राम बहादुरको औसत जिन्दगी: वास्तविकता
बिहानीको चिसो सिरेटोले नमिठो झप्प हाने पछि रामको निन्द्रा खुल्छ। असहज रूपमा निन्द्रा खुलेको राम बहादुरलाई राती पनि चिसोले हानेर राम्रो सँग सुत्न नसकेको महसुस हुन्छ।
“भोलि त कसम यो झ्याल कार्ड्बोर्डले टाल्छु”
उसको खाटको दक्षिण पट्टी रहेको झ्यालको फुटेको सिसाले निच्च दाँत देखाएर उसलाई जिस्काइ रहेको हुन्छ। जागिर हुँदो हो त त्यो सिसा टालेर आनन्दले सुत्थे। उ फेरी सोच्छ,जागिर हुँदो हो त खोठा नै अर्कै लिन्थे। यो त घामै देख्न नपाउने कोठा जो थियो।
आँखा मिच्दै उ आफ्नो मोबाइल खोज्छ……
न सिरानी मुनी छ, न तन्नाको मुनी। ज्यान तन्काएर उ खाटको कुना पट्टीको भुईँमा हेर्छ। भुईँमा दुई फल्याक भएर चिसोको पर् वहाँ नगरी सुती रहेको माइक्रोम्याक्सको फोन र कभर देख्छ। ब्याट्री खोज्न भने उसलाई अझै तन्किन पर्छ। ब्याट्री हालेर उसले फोन अन गर्छ, फोनको घडीमा समय देख्दा उ झसङ हुन्छ।
समय ६:४५….
८:१५ मा उसलाई जब इन्टर्भ्युलाई जो जान छ।
लस्याङ फस्याङ गर्दै उ ओछ्यान बाट निस्किन्छ र लुगा खोज्न थाल्छ। सन्दुक माथि र कुर्सी भरी छरिएको लुगाको डुङेर बाट उसले लाउन सकिने लुगा खोज्न थालछ। सबै लुगा बाट ठ्यास गन्ध आएको पाउँछ।
“हिजै धुन जान पर्ने रहेछ केही लुगा”
लुगा धुन २ किलोमिटर जति पर डुङे धारामा जान पर्ने भएको ले उसले अल्छी गरेको हप्तौँ भई सकेको थियो। उ बसेको घरमा धारा भने थियो, तर त्यो धारा बाट भन्दा उसका आँखा बाट धेरै पानी झर्थे।
गनाउनेहरू बाटै उसले सबै भन्दा कम गनाउने लुगा टिप्यो र लगायो।
“मोजा” ओहो! मोजा पो कता छ। बाँकी लुगा त बरु त्यस्तो गनाएको थिएन होला। मोजा त ध्वस्त नै हुने यसै नि। उसको मनको तनाव फेरी बढ्यो। ढोका पछाडिको सानो जुत्ता र्याकको मुनी उसले मोजा खोज्न थलायो। र्याक पुग्नै नपाई मोजाको त्यो गन्ध उसको नाकको हाइवेमा ध्वनि को गति कुदी सकेको थियो।
परेन फसाद?
यहाँ पनि उ सके सम्म कम गन्ध भएको मोजा खोज्न बाध्य भयो। तर, त्यो मोजामा फेरी अर्को एउटा सानो समस्या देख्यो- बुढी औँला मै प्वाल।
“ठिकै छ, आजकल सबै तिर जुत्ता लगएरै पसिन्छ, इन्टरभ्युमा जुत्ता खोल्न भन्दैनन् होला”, उसले सोच्यो।
फर्मल लुगामा लाउने पार्टी शु भन्ने जुत्ता नि उ सँग एक जोडी मात्र थियो, त्यो पनि पुरै खुट्टा छिराएर लाउन अल्छी गरेकोले छडीको भाग दोब्रिएको। “थु” गरेर उसले जुत्तामा थुकेर, नजिकै रहेको मोजाले जुत्ता पुछ्यो, जुत्ता पहिले भन्दा टल्क्यो।
“यती भए चल्छ”….
