झिसमिसे साँझमा सिमसिम पानी र सिरसिरे हावा चलिरहेको थियो।
र गोजीको फोनमा भाइब्रेसन पनि भइरहेको थियो। धेरै बेर बाइकमा बसेकोले होला, ढाडबाट झरेको र सिटमा जम्मा भएको पानीले पछाडि चिसो बनाइसकेको थियो।
पानी मै त के उठाउनु भनेर मैले बाइक साइड लगाउन ठाउँ खोज्दै गुडिरहेको थिएँ। लैनचौर चोक नजिकै चोककै बस स्टपको साइडमा रोकिएँ। सानीमा बैङ्कको ठुलो होर्डिङ बोर्ड लागेको ठ्याक्कै मुनि पट्टीको ठाउँ मा ओत लागेँ। रेनकोट भित्र बाट हात छिराउँदा थाहा भयो प्यान्ट साइडमै पनि पुरै भिजेको थियो। खल्ती र फोन पनि अलि अलि भिजेको रहेछ। फोन झिकेर कहीँ कतै कुनै लुगाको भाग सुक्खा छ कि भनेर फोन पुछ्न थाले। के पुछिन्थ्यो, उल्टै स्क्रिन भरी पानी लाग्यो र होम बटन थिचिएर फोन को ब्याक ग्राउन्डको बत्तीले फोन स्क्रिनको पानी टिलिक्कै टल्कायो। स्क्रिनको बिचमा थियो
‘वान मिस् कल’
‘घर’
सधैँ जसोभन्दा अलि कति ढिलो भएको थियो काम बाट फर्किँदा। टाइममै घर पुग्ने हुँदा केही समय तल माथि भयो कि फोन त बजी नै हाल्थ्यो। ठिकै छ भनेर फोन उठाइन। केही बेरमा घर नै जो पुगिहाल्छु।
फेरी सोचे फोन नउठाउने वा कल ब्याक नगर्ने भए बाइक रोकेर ओर्ले नै किन?
शायद चिसो मा चलाउँदा अल्छी लागेको थियो वा शायद जाडो भएको थियो। ब्रेक लिन भनेर रोकेँ होला।
सहर सधैँ झैँ व्यस्त नै थियो। साझा भएकोले गाडीको चहलपहल नि उस्तै। पानी परेको ले धेरै मान्छे भने थिएनन्। शायद बस पार्ककै साइडमा भएको ले ५-७ जना मान्छे वरिपरि थिए कि मैले याद गरिन। वरिपरि कोही चाहिँ थिए। गाडी को ट्याट -ट्याट र टुटाटुट र कालोपत्रे रोडमा पानी माथि टल्केको सहरको बत्ती। मानौँ सडक तिहारमा सहर सजिए झैँ सजिएको छ। पानी परे पछि त्यो वासना नि मिठो र अध्यारोपमा बत्तीको प्रकाशले टल्किने पानी नि उस्तै। त्यस को मजा नै अर्कै छ।
मौसमको माहौलमा म डुबी रहँदा भू-पुप गर्दै साझा बस आएर साइडमा रोकियो। केही मान्छे उत्रे, केही चढे- शायद। खासै ध्यान थिएन मेरो त्यता। खासै केही सोचेको पनि थिइनँ तर ध्यान पनि कतै थिएन। पछाडि पट्टी कोही हिँडेको झैँ लागेको थियो। निहुरिएर फोनमा हेर्दा आँखाको पछाडि भाग बाट छाया झैँ केही चलेको महसुस गरेको थिए। फुटपाथ न हो। पक्कै हिँडे होला कोही भने झैँ लागेर बेवास्ता गरे। सोचमा धेरै बेर डुब्नै नपाई फेरी फोन भाइब्रेट गर्यो।
