म आफूले बुझ्ने भए देखी नै अधार्मिक मान्छे। यो भगवान् सगवान भन्ने कन्सेप्ट कहिले चित्त बुझेन। हाम्रो संस्कृति र परम्परा नै कता कता धर्म सँग एकीकृत भएको छ। तर कता कता ति कुराहरूले भने दिमागको एउटा कुनामा केही छाप राखेको हुने। जस्तै कुनै किताब मा कुल्चिदा ढोग्ने चलन होस्। यस्तो कुराहरू बाट टाढा रहन नि गाह्रो नै थियो। ब्रेनवास कसरी भएको छ मा भर पर्ला। तर, ती मध्य नि धेरैमा संस्कृति र परम्परा सँग जोडिएका मा मलाई एकदम मन पर्ने चाड पर्व भएको दसैँ, तिहार अनि होली।

Kids flying kites in the open space at Kathmandu, Nepal on Monday, July 08, 2019. People used to fly kite to give message to the god about the end of monsoon season. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)
दसैँ सुरु हुनु अगाडिको त्यो मौसम, दसैँले गर्दा त्यो फिलिङ आउने भन्दा नि त्यो मौसम नै त्यस्तो हुने भएकोले आउने त्यो फिलिङ्स। दसैँ त एता अम्रिकामा मनाउन्न, तर नि त्यो ताका मौसम भने त्यस्तै हुन्छ। फ्याट्ट फुट्ट आकाशमा देखिने चङ्गा र स्वछ र सुन्दर आकाश। गैरिधारामा सबै भन्दा अगाडि चङ्गा उडाउनेमा हामी नै पर्थ्यौ। चङ्गा उडाउने, चङ्गा लुट्ने भने पछि सबै कुरा छोडेर पछि लाग्ने।
सबै भन्दा पहिले त पुरानो सालको लट्टाइ खोज्न पर्ने। कहाँ कता एक वर्ष सम्म हेरचाह नपाई एक्लिएको त्यो लट्टाइको जीवनमा नि घटस्थापनाको दिन रोपेको जमरा टिकाको दिन हरियो भए झैँ हरियाली छाउँथ्यो। शायद उ पनि रमाउँथ्यो। फनफनी जो घुम्न पाउँथ्यो।
त्यस पछिको सबै भन्दा ठुलो तनाव भनेको धागो। त्यो बेला अहिले जस्तो “पकेट मनी” पाउने भन्ने चलन थिएन। १ २ रुपैयाँ पाउन नि गाह्रो थियो। धागो भने त्यती बेला नि आफ्नो स्तर हेरेर महँगो नै पर्थ्यो। मैतीदेवी गएर सबै भन्दा सस्तो, “घाटी हेरेर हाड निल्नु” भने झैँ आफूले सकेको धागो किनिन्थ्यो। बरु त्यसलाई घर ल्याएर चिप्लिकरा, सिसा र चामलको माड दलेर काट्न सक्ने बनाइन्थ्यो। हो हैन अहिले सम्म नि थाहा छैन। त्यो बेला त्यही नै साक्षात विज्ञान थियो। सत्य होस् नहोस्, त्यसमै धेरै मज्जा थियो।
एउटा सेतो धागोको रोल हुन्थ्यो। त्यसलाई ठ्याक्कै के नामले चिनिन्थ्यो त्यो मैले बिर्सेँ (गन मार्क धागो, ट्विटरमा सोधेर पत्ता लगाए हाहा)। मोटो धागो हुन्थ्यो, हाछियु गरे नि चुटिएला जस्तो हुन्थ्यो तर हामी धेरै जस्तो धार चाहिँ त्यसमै लगाउँथ्यौ। लगभग दिन भरी लगाएर धार लगाएर, अर्को एक दिन सुकाउँथ्यौ। पर्सी पल्ट चङ्गा उडाउँदा अर्को ले चट्टै चङ्गा काटी दिन्थ्यो।
“ए त्यस्को डिसीको धागो रहेछ, त्यसैले काट्यो” भनेर चित्त बुझाउथ्यौ।
मिले सम्मा फेरी धार लगाइन्थ्यो।