उ गन्तव्य तिर लाग्यो।
चाबहिल बस्ने रामलाई जागिरको इन्टरभ्युको लागि पुग्नु थियो पुतलीसडक। आफ्नो कोठा बाट निस्केर उ चाबहिल चोक कटेर चारुमती विहार को पल्लो पट्टीको बस स्टपमा बस्यो….उ भन्दा अगाडि त्यहाँ ३०-३५ जाना पहिले नै गाडी कुरी रहेका थिए। ति मध्य धेरै थिए कलेजका विद्यार्थीहरू।
ओहो यस्तो पनि दिन थियो, उसले आफ्नो कालेजका दिन सम्झ्यो। कती पटक त उसले गाडी नपाएर ढिलो हुँदा कलेज भित्र छिर्न नि पाएको थिएन।
“गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक…….”
उ हतार गर्दै बस रोके तिर हिड्यो। उ भन्दा अगाडि भएका एक जाना व्यक्ती, सिट छ भाइ भन्दै अगाडि बढेका थिए। ढोकामा झुन्डिएको स्टाफले “सिट त छ, तर खाली छैन ” भन्दै उसको कुरा काटेर फेरी रुट प्लान सुनाउन थाले।
“गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक…….”
मौरीको चाकामा झुम्मिएका मौरी झैँ उ भन्दा अगाडिका मान्छेहरूको झुन्ड केही सेकेन्डमै बस भित्र छिरल्यो र भएको केही ठाउँ पनि भरियो। उ बाहिर बसेर वाल्ल पर्न बाहेक केही गर्न नसकेर फेरी पछाडि हट्यो। खल्ती बाट माइक्रोम्याक्सको फोन झिक्यो समय हेर्यो।।
समय: ७:३०
“फेरी ढिलो हुन्छ क्या हो?”
केही बेर मा अर्को बस आयो…..
उतिकै भरिएको, तर यो बसमा नि नबसे चाहिँ उ समय मा पुग्थेन। त्यसैले लस्याङ फस्याङ गर्दै उ बस भित्र छिर्न खोज्यो, र केही बेर को कुस्ती पछि छिरल्यो पनि। बस भित्र बल्ल तल्ल खुट्टा राख्ने ठाउँ थियो। हात पनि बसको त्यो चिसो डन्डीमा जबरजस्ती एउटा हात राख्न मिल्ने गरी। ज्यान नै अफ्ट्यारो हुने गरी उ च्यापिएर बस्यो।
उसको पछाडि बसेको मान्छेको हात भने खै कसरी उसको गर्धन भन्दा अगाडि गएर उसकै हातको छेउको डन्डीमा थियो। त्यो मान्छेको काखी ठ्यक्कै उसको नाकमा। बिहानै भए पनि, पसिना को गन्धले बिहान बेलुका नभन्ने रहेछ भनेर उसलाई महसुस भयो। त्यो अमिलो गन्ध सुङेर उसको खाली पेटमा अप्ठ्यारो भयो। उ अलि कति सर्न खोज्यो तर सर्नलाई ठाउँ नै थिएन।
“कहिले पुगिन्छ होला। यो जागिर पाए त एउटा साइकल किन्थे बरु, यसरी बसमा त हिँड्न पर्थेन….”
साइकल किन्ने उसको पहिले देखीको सपना थियो। बसको भाडा तिर्दा तिर्दा आजित भएको थियो उ। गएको महिना सम्म उसको विद्यार्थी आइडी थियो र अलि अलि भए नि छुट पाउँथ्यो, अहिले त उसले पुरै भाडा तिर्न पर्थ्यो।
४ ४ मिनेटमा रोक्दै, मान्छे ओराल्दै, मान्छे हाल्दै बस अन्तिममा पुतलीसडक पुग्यो। राम ओर्ल्यो र उसले इन्टरभ्यु दिने ठाउँ तिर लाग्यो।
हतार हतार हिढेर उ अफिस पुग्यो, नर्भस हुँदै भित्र छिर्यो र रिसेप्सनमा गएर “मा इन्टरभ्युको लागि आएको भन्यो”
रिसेप्सनमा बसेका पुरुषले एकै छिन कुर्नुस् है भने र भित्र गए।
भित्र पट्टी रहेको अफिसको ढोका आधा खोलेर, आउनुहोस् भित्र भनेर बोलाए र राम छिरे पछि आफू बाहिर निस्के।
अफिस भित्र ठुलो चिल्लो डेस्कको पछाडि बसेका म्यानेजरले उसलाई
आउनुहोस्, बस्नुस् भनेर कुरी देखाएर इसारा गरे।
राम बस्यो……
“राम जी, आफ्नो सिभी ल्याउनु भएको छ? “
छु भन्दै रामले आफ्नो सिभी तेर्स्यायो।
डेस्कमा बसेका म्यानेजरले यसो नियालेको जस्तो गरेर रामको मुहार हेरे र भने। “ठिकै रहेछ सिभी त। पहिले कतै काम गर्नु भएको छ? एक्स्पिरियन्स अलि कम देखियो।”
“छैन, भरखर पढाई सकेको हो, काम त्यस पछि बल्ल खोजेको हो।” रामले भन्यो।
“ए ए ठिक छ। तपाईँको क्वालिफिकेसन त राम्रै रहेछ, तर हामीलाई अलि एक्स्पिरियन्स भएको मान्छे चाहिएको हो। पछि फेरी ट्राई गर्नुस् न त है?”