“घर”
एक छिन सोचेर हरियो फोनको आइकन लाई दाहिने तिर तान्न खोजे, तर पानी परेर होला सधैँ झैँ सजिलै सँग त्यो हरियो फोन चलेन। फेरी भिजेकै लुगामा भए पनि पुछेको झैँ गरेर ताने। यस पाली भने हरियो सर्यो र फोन मा स्किन चेन्ज भएर किप्याड आयो र समय।
“हजुर….आए हौ आए! पानी परेर एक छिन रोकिएको छु। भिज्दै के आउनु भनेर हो। आधा घण्टा जस्तोमा आइपुग्छु।
“ल हौ ल” भन्दै मैले फोन काटे।
त्यत्तिमै……
“घर का मान्छे?” भन्दै साइड बाट आवाज आयो।
फोनलाई हातमा खेलाउँदै साइडमा हेरे।
पानी ले निथ्रुक्कै भएकी एक जना महिला मेरो साइडमा उभिएकी रहेछिन्। बस स्टपको त्यो छाहरीमा।
मलाई खासै केही जवाफ दिन आएन।
“के मैले चिनेको मान्छे हो र?” भनेर सोच्दै थिए।
“तपाइलाई नै भनेको हो” भनेर उनी मुस्कुराइन।
अप्ठ्यारो मान्दै ” अ” भने मैले। र फोन तिर हेरेको जस्तो गरे।
“अचम्मको हुन्छन् यी घरका मान्छे, खल्ती बाट चुरोटको भिजेको बट्टा झिक्दै उनले भनिन।
मेरो ध्यान फोन बाट फेरी उनी तिर केन्द्रित भएको थियो।
चुरोट को बट्टा बाट उनले एक खिल्ली चुरोट झिकिन र हत्केला मा थपथप हानिन र म तिर हेरेर अचम्म सँग मुस्कुराइन।
“चुरोट?”
भन्दै उनले म तिर तेर्साइन। चुरोट भिजेको झैँ देखिन्थ्यो। उनको अर्को हातमा भएको शिखर चुरोटको बट्टाको रातो खोल बाहिरको प्लास्टिक मा भएको पानी पनि केही बेर अगाडिको रोड जस्तो टल्किएको थियो। रातो झिमिक्क। उनको मुस्कान क्रिप्टिक थियो। पछिल्लो एक दुई मिनेट मा धेरै चोटि मुस्कुराए पनि उनको मुहारले हाँसो भन्दा नि पिडाको भाव दिन्थ्यो। लामो छोडेको र निथ्रुक्क भिजेको कपाल, ठुला ठुला आँखा र आँखा बाट गोरेटो समातेर झर्दै गरेका फिक्का गाजलको दाग। शायद पानी नपरेको भए त्यो गाजललाई पानी ले नभएर आँसुले झारेको हो कि झैँ लाग्थ्यो होला। पानीले ले अन्योलमा पर्यो।
एक छिन अलमल्लिएर
“म खान्न चुरोट” भने।
“एकदम राम्रो बानी रहेछ, म नि खान्न थिए केही समय अगाडि सम्म”।
त्यत्तिकै मा उनको बातचित मा ब्रेक लाग्यो।
“धन्न! अब कुरा गरी राख्न नपर्ने भयो” झैँ महसुस भयो र फेरी फोन तिर हेरेको झैँ गरेर बसे।
वास्तविकतामा भन्न पर्दा चाहिँ मेरो ध्यान उनी तिर धेरै केन्द्रित भइसकेको थियो।
जिज्ञासाले मेरो बेचैन भएको थियो। के हो कुरा चाहिँ “व्हाटस हर डिल” झैँ भएको थियो।
