त्रि-चन्द्रको दिउसोको सत्र मध्ये “एमसीजी” कम्बिनेसनमा एका एक हल्ला चल्यो।

धेरैले विश्वास गरेनन्।

“आज सम्म केटी सँग बोलेको त देखेको छैन “

“गुरुको लव पर्न भन्दा अगाडी त बरु नेपाल स्विट्जरल्याण्ड हुन्छ होला”

मे महिनामा तिन धारा पाठशाला बाहिरको रोडमा ज्याकारंडा (भँगेरी फूल ) मन्द  हावाको वेग मा फैलिएको झैँ यो कुरा फैलिएको थियो। त्रि-चन्द्र अगाडीको कमलादी जाने रोडको घुम्तीमा भएको चिया पसलमा जम्मा भएका चिया पिउनेहरू सायद ती “हावा” हरू थिए।  र चिया पसल त्यो हल्ला फैलिने प्लेटफर्म। एक कान दुई कान , सानै भए पनि मैदान।

केही महिना अगाडी…………

१. अदृश्य भेट 

भर्खरै बिबिए छोडेर त्रि-चन्द्र जोइन भएको थिए। सरकारी क्याम्पसको चालचलन बारे खासै ज्ञान पनि थिएन। प्रवेश परीक्षाको लागि जाँदा नै म पहिलो पटक त्रि-चन्द्र छिरेको थिए। त्यस बेला यो शब्द थाहा थिएन, तर अहिले फर्किएर लेख्दा – त्यहाँको भाइब भने राम्रो लागेको थियो।  सायद नयाँ डोमेन  भएर पनि होला। घण्टाघर अगाडीको गेट बाट भित्र पस्ने बित्तिकै इट्टा बिछाइएको ढुङ्गामा हिँड्नु को मज्जा नै अर्कै थियो।  त्यहाँको हो-हल्ला , गंजागोल वा अङ्ग्रेजीमा भन्न पर्दा केओस ! त्यही केओस मै एउटा भिन्न प्रकारको मज्जा थियो।  सायद आज पनि छ।  सरस्वती सधन अगाडिको एरियामा विभिन्न  मान्छेहरू टेबल लगाएर बसेका थिए।  फरक फरक झन्डा र फ्लेक्स बोकेर।  त्यस बेला मलाइ ती पार्टीहरू बारे धेरै थाहा थिएन। टेबल नजिक बाट हिँड्दा सबै हाँस्थे।  “ठिक छ?” “के छ भाइ?”  भन्थे।  बिस्तारै थाहा भयो त्यो त हरेक दिनको गतिविधि रहेछ।  जिन्दगीमा कहिले नमिलाएको हात त त्रि-चन्द्र पढ्ने बेला मिलाइने रहेछ भनेर पछि थाहा भयो।

पहिलो क्लास थियो केमेस्ट्रीको।  कहाँ जाने हो थाहा थिएन। सरस्वती सधन अगाडीको गेट को छेउमै रहेको रुखको तल बसेर २-४ जना सँग कुरा गरिरहेको एक जना केटा मान्छे देखे। त्यहाँ गएर बिएससी फर्स्ट एर केमेस्ट्रीको क्लास कहाँ हो भनेर सोधे।

रुखको तल बसेको केटाले , पश्चिम तिर देखाउँदै ऊ त्यहाँ भनेर भने।  र सायद टोइलेट भन्दा अगाडी पनि भने कि के भने।  अरूको हल्लाले बुझिन।  केमेस्ट्री क्लास तिर जाँदा देब्रे पट्टी नै केटाहरूको टोइलेट थियो।  हरेक पटक त्यो बाटो हिँड्दा ठ्वास्स गनाउँथ्यो।  दाहिने पट्टी एउटा सानो बिल्डिङ थियो। बिल्डिङको ढोका बाहिर एउटा टेबलमा २-४ जना बसेका थिए। फ्लेक्समा लेखेको थियो ” त्रि -चन्द्र रेडक्रस ” !