रामले केही भन्न खोज्दै थियो तर, पछि ट्राई गर्नुस् न है भनेको सुन्न नपाई उसले बोलेर केही नहुने भयो सोचेर टाउको मात्र हल्लायो। एक्सिपिरियन्स नपुगेर काम नपाएको उसको यो चौथो पटक थियो। विज्ञापनमा चाहिँ भरखर पढाई सकेको भन्ने तर काम खोज्न जाँदा एक्सिपिरियन्स पुगेन भन्ने, कस्तो चलन हो यो जस्तो लाग्थ्यो उसलाई। फेरी कसैले काम नै नदिए एक्सिपिरियन्स बन्छ चाहिँ कसरी?
उसले के नै गर्न सक्थ्यो र। आफ्नो सिभी बोकेर धन्यवाद भन्दै उ बाहिर निस्कियो।
निराश भएर उ पुतलीसडकको बाटोमा हिन्दै , अब फेरी कहाँ के खोज्ने होला भन्दै सोच्दै थियो। उसले छेउ मै चिया पसल देख्यो र छिर्यो।
दिदी चिया खाऊ न है।
“हस् भाइ, दूध कि कालो?” दिदीले चिया छान्नेले उम्लिएको चिया हल्लाउँदै सोधिन।
“दूध चियाको कति?” उसले सोध्यो
“२० रुपैयाँ भाइ”
“ठिकै छ त्यसो भए कालो चिया नै दिनुस् न त एक गिलास। बरु एउटा सेल चाहिँ दिनुस्”
चिया कुर्दै गर्दा उसले नजिकैको टेबलमा पत्रीका भेट्यो र जागिर को केही छ कि भनेर पत्रीका आफू तिर तान्यो।
दिदीले चिया लिएर टेबला राखिन र उसले चिया टिप्यो र पत्रीका पल्टाउन थलायो।
एक हातले चिया पिउँदै उ पत्रीका हेर्दै थियो। पिलेटा भएको सेल टिप्यो र मुखमा हाल्दै उसले जागिरको विज्ञापन पढ्यो।
“एक्स्पिरियन्स २ वर्ष…….एक्स्पिरियन्स ३ वर्ष……”
त्यो देखेर उसको मुखमा भएको सेल भन्दा चिसो उसको मुटुमा पस्यो…..
काम त पाइँदैन कि क्या हो?
चिया सक्काएर उ घर तिर लाग्यो। आजको लागि उसको अरू केही काम थिएन। २ दिन पछि भने अर्को एउटा इन्टरभ्यु थियो, जुन जागिर नि उसलाई पाउँछु जस्तो लागेको थिएन।
बस स्टपमा उभिँदै गर्दा उसले अगाडिको घरको भित्तामा “वर्क अब्रोड” भन्ने साइनबोर्ड देख्यो।
“केही लागेन भने अन्तिममा………
उसले मन मनै सोच्यो…
घर पुगेर उसले सुत्ने निर्णय गर्यो, तर सुत्न अगाडि दिउसोको लागि भात बनाउन पर्छ भनेर उसले प्रेसर कुकरमा भात बसाल्यो र साइड मा आलु र बन्दामा झोल हाल्न पर्ला भनेर बन्दा काट्यो……..
Facebook Comments Box