आफैँ बोल्न भने मन थिएन। मलाई खासै चिनजान नभएको मान्छे सँग बोलेर बस्न मन लाग्दैन।
शायद उनलाई मेरो अप्ठ्यारोपनको महसुस भए छ कि उनी बोलिन्न।
मलाई भने किन किन उनी बोलिदिए हुन्थ्यो झैँ भई रहेको थियो।
तर उनी बोलिन्न। चुरोट पिउँदै एकाग्र को साथ रोड तिर हेरी रहिन। पक्कै पनि रोडको गतिविधिमा उनको ध्यान थिएन। अगाडि भित्ता नै भएको भए पनि उनी त्यही एकाग्रताको साथ टोलाई रहन्थिन होला।
केही मिनेट नै बित्यो। उनको चुरोटको ठुटो बिस्तारै बढ्दै थियो। जब उनी लामो सास लिएर तान थिइन। , चुरोटको ठुटो रातो भएर बल्थ्यो।
प्रतीकात्मक हिसाबमा शायद उनको मन त्यो चुरोटको ठुटो थियो। र शायद उनको जिन्दगीको चुरोट तान्ने अरू कोही। उनको अनुहार मा अर्कै प्रकारको गम्भीरता थियो।
धेरै समय बित्दा सम्म पनि उनी फेरी म सँग बोलिन्न। यदि बोलिन भने, तपाईँलाई ठिकै छ भनेर सोधूँ झैँ लागेको थियो। यतिकै सोध्न भने नि आट आएन।
आफू उभिएको ठाउँ बाट अलि कति बाहिर निस्केको झैँ गरे , र उनले देख्ने गरी आकाश तिर हेरेको जस्तो गरेर “पानी रोकिन्न कि क्या हो?” भनेर उनले सुन्ने गरी भने। शायद त्यसको जवाफ दिन्छिन् कि भनेर।
उनी आफ्नै चुरोटमा मस्त डुबेकी झैँ देखिन्थिन।
फेरी लामो सास फेरेर चुरोट तानिन, आकाश तिर हेरेर धुवाको मुस्लो फुकिन र भनिन-
रोकिन्छ, एक दिन सबै कुरा रोकिन्छ। चाहना, इच्छ्या, माया, जोस, धैर्य, र जिन्दगी पनि भन्दै चुरोटको फिल्टर भुईँमा फालेर खुट्टाले कुल्चिन।
के उनले त्यो चुरोटको अन्त्य लाई प्रतीकात्मक रूपमा जिन्दगी सँग दाँजेको थिइन? वा त्यो केवल एउटा संयोग थियो?
खैर, कुरा त ठिकै हो। जवानीमा बलेर जिएको जिन्दगी र बलेर जिएको त्यो चुरोट- दुवै जलेर नै सकिने न हो।
उनको त्यो कुरा सम्झिँदैमा आफ्नै जिन्दगीको बारे सोच्दै थिए। न करियरको ठेगान छ, न जिन्दगी कै। सपना अनेकौँ थियो, तर परिस्थितिले हात समाएर आफूले सोचेको भन्दा विपरीत बाटो तिर डोराउँदा मैले चुप लागेर हिँड्न बाहेक अरू केही गर्न सकिन। शायद त्यो मेरो बाध्यता थियो वा कायरता। न भित्र भित्र म आफ्नो सपना पछ्याउन डराएर परिस्थिति सँग झुक्न बाध्य भए? शायद मैले सङ्घर्ष गरेको भए आज म परिस्थितिलाई उनले फालेको चुरोट ठुटो झैँ कुल्चिएर आफ्नो सपना जिइ रहेको हुन्थे कि?