त्यही टेबलमा बसेको एक जना त चिनेको जस्तो पनि लाग्यो।  सायद प्लस टुको साथी पो हो कि? देख्यो भने बोल्न पर्छ भनेर म बिल्डिङ खोजेको जस्तै गर्दै अगाडी बढे।

केमेस्ट्री क्लासको ढोका अगाडी टन्नै मान्छे जम्मा भएका थिए। तिहारको बेला असनको गल्लीमा मान्छे छल्दै हिँडे झैँ म कक्षा भित्र छिरे।  कक्षा पनि दसैँ तिहारको असन भन्दा कम थिएन।  टेबल/डेस्कमा सामान बेच्न मात्र राखिएको थिएन।  हल्लाको लागि असन सँग नै प्रतिस्पर्धा गर्न सक्थ्यो होला सायद त्यो क्लासले।

फिल्म हलको झैँ सेट्टिङ्ग भएको त्यो केमेस्ट्रीको कक्षाकोठा ठुलै थियो। पहेँलो रङ्ग लगाइएको भित्ता मधुरो देखिन्थ्यो तर कक्षाकोठाको अन्त्यमा भएको ठुला ठुला झ्याल ले गर्दा भित्र भने उज्यालो नै थियो। जङबहादुरको पालाको रुखले बनेको झैँ देखिने कक्षाको डेस्क साह्रै मजबुत देखिन्थ्यो।  तिन ओटा पङ्क्तिमा भाग लगाइएको बेन्चहरू र हरेक बेन्चको बिचमा सानो खुड्किलो। सायद १२-१५ पङ्क्ति थिए।  अगाडिको पङ्क्तिहरू पूर्ण रूपमा भरिएको थियो। विद्यार्थी जीवनमा  म सधैँ ब्याक बेन्चको औकात भएको थिए तर बस्न चाही पहिलो बेन्च मा रुचाउँथे। र पहिलो बेन्च मै बसेर हल्ला गर्थे।   त्यहाँ त त्यो सम्भव थिएन।  रमाइलो लागेर अन्त्यकै पङ्क्ति म गए।  झ्याल बाट बाहिर हेर्दा एउटा सानो रुख थियो र रुखको ठ्याक्कै पछाडि रानी पोखरी। कति राम्रो भ्यु !

Created using AI

ब्ल्याक बोर्ड हेर्दा देब्रे पट्टी पर्ने पङ्क्तिको भित्ता तिर गएर बसे। छायाँ परेको छेउ भएर होला अलि चिसो थियो।  वर्षौँ सम्म ढोका बन्द गरेर कोही नपसेको कोठा झैँ आभास थियो। कोही नबसेको कोठा झैँ शान्त भने थिएन। मौरी पालन गरेको क्षेत्रमा मौरीहरूको घुइ घुइ झैँ अबाज सुनिने हल्ला थियो। केही बेरमा केमेस्ट्रीको गुरु पनि आए।  कक्षा भित्र गुरु पसी सक्दा पनि आवाज भने खासै कम भएन। केही बेरको लागि हो कि भनेर सोचेको थिए , हल्ला त कम हुने नामै लिएन। त्यस्तै परे पहिलो र दोस्रो पङ्क्तिमा बस्नेहरूले बाहेक कसैले पनि केही सुनेको थिएनन्।  गुरुले हल्ला रोक्न प्रयास पनि गरेनन्।  बिस्तारै थाहा हुँदै गयो  किन रोकेनन् भनेर।

केही बेर पछि पनि हल्ला नरोकिए पछि म अलि अगाडी सर्न बाध्य भए। पुरानो काठको बेन्च भए पनि बेन्च चिप्लो नै थियो।  भित्ता बाट अलि कति हातले धकेलेर म सरर चिप्लिएर बेन्चको छेउमा पुगे। भर्‍याङ बाट तल तिर यसो हेरे कतै खालि छ कि भनेर। तेस्रो पङ्क्तिमा छेउमा अटाइन्छ कि  जस्तो देखे र सिधै तल झरे।  छेउमा अलि कति मात्र ठाउँ रहेछ।  २७ नम्बरको माइक्रो को सिटमा कोचिएर बसेको झैँ म आधा ज्यान  बेन्च बाहिर निकालेर बल्लतल्ल बसे।  साइडमा को थियो याद थिएन।  तर, मेरो अवस्था देखेर अलि कति सरेको जस्तो लाग्यो।  मेरो छेउमा अलि अलि ठाउँ बनेको देखेर म देब्रे तिर सरे।  माइक्रो बाट कुनै स्टपमा मान्छे ओर्लिएर सिट पाएको झैँ महसुस भयो।  हल्ला पनि माइक्रो वा बसको भन्दा कम त  थिएन।  मान्छेको हल्ला बिच बजी रहेको गीत झैँ गुरुको लेक्चर  निरन्तर चलिरहेको थियो। प्यासेन्जरको हल्ला खासै मतलब नहुने गाडीको गुरु झैँ कक्षाको गुरु पनि निरन्तर चलिरहे।  पछाडि के भई रहेको उनलाई खासै मतलब थिएन।  मैले ध्यान दिन प्रशस्त प्रयास गरे।  पटक्कै सकिन।  अलि अलि त टेन्सन पनि लाग्यो।  हुँदा खाँदाको बिबिए छोडेर के के न गर्छु भनेर बिएससी पढ्न आएको।  त्यस माथि कहिले सरकारी क्याम्पसको माहौल नदेखेको।  धेरैले त “तैँले सरकारी क्याम्पस पढेर खान्नस्” पनि भनेका थिए।  कता कता अलि अलि त डर पनि लाग्यो।  यस्तो ताल ले त के होला र भनेर।  कक्षामा राम्रै पढाइ हुँदा त खासै नपढ्ने मान्छे आफू , त्यस माथि त्यहाँ त पढ्ने वातावरण पनि थिएन।  टेन्सनमै एक छिन हराई रहँदा छेउ बाट कसैले बोलाएको झैँ लाग्यो।  देब्रे पट्टी फर्केर हेर्दा दुई जना केटीहरू म तिर हेरिरहेका थिए।