त्यो बेला १ रुपैयाँ, २ रुपैयाँ र ५ रुपैयाँको चङ्गा पाइन्थ्यो। ५ को भने फ्यान्सी, नाम नै हुन्थ्यो त्यस्तो, मैले अहिले बिर्सेँ। तर त्यो चाहिँ कहिले काहीँ पैसा जम्मा भएको बेला वा टिकाको दिन दक्षिणा पाए पछि उडाउने चङ्गा। साह्रै मज्जाले उड्थ्यो, अहिले भन्न पर्दा स्टेबिलिटी वा स्थिरता धेरै हुने। २ रुपैयाँको नि नराम्रो त हुन्थेन। १ को चाहिँ बरु के हो के हो हुन्थ्यो। पैसा जम्मा भएकी दौडेर टुकुचा गएर चङ्गा किनिन्थ्यो। गैरिधारा आँफैमा राम्रै ठाउँ भए नि त्यहाँ धेरै पसलहरू नै भने थिएनन्। जे किन्न नि कि त टुकुचा जान पर्ने, कि नक्साल।
अहिले फर्केर हेर्दा गैरिधारामा खासै केही नै थिएन। बद्रीको सेकुवा बाहेक। त्यो खान भनेर चाहिँ धेरै पर-पर बाट मान्छेहरु आउँथे। त्यो सेकुवा कर्नरको छतमा नि धेरै चोटि चढिएको छ चङ्गा लुट्न।
धेरै जसो त प्रहरी मुख्यालय भित्र छिर्थ्यो, त्यो पाउने कुरै भएन। एक चोटि चङ्गा लुट्न भनेर दौडिँदा, छिमेककै एउटा ज्याद्रो जर्मन शेपर्डले टोकेर ढाड भरी घाउ भएको छ। ढाड पनि पुरै ढाक्ने गरी। चङ्गा नि पाइेन आखिरमा। तर त्यही पनि चङ्गाको पछि डढिन भने छोडिएन। शायद आकाशमा उड्ने कुरा प्रतिको मोह त्यही चङ्गा बाट सुरु भएको थियो। म आफू पनि आफ्नै पारामा स्वतन्त्र भएर रमाउने खल्को मान्छे। चङ्गा, चरा झैँ आफूलाई नि त्यसरी नै केर फ्री राख्ने भएकोले नै माइन्ड सेट शायद त्यस्तै भएको होला।
घटस्थापना देखी तिहार सकिदा सम्मै त्यसरी नै हल्लेर बित्थ्यो। स्कुलमा धेरै होमवर्क दिएको हुन्थ्यो, त्यो त एकै चोटि स्कुल फर्केको दिन गुरुले सोध्दा याद आउथ्यो।
त्यही चङ्गाको पछाडि कुदे झैँ फेरी कक्षा बाट कुदौँ झैँ हुन्थ्यो। तर भाग्नलाई कहीँ ठाउँ हुन्थेन र गुरुले आफ्नै डेस्कमा आएर गाला चेट गरिदिन्थे।
तर हरेक दसैँमा त्यही कुरा रिपिट हुन्थ्यो। बिहानै उठेर दौड्यो चङ्गा उडायो। पैसा नभएको दिन मा लुट्यो। हाम्रो तिर छोरा मान्छेलाई दक्षिणा दिने भन्ने चलन छैन, त्यसैले दसैँमा पैसा नि धेरै हुन्न थियो। परिवारमा जसले दिन्थे, उनीहरू त फेभ्रेट सन्तान हुने गर्थे। आएको पैसा कि त लट्टाइ मा जान्थ्यो कि त चङ्गामा। पैसा नभएको बेला भएन लुटेर ल्याएको त्यही च्यात्तिएको चङ्गामा भातको माडले टालेर हुन्छ कि, काका हालेर हुन्छ, जसो त्यसो उडाइन्थ्यो। गोरखापत्रको चङ्गा नि बनाउन ट्राई नगरेको भएन हैन, खासै इफेक्टिभ पाइएन।
अ! प्लास्टिक को चङ्गा, ती फेरी आफ्नै प्रकारका हुन्थे। १ रुपैयामा पाइने, तर उडाउन नि गाह्रो, वेट नभएर होला शायद, चेट नि सजिलै हुने। सबै भन्दा रमाइलो लाग्ने त तिनको पुछर फरर्र्र्र उडेको हेर्न। भ्यर्र्र्र्र्र्र्र गर्दै उड्थे। उडाउन त मजा आउने, जुधाउन भने खासै मज्जा आउन्न थियो। कहिले काहीँ बरु ब्याट्म्यान सुपरम्यान वाला चङ्गा आउँथे, रमाइलो त्यो बेलाको।
दसैँको भावनाहरू नै भिन्नै छन्। मिस त धेरै जस्तो चङ्गा नै हुन्छन्। अहिले त झन् आफैँ पढाई र कामको व्यस्ततामा पिँजडामा बसेको झैँ हुँदा कहिले स्वतन्त्र भएर चङ्गा झैँ उडौ भएको छ। शायद सबै कुरा समय मै सक्काउन सके अर्को दसैँ अगाडि नेपाल पुगिन्छ, र बेफिक्री रूपमा आनन्दले फेरी चङ्गा उडाइन्छ। र त्यही चङ्गा सँग आफू पनि फेरी स्वतन्त्रताको आकाशमा उडिन्छ।