बाध्यता – त्यही भनेर म अहिले चित्त बुझाउँदै छु।
मेरो बाध्यताले मैले आफ्नो सपना मात्र गुमाइन। मेरो सपनामा सपना देख्नेहरू पनि गुमाए। आफ्नो सपना त आफ्नै हो भनेर चित्त बुझाउँछु, तर मैले अरूको सपनालाई पनि बिपनाको स्वरूप दिन सकिन। सँगै देखेको सपना, जुन सपनामा हामी दुवै खुसी थियौ। र मेरो जिन्दगी अहिलेको भन्दा धेरै गुना राम्रो थियो।
बाध्यता।
जब जब ती सपनाहरू चलचित्रमा देखाइने जस्तो फ्ल्यास ब्याक भएर मेरो सपनाहरू बिथोल्न। म त्यसलाई मेरो बाध्यता थियो भनेर टाल्छु।
सपनाको सपना देखिरहेको बेला, साइडमा रोकेको बस को “भू-पु” ले मलाई यथार्थको कोलाहलमा फिर्ता बोलायो। झस्केको झैँ गरीमा फेरी त्यही बस स्टपमा पुगे।
उनी अझै मेरै साइडमा थिइन। अर्को खिल्ली चुरोट बाली सकेकी रहेछिन्। उनी एकाग्रका साथ आकाश तिर टोलाउँदै मुख बाट चुरोटको मुस्लो फाल्थिन। केही सम्झेको झैँ गरेर मुस्कुराउँथिन। लाग्थ्यो उनको मुस्कुरा पनि सार्क्याजम थियो।
म भने उनीलाई हेरेर टोलाई रहेको थिए।
एकासी उनले म तिर हेरिन।
आखीभौ माथि लगेर, के भयो भनेको झैँ इसारा गरिन।
म आत्तिए।
केही हैन भनेको झैँ मैले नि टाउको हल्लाए।
उनले फेरी एक तिरको आखीभौ उठाएर शङ्कास्पद हिसाबले मेरो कुरा नपत्याएको झैँ गरिन।
मलाई अप्ठ्यारो लाग्यो र म फोनमा मेसेजको नोटिफिकेसन आएको झैँ गरेर फोन तिर हेर्न थाले।
“घरका मान्छे? ”
उनले मलाई सोधिन।
कही हैन भन्न अप्ठ्यारो लाग्यो र “हजुर” भनेर म रिप्लाई गरेको झैँ गर्न थाले।
अचम्मका हुन्छन् यी घरका मान्छे। माया गर्छन्, माया गरेको भन्छन् तर माया गर्दा दुःख दिएको छन् भनेर बुझ्न चाहिँ सक्दैनन्।
“लिनियर माया गर्छन्”
जिन्दगी लिनियर हुँदैन। जिन्दगी मल्टी डाइमेन्सनल छ। सबै कुरा मल्टी डाइमेन्सनल छ नि हैन र? ब्रह्माण्ड नै मल्टी डाइमेन्सनल छ। हामी त विशाल ब्रह्माण्डमा एउटा जाबो बालुवाको दाना भन्दा नि सानो कुरा हौ। शायद बुझाउन नसक्नु हाम्रो गल्ती हो।
“अल्बर्ट दाईले भन्थे रे- तिमीले केही कुरा बुझेकै छैनौ जब सम्म तिमी त्यो कुरा आफ्नो हजुरआमालाई बुझाउन सक्दैनौ।”
अल्बर्ट आइन्स्टाइनलाई कोट गर्दै थिइन उनी।
म चुपचाप उनको कुरा सुनी रहे। मलाई थाहा पनि थिएन, यदि उनीले मलाई त्यो कुरा सुनाइ रहेकी थिइन कि उनी एकलाई बरबराइ रहेकी थिइन।
उनको अनुसार- उनको अनुसार? वा वैज्ञानिकहरूको अनुसार? खैर जसको अनुसार भए पनि संसार मल्टी डाइमेन्सनल छ। उनले म सँग त्यो कुरा शेर गरे पनि, एक्लै बरबराए पनि, फरक पर्छ र? शायद त्यो म हुँ या अरू कोही। संयोगवश त्यो बेलामा म त्यहाँ पुगे, र उनी सँग भेट भयो। के म त्यहाँ नपुगेको भए उनीले अरू सँग त्यही कुरा गर्थिन होला? उनीले कुरा गरी रहँदा त्यही बस आएर हर्न बजाउँथ्यो होला? बसका सह चालकले “महाराजगन्ज, चक्रपथ” भन्दै कराउँथे? र त्यही मान्छेहरू बस मा चढ्थे? हामी कुनै पनि ठाउँमा हुनु र नहुनुमा , त्यहाँ घटेको घटनालाई असर गर्छ होला?