केही सुन्नु भएको छ तपाईँ ले?

बोल्न मन नलागी नलागी मैले छैन भनेको जसरी टाउको हल्लाए।  उनीहरू हासे।

दुवै जना गोरो अनुहार भएका हेर्दा दिदी बहिनी नै पो हुन् कि झैँ देखिन्थे।  मेरो छेउमा बसेको केटी को आँखा आकर्षक थियो। टिलिक्क टल्केको ठुला ठुला राम्रो आँखा।   झुसिल्किरा झैँ देखिने बाक्लो आँखीभौँ तर एकदम मिलेको। आँखाको छेउ बाट गाजलको अर्को लाइन छुस्स बाहिर निस्केको। सायद आँखीभौं को झुसिल्किराको भाइ बहिनी झुसिल्किरा पो हो कि? गोरो मुहारमा  लिपस्टिकले टिलिक्क टल्काएको ओठ।  लामो तर फुस्रो फुस्रो देखिने कपाल।  उनको छेउमा पनि त्यसै देखिने तर अनुहार भने अलि गोलो भएको र झुसिल्किरा झैँ आँखीभौँ नभएको अर्को केटी।  उनी भने अलि धेरै हँसिलो देखिन्थिन।

म फेरी ब्ल्याक बोर्ड तिर ध्यान दिन थाले।

हल्ला खासै कम भएको थिएन।  गुरुले पनि खासै ठुलो स्वरमा बोलिरहनु भएको थिएन।  अलि कति जोड लगाएको भए त म बस्ने ठाउँ सम्म पनि सुनिन्थ्यो कि? त्यतिकैमा एक्कासि १८-२० जनाको पिन ड्रप साइलेण्ट बिबिएको क्लास याद आयो।  त्यहाँ त ध्यान दिन गाह्रो भए झैँ लाग्थ्यो। यहाँ त के हुने हो।  सायद पहिलो दिन भएको ले हो कि? बिस्तारै हराउँदै जान्छन् कि? यस्तै कुरा सोच्दा सोच्दै लेक्चरमा भने ध्यान गएको थिएन।  मेरो साइडमा भएका केटीहरू पनि सानो स्वरमै भए पनि हल्ला गरिरहेका थिए।  केही नबुझे पछि मलाइ नि झ्याउ लाग्न थाली सकेको थियो। भुईँ बाट आफ्नो ब्याग निकालेर कापी र कलम झिकेर म सुइँसुइँ बाहिर निस्के।  गुरु भित्ता तिरै हेर्दै थिए , म निस्केको थाहा पाएनन्।  थाहा पाए नै पनि केही भन्ने त होइन, त्यही पनि मलाइ भने डर लागेको थियो। प्राइभेट कलेजमा त्यसरी कहाँ सकिन्थ्यो।  कक्षाकोठा बाहिर माहौल त्यस्तै थियो।  रेडक्रसको टेबलमा २-४ जना नै थिए, मैले चिनेको हुन सक्ने मान्छे भने थिएन। ढुक्क भयो। म गनाउने टोइलेटलाइ दाहिने पारेर सिधै अगाडी लागे।  केमेस्ट्रीको क्लासमा केही बेर अगाडी देखेका २-४ जना बगैँचा मा घाम ताप्दै गफ लगाई रहेका थिए।

