्किएको छ। एउटा साधारण नेपाली भएको हुनाले दैनिकी चलाऊन जागिर नभई नहुने स्थिति छ। काठमाडौंको खाल्डा-खुल्डीवाला बाटमा उसको चिल्लो टिलिक्क टल्केको बाइक ढल्किँदै-बल्किँदै कुद्दा रामबहादुर लाई जिन्दगी कती कष्टकर छ झैँ लाग्दो हो। जामको त कुरै नगरम्। यतै जाम, त्यतै जाम। जाममा जति बेर अड्किए पनि उसलाई बोर भने लाग्दैन, कानमा कोचिएको इयरपड्समा स्पटिफाइ प्रिमियमको सब्स्क्रिप्सनले बजाउने अनगिन्ती गीतहरु जो छन्। तर आज भने जाम अलि धेरै नै रहेछ। गीतको सुरमा उसले कति समय जाममा बसेँ भन्ने नै बिर्सिन्छ र आफ्नो रोलेक्सको घडीमा समय हेर्छ।

समय- ७:३०.. ८:१५ मा उस्लाई कजिनी को पन शपमा इन्टर्भिउ दिन पुग्न पर्ने पो छ त।

जाम छिचलेर उ इन्टर्भिउमा समय मै पुग्छ। रिसेप्सनमा गएर आफु इन्टर्भिउ दिन आएको बताउँछ र रिसेप्सनमा बसेका पुरुषले उनलाई केही बेर पर्खिन भन्छन र रङ खुलिएको चाइनिज फोन बाट कुनै नम्बर डायल गर्छन्।

“तपाई भित्र जान सक्न हुन्छ”… इन्टर्भिउ रुम भित्र डेस्कको अर्को पट्टी बसेकी हुन्छिन्, कजिनी पन शपकी सीईओ। “गूड् मर्निङ……तपाईं बस्न सक्नुहुन्छ…” “थ्यान्क् यू” भन्दै राम उध्रेको चकटी भएको फलामे कुर्सीमा बस्छन।

“सिभी त ठिकै रहेछ तपाईंको, येलबाट मास्टर्स गर्नु भएको रहेछ, तर हाम्रोमा काम गर्नलाई अली क्वालिफिकेशन नपुग्ने भयो। अक्स्फर्ड बाहेक अरु कतैको मान्छे लिने नै गरेको छैन, कृपया अरु ठाउँमा ट्राइ गर्नु होला” भनेर कजिनीले रामको इन्टरभ्यु सुरु हुनु अगाडि नै खतम गरिदिन्छिन्।

निराश भएर ऊ त्यहाँबाट निस्किन्छ। उसलाई तनाव हुँदा चुरोट अथवा त्यस्तै केही निकोटिनजन्य पदार्थ तान्न पर्ने भएकोले गर्दा, बाहिर निस्केर आफ्नो खल्तीबाट चाँदीको बट्टा मा रहेको डोमिनिकन रिपब्लिक बाट ल्याएको सिगार झिक्छ र तान्छ। त्यहाँ बाट ऊ रेलीमाई क्याफेमा जान्छ, त्यहाँ केही काम पाईएला कि भनेर। तर त्यहाँ पनि खासै केही उपलब्धी हुँदैन र ऊ फेरी पनि निराश हुन्छ। दुई चार ठाउँ गएर पनि काम नपाए हरेस खाएको ऊ भोकाएको सुरमा लन्च गर्न द्वारीका होटेल तिर हुईँकिन्छ। गुचीको वालेट खोल‌ेर‌ हेर्दा एकदम कम पैसा हुन्छ त त्यही अनुसार सुशी र क्याभियारमात्र खाएर चित्त बुझाउँछ।

“आज डेज़र्ट नखाई टर्ने भो। हाय मेरो भाग्य। खुईय्य!”

मिठाई खान नपाएर एक्लै निराश भएर घोइरिएर सोच्दा ‘काम नि खोज्न जान छ र ड्राइभ नि गर्न पर्छ’ भनेर उसले धेरै हैन अलिकति बोमोर १९५७ स्कच, एक पेग मगाउछ। स्कच सक्किएपछी राम अझै दुईचार ठाउँमा जागिर खोज्न भनेर भौंतारिन्छ तर कतै पनि काम भने पाउँदैन। दिनभरी काठमाडौंको धुलोमा हिँड्दा हिँड्दा उसको लिभ़ाइज़को निलो जिन्स अली अली खैरो बनी सकेको हुन्छ। कालो रङको एजीभी पिस्ता हेल्मेट पनि लगभग सेतो भईसकेको थियो। साँझ पर्नै लागिसकेको भएर आजको जागिर खोज्ने कार्य त्यहीँ अन्त्य गर्नपर्छ भनेर सोच्छ र घर तिर लाग्छ। जागिर नपाएकोमा दुःखी भएको ऊ, घर पुग्न अगाडि एउटा गहना पसलमा छिर्छ र एउटा सुनको ब्रेसलेट किनेर आफ्नो चित्त बुझाउछ। घर पुगेर जुत्ता मोजा फुकालेर फ्याली, क्रक्सको चप्पल लगाउँदै आफ्नो मलेशियन सोफामा ढम्म बसेर विदेशबाट बाट मगाएको फ्रेन्च वाइन खान्छ र सोनीको ६५”को टिभी हेर्दै एउटा औसत, साधारण मान्छेको जिन्दगी किन यती गार्हो?

नेपालमा किन एउटा एभ़रेज रामले जागिर पाउन यति ल्याङ्ग? भनेर सोच्छ।

 

 

Facebook Comments Box

Mr Zoologist

I am a Zoologist!

Leave a Reply

Your email address will not be published. Required fields are marked *