म आफ्नो सोच बाट फेरी उनको कुरा तिर फर्के। उनी एक्लै बारबराउदै थियिन।
“मैले कति भने, जति गरे पनि नहुने। माया नि गर्ने, माया नि नबुझ्ने”
के भनिन उनले? कस्साई भनिन? म त आफ्नै सोचमा यती हराएछु कि उनको कुरा नै सुनिन।
कुरा सुनिरहेको झैँ गरेर मैले टाउको हलाए।
“सरी! मैले तपाईँलाई यत्तिकै दिक्क बनाइ रहेको छु। उनले मलाई हेर्दै भनिन।”
हैन! ठिकै छ। आइ याम ह्यप्पी टु लिसन!
उनी मुसुक्क हाँसिन र।
“थ्यान्क्स” भनेर चुरोटको एक सर्को लिइन र फेरी आकाश तिर फालिन।
पानी रोकिने नामै लिइरहेको थिएन। मलाई पनि मन मनै नरोकियोस् झैँ लागि रहेको थियो।
मलाई अझै उनको कुरा सुन्नु थियो। अचम्मको कुरा गर्दै थिइन उनी , किन गर्दै थिइन पनि मलाई थाहा थिएन। तर मलाई उनको कुराले मोहित पारेको थियो। कता कता उनीले आफूले आफूलाई चिनेको, जिन्दगी बुझेको झैँ लागि रहेको थियो मलाई। म भने जिन्दगीको मामलामा बिलकुल हराएको थिए। म सँग न केही कुराको उत्तर थियो न त केही कुरा बारे प्रश्न गर्न सक्ने आट। मलाई उनी साहसी लागि रहेको थियो। उनको कुरा, उनीमा भएको निर्धक्कता र त्यो सूक्ष्म मुस्कान। मलाई लाग्थ्यो उनी मुस्कुराइ रहुन्। उनको मुस्कुराहट नै अर्कै प्रकारको थियो। हेरी रहु जस्तै। उनको स्वर पनि त्यस्तै नै थियो, सुनी रहु जस्तै।
मलाई सोध्न मन थियो। तिम्रो कथा के हो?
तर मलाई डर लाग्यो। म मा उनीमा भए जति कन्फिडेन्स थिएन। उनको व्यक्तिगत कुरामा के प्रश्न गर्नु झैँ भयो।
म चुप लागेर बसी रहे।
पानीको थोपा अल्कात्रामा ठोकिँदै टल्किँदै रमाउँदै थिए। शायद उनीहरू नाची रहेको थिए। बादलको थुना बाट छुटेर स्वतन्त्र हुन पाएको मा शायद तिनीहरू नाच्दै थिए, र त्यो पानी परेको र चट्याङको आवाज उनीहरूको सङ्गीत थियो। शायदमा पनि मेरो बाध्यता बाट भागेर आफ्नो सपनाको पछि लाग्न सकेको भए यसरी नै नाची रहेको हुन्थे होला। वर्षौँ लगाएर देखेको त्यो सपना बाची रहेको हुन्थे होला। तर म ती पानी झैँ स्वतन्त्र भएर झर्न पाइन। जति पानी झर्यो, त्यो सबै आँखा बाट झर्यो र जति चट्याङ गर्जियो त्यो मुटु भित्र गर्जियो। बाजा त जिन्दगीले नै बजाइ हाल्यो।
“के को सोचमा डुबेको हौ त्यस्तो? ”
उनले मलाई काँधमा हलाउँदै जगाइन।
आफ्नै जिन्दगीको सोचमा हराएको म- “ए केही हैन, यत्तिकै” भन्दै फिस्स हासे।
“मैले तपाईँको बेकारमा दिमाग खाए है?”
उनीले सोधिन।
“हैन ठिकै छ, केही छैन” मैले भने।
“म खासै यसरी बोल्ने मान्छे हैन, तर अहिले जिन्दगी नै त्यस्तै अवस्थामा छ। लाग्छ जो जो भेट्छु सबै सँग आफ्नो मनको कुरा खुलाऊ। अझै धेरै त पराया सँग। आफ्नो भन्नेले त कुरा बुझ्न सकेनन्। शायद परायाले पो बुझ्छन् कि?”
“आफ्नाले त खाली आफ्नो बारे मात्र सोच्दो रहेछन्। शायद त्यसैले आफ्नो भन्ने रहेछन् क्या हो?”