एमसीजी कम्बिनेसन् को दोस्रो कक्षा माइक्रोबायोलोजीको हुन्थ्यो।  तर, हरेक कक्षा बिच पैँतालिस मिनेटको विश्राम हुने गर्थ्यो।  बिहान घर बाट खाना खाएर निस्केको ले खासै भोक पनि लागेको थिएन। माइक्रो पछि को ब्रेक मा खान पर्ला केही झैँ लागेको थियो।  अब ४५ मिनेट गर्ने पो के ? भन्ने भयो। म आफ्नै हिसाबले त्रि-चन्द्रको गल्ली गल्ली एक्सप्लोर गर्न तिर लागे।

केमिस्ट्रीकै क्लासको छेउ बाट एउटा टनेल झैँ देखे , त्यतै जान पर्‍यो भनेर हिँडे।  टनेलको अर्को छेउ मा निकास रहेछ, त्यसको ठ्याक्कै पारि अर्को एउटा बगैँचा।अँध्यारो टनेल बाट बाहिरको हरियो बंगैचा हेर्दा कुनै फोटोग्राफी प्रतियोगिता जितेको फोटो झैँ देखिन्थ्यो त्यो दृश्य।  बगैँचाको बिचमा ठुलो रानी थाकल रुख। बाहिर निस्किने ढोकाकै छेउमा अर्को एउटा ढोका! र त्यो ढोकामा थियो अजङको ताल्चा। ढोका बाट बाहिर निस्किन नपाइ भने लप्सीको ठुलो बोट थियो।  बोट बाट अलि कति अगाडी अर्को एउटा ढोका थियो , जमल पट्टी निस्किन मिल्ने ढोका। म अगाडी देखेको पहेँलो बिल्डिङ तिर लागे।  त्यहाँ वनस्पति शास्त्र , प्राणी शास्त्र र सूक्ष्म जीव विज्ञानको अध्यापन हुने रहेछ। त्यहाँ पनि पहिलो दुई तल्लामा त फिल्म हल झैँ कक्षा थिए।  तेस्रो तल्ला (माइक्रो बायो पढाइने तल्ला) मा भने रेगुलर कक्षा थियो।  सायद नयाँ बनाएको झैँ देखिन्थ्यो। दोस्रो तल्लाको भ्याङ्ग सकिन नपाइ एउटा सानो ढोका बाट बरन्डा जस्तो देखिने ठाउँमा जान मिल्ने ठाउँ थियो।  त्यहाँ बटा त रानीपोखरी झन् कति मज्जाले देखिने रहेछ।  रमाइलो लागे म केही बेर त्यही हेरेर बसे।

रानीपोखरी उजाड देखिन्थ्यो।  एक्लै बिचमा ठीइङ्रिङ्ग उभिएको , न साथी छ न सँगी। वरिपरि नकाटिएको झारले झनै उजाड बनाएको। पानीको बिचमा एक्लै बसेको, सायद आफू लाई अरू बाट टाढा राख्न।  अझ बाहिर बाट त अर्को एक लेयरको बार पनि लगाएको। कोही नआओस् भनेर होला सायद। रानीपोखरीको ताल देखेर एक छिन मलाइ दया लाग्यो। किन यस्तो एक्लै बसेको होला? त्यही भन्दै वरपर नियाल्दै गर्दा  मैले नजिकैको झ्यालमा  आफ्नै प्रतिबिम्ब देखे। बरन्डामा एक्लै टिङ्ग्रिङ्ग उभिएको , लामो कपाल , जिङ्ग्रिङ्ग दारी पालेको। मान्छे सँग बोल्न पर्ला भनेर एक्लै डुल्दै हिँडेको। सक्दो रूपमा धेरै सँग बोल्न नपरोस् भनेर आफ्नै हिसाबले बार लगाएर बसेको। रानीपोखरीलाई केही बेर मात्र अगाडी गरेको आलोचनाको उत्तर सायद रानीपोखरीले मलाइ फिर्ता पठाएको थिइन्। सायद हासेकै पो छिन कि? मैले पोखरी तिर हेरे। अङ्ग्रेजीमा पोकर फेस भने झैँ उनी रियाक्सनलेस बसी रहिन।  कसैको मतलब नगरेर।  मन मनै हाँस उठ्यो ।  रानीपोखरीको आलोचनाको प्रतिकार सोच्ने मौका नपाउँदै पछाडिको हल्लाले मेरो ध्यानाकर्षण गरायो।  पछाडि बाट एक हुल विद्यार्थी निस्किए। प्राणी शास्त्रको ल्याब रहेछ, बिहानको सत्र को।