शायद उनले त्यो त्यही बेला सोचेकी थिइन। आफैँ भनेको भन्दा नि दिमागमा आएको झैँ गरी प्रश्न गरेको थिइन।
म चुपचाप उनको कुरा सुन्दै थिए। समय समयमा टाउको हलाउँथे। उनी म तिर हेर्दा हाँसेर सहमति जनाएको झैँ गर्थे।
उनी फेरी मुस्कुराउँथिन। म उनी मुस्कुराएको देखेर यतिकै मुस्कुराउँथे। उनको त्यो हाँसोमा खै के जादु थियो। त्यो मुहारमा हाँसो यती सुहाएको थियो कि त्यो हेरेर आफैँ हाँसूँ हाँसूँ लाग्थ्यो। तर, यो कथा मा भने हाँसो सुहाएको झैँ थिएन। उनको त्यो हाँसो वास्तविक हो कि यतिकै हासेको झैँ गरेको भनेर छुटाउन गाह्रो थियो।
मलाई फेरी पनि सोध्न मन थियो, खासमा कुरा हो चाहिँ के?
तर आट भने फिटिक्कै आइरहेको थिएन।
“थ्यान्क यु मेरो कुरा सुनिदिएकोमा”
उनले फेरी भनिन।
“हरे! केही छैन। थ्यान्क यु भन्न पर्दैन” मैले फर्काए।
उनी यो पाली भने हाँसिन्न। म तिर हेर्दा पनि हेरिन्न।
चुरोटको धुवा तिर हो कि आकाश तिर हो, जे होस् माथि तिर हेरिरहेकी थिइन।
“मेरो कुरा कसैले नसुनेर हो। भित्ता सँग बोल्थे, तर भित्ता र मेरो परिवारमा फरक नै केही छैन। मैले जे भनूँ , जे बोलूँ, ती दुवै चुपचाप सुनी रहन्छ। तर प्रतिक्रिया पटक्कै केही आउँदैन। बरु तपाईँले ले नचाहेर भए नि टाउको हल्लाउँदै, हाँस्दै सुनेको झैँ तर गरी राख्नु भएको छ। कति धेरै आफ्नो मान्छे बिच मेरो कुरा सुन्ने कोही नहुँदा, धेरै मान्छे बिचको एक जना तपाईँ अलि अलि भए नि सुने जस्तो त गरी राख्नु भएको छ।”
” मात्र मेरो कुरा एक पटक सुनिदिएको भए……..”
त्यति भन्दै उनी रुन थालिन।
म अलमल्लमा परे।
मलाई त्यस्तो परिस्थितिहरूमा खासै प्रतिक्रिया नै दिन आउँदैन ।
म आफैलाई गाह्रो भयो। म खासै इमोसनल मान्छे नि हैन, तर अरू रोएको देख्दा वा आफ्नो अगाडि कोही रोएको मन पर्दैन। मन पर्दैन भन्नाले किन रोएको हुन जस्तो हैन, नरोइदिए हुन्थ्यो झैँ लाग्छ, आफूलाई दुःख लाग्ने भएकोले। मन पर्दैन भन्दा नि, अरू रोएको हेर्न मन लाग्दैन भन्दा ठिक होला। खैर, मन मनै मैले त्यस्तै सोच्दै गर्दा, उनी सुकसुक गर्दै रुन थालिन।
मैले के गर्नु त्यहाँ अब? सम्झाउनु ? के भनेर सम्झाउनु ? म त सङ्कट मा परे।
चासो लागेको र चिन्तित भएको झैँ गरेर म उनको नजिक गए।
“हरे! नरुनु”
मलाई त्यो बाहेक केही भन्न आएन।
सबै ठिक हुन्छ भन्न मन थियो। तर म आफैलाई थाहा छ कि सबै ठिक हुँदैन। जस्तो छ त्यस्तै मा चल्दै जान्छ। स्थिति ठिक होस् या नहोस् चल्दै जान्छ। ठिक त केवल काल्पनिक कुरा हो।
तर त्यो अवस्थामा म सँग त्यति भन्नु बाहेक अरू केही विकल्प थिएन।
म उनको नजिकै गए।
नरुनु।
मैले फेरी दोहोराए।
मैले त्यति भन्दा उनी टाउको तल गरेर निहुरिइन।
हात आँखा तिर लगेको जस्तो गरिन। मलाई लाग्यो उनी आशु पुछी रहेकी थिइन। अँध्यारो अँध्यारो नै थियो र मैले स्पष्ट रूपमा केही देखेको थिइन।
जब उनले हात तल राखिन। र टाउको उठाइन।
उनी खित्का छोडेर हाँसिन।
“हाहा”
म फेरी वाल्ल परे।
के भई रहेको छ यहाँ? कतै यो मेरो कल्पना त हैन? भर्खरै घ्वा घ्वा रोइ रहेकी उनी फेरी त्यही जादुयी मुस्कान लिएर खित्का छोडेर हाँसी रहेकी थिइन।
तपाईँ माथि त काम गर्ने रहेछ आशुले नि। काश मेरो परिवारमा नि गर्थ्यो।
म अझै शक्ड नै थिए। के भयो भनेर मेरो दिमागले प्रशोधन गर्न सकी रहेको थिएन।
के त्यो रुवाइ झुटो थियो ? वा उनलाई एउटा अपरिचित व्यक्तिको अगाडि त्यसरी रुँदा अप्ठ्यारो लाग्यो र हाँसेर नाटक गरेको झैँ गरिन ?
सोधूँ त कसरी सोधूँ, आफै बुझौँ त आफैलाई त बुझ्न सकेको छैन।
“फुल्ड यु”
उनी फेरी हाँसिन।
के उनले मलाई साचीकै उल्लु बनाएकी थिइन? वा अप्ठ्यारो लागेर रोएको नाटक हो भनेको झैँ गरेको थिइन?
त्यस बेला सम्म मेरो जिज्ञासाको स्तर धेरै बढी सकेको थियो। जिज्ञासाले मेरो डरको स्तर भन्दा माथिको ठाउँ पाइ सकेको थियो।
र शायद उल्लु बनाएको मा रिस पनि।
सहानुभूति सन्सङै मलाई अलि कति रिस पनि उठेको थियो। म भने उनको पिडामा दुखी हुँदै थिए। तर उनी म सँग जिस्किने?
यस पाली भने मैले सोधेरै छोड्छु भनेर मन मनै जङीए।
“व्हाट इज योर प्रब्लम?” तपाईँको समस्या के हो?
एक छिन को रिस भए नि त्यति कठोर भएर मैले प्रश्न गर्न सकिन।
मन मनै रिसाएर ” व्हाट इज योर प्रब्लम” अझै “व्हाट द हेल इज योर प्रब्लम” भनेको कल्पना गरे पनि। सोध्ने बेलामा मेरो मुख बाट
” के भयो तपाईँलाई? भन्न मिल्छ भने म सुन्न तयार छु। शायद शेर गरेर अलि हलुको पो हुन्छ कि?” भनेर सोधे।
हाँसी रहेको उनको मुहारमा एक भिन्न प्रकारको अँध्यारो छायो। मानौँ निलो चम्किलो आकाशमा एक्कासि कालो बादल लागे जस्तो।
उनी अलि निराश देखिइन। शायद त्यति निराश मैले उनी सँग कुरा गरे देखी देखेको थिइन। मानौँ मेरो त्यो प्रश्नले नि आफ्नो वास्तविक संसारमा झरिन।
के उनी साचीकै एउटा काल्पनिक संसारको कन्फिडेन्स र हाँसो लिएर बचेको थिइन? म जस्तै वास्तविक संसार र आफ्नो पिडा भुलेर, त्यसलाई इगनोर गरेर एउटा वैकल्पिक संसारमा नयाँ क्षणिक संसार सजाएर बसेकी थिइन?
किन मेरो त्यो प्रश्नले उनको मुहार र आनी बानी नै बिग्रियो? उनको त्यो मनोवृत्ति नै भङ भयो?
उनी फेरी आकाश तिर हेरेर टोलाउन थालिन। यो पाली भने अलि गम्भीर अनुहार लगाएर।
समस्या त मेरो केही हैन, बरु मै समस्या भएको जस्तो छ। मेरो घरको मान्छेको लागि। मैले भनेको न केही सुन्छन् न केही मान्छन्।
“लङ स्टोरी सर्ट, मैले मन पराएको मान्छे भन्दा उनीहरूले मन पराएको मान्छे सँग मैले जिन्दगी बिताउनु पर्यो रे”
अचम्मको कुरा के हो थाहा छ?
मैले टाउको हल्लाउँदै छैन भने।
“म आफूले ८ वर्ष देखी चिनेको र माया गरेको मान्छे चाहिँ को हो? कस्तो मान्छे हो? त्यत्तिकै कहाँ हुन्छ भन्थे। तर उनीहरूले, को छिमेकीले ल्याएको रिस्ताको भरमा चिन्नु न जान्नु मान्छे सँग चाहिँ जिन्दगी बिताउनु पर्ने रे ? त्यो पनि १ दिनको कुरा सुनेको भरमा? आफूले खोजे चाहिँ आफैँ कर गरेर मुभी हेर्न जाऊ, खान जाऊ रे त्यो नि अनजान व्यक्ती सँग। तर मैले चिनेको, आफूले माया गरेको व्यक्ती चाहिँ भरोसा लायक नै छैन रे?”
यही हो मेरो समस्या। ल, के छ सजेसन अब?
सजेसनको नाम मा म सँग “स” पनि थिएन। शायद उनलाई त्यो पनि थाहा थियो। मेरो प्रश्नको प्रतिरोध गर्नै शायद उनिले त्यो सोधेको थिइन। उनीलाई थाहा थियो यो अनजान व्यक्ती ले केही सजेसन दिन सक्दैन। साँचै भन्न पर्दा त्यो अनजान व्यक्ती उनी भन्दा धेरै सजेसनको खाँचो भएको मान्छे थियो।
म चुप लागेर बसे। केही बेर सम्म केही पनि नबोले पछि उनले भनिन
“ड्याट्स व्हाट आइ थट”
मलाई अलि अलि नराम्रो लाग्यो। हुन त मैले सजेसन दिन्छु भनेको थिइन। मात्र तपाईँको समस्या के हो? म सुनिदिन्छु भनेको थिए। तर पनि मलाई एकदम गिल्टी फिल भयो।
समय बित्दै थियो, तर मन मनै म के उत्तर दिऊ भनेर सोच्दै थिए। मेरो फोन फेरी भाइब्रेट गर्यो। फोन सुल्टो पारेर हेर्दा “घर” भनेर आइ रहेको थियो।
५-७ मिस कल आइ सकेको थियो। सोचे यो पाली भने उठाउनै पर्छ। एकै छिन है भन्दै म पछाडि फर्के र घरमा कुरा गर्न थाले।
“आउँदै छु म, पानी परेको छ ठुलो। एक छिन रोकिएको छु” भनेर फोन काटे।
उनी तिर फर्किन अगाडि केही उत्तर सोच्छु भनेर म फोन मा बिजी भएको जस्तो गर्दै थिए।
एक चोटी राम्रो सँग मलाई नै भनेको कुरा घरमा बुझाउनु न भनेर भन्नु पर्छ जस्तो मलाई लागेको थियो। तर त्यो त पक्कै पनि उनले गरी सकिन होला?
के भन्ने के नभन्ने, मेरो मन मा शब्दहरू नाच्दै थिए। धेरै बेर सोचेर बसे पछि इगनोर गरेको जस्तो हुन्छ झैँ लागेर, बरु त्यही भन्छु भन्छु भनेर म उनी भए तिर फर्किए।
मेरो अगाडि बस स्टपमा बलेको बत्ती र त्यसमा टल्किएको याड बाहेक केही थिएन।