ल्याबमा चियाएर भित्र हेरे।  अङ्ग्रेजी चलचित्र मा उ जमानामा देखाइने कक्षा कोठा झैँ देखिन्थ्यो। टेबलमा विभिन्न प्रकारका म्युजियम स्पेसेमिनहरू राखिएको थियो।  भित्तामा माछाको , चराहरूको र पुतलीहरूको चित्र र तिनीहरूको अङ्गहरू लेबल गरिएको पोस्टर थिए।  केही हप्तामा त प्र्याकटिकल पनि सुरु हुन्छ होला र त्यही आइन्छ, त्यही बेला राम्रो सँग हेर्छु भनेको झैँ लाग्यो। भित्तामा एउटा थोत्रो घडी पनि थियो जसले मेरो अर्को कक्षा सुरु हुन लागेको जनाउँदै थियो। त्यही अनुसार म तेस्रो तल्ला तिर लागे।  अलि चाँडो गए अगाडी नै बस्न पाइन्छ कि भनेर ! के को हुन्थ्यो , १० मिनेट अगाडी नै पहिलो २-३ पङ्क्ति भरिएको थियो। कोही नबसेको भएर म चौथो पङ्क्तिमा गएर  बसे।  एक छिन फेरी एक्लै बसेर, र रमाई रहेको त्यो रानीपोखरी लाई सम्झे।एक्लै हासे।

बिस्तारै ह्वारह्वार विद्यार्थीहरू बढ्दै गए।  त्यही केमेस्ट्री क्लासकै ताल भयो। गुरु  ठ्याक्कै टाइममै पस्नु भयो। म्यामले आफ्नो नाम बताउनु भयो , र हल्ला गर्नेहरू सुरु मै कक्षा बाहिर गइदिनु होला भनेर आग्रह गर्नु भयो र सबैलाई हेरिरहनु भयो।  हल्लै  गर्ने मुड मा आएकाहरू सुइँ सुइँ बाहिर लागे। एका-एक कक्षामा शान्ति छायो।  ओहो , माइक्रो त पढाइ हुन्छ कि क्या हो? सरकारी क्याम्पस नि पढेर खाइन्छ कि झैँ लाग्न थाल्यो। केमेस्ट्री कक्षामा बसेर पढाइ बारे लागेको टेन्सन बिस्तारै हरायो।  म्यामले क्लास सुरु गरिन।

ईण्ट्रोडक्सन टु माइक्रोबायोलोजी 

म ध्यान पूर्व आफ्नो कपिमा म्यामले भनेको कुरा र आफूलाई महत्त्वपूर्ण लागेको झैँ कुराहरू लेख्दै थिए।  कक्षाको ढोका खुल्थ्यो बन्द हुन्थ्यो।  कसैले खुल्लै छोडेर कक्षा भित्र छिरे म्याम ले ढोका लगाएर छिर्नु भन्थिन। धेरैले मानी रहेका पनि  थिए।  मैले को आए को गए त ध्यान दिएको थिइन।  त्यतिकै मा मेरो छेउ मा कोही आएर बसेको झैँ लाग्यो। मैले ध्यान त दिइन।  केही बेर मा कसैले बोलाएको झैँ लागेर साइडमा हेरे। एउटा केटा रहेछ। लगभग मेरै जस्तो हाइट र अलि अलि लामो कपाल भएको दारी भने शेव गरेको।  मेरो जस्तो जङ्गली हैन।  उसले भरखर सुरु भएको हो ? भनेर सोध्यो।  मैले हो भने र फेरी कापी तिर ध्यान दिए।

माइक्रोको कक्षा राम्रो सँग गयो।  रमाइलो भयो, केही नयाँ कुरा पनि सिकियो।  कक्षा सकिएर बाहिर निस्किने बेला देब्रे पट्टिको पङ्क्ति को पहिलो बेन्च मा बिहानको दुई जना केटीहरू देखे।  झुसिल्किरा आँखीभौँ भएको केटी म तिर हेरेर हाँसिन। मैले याद नै नगरेको जस्तो गरेर हतार हतार ढोका बाहिर निस्के। म एकदम चाँडो हिँड्ने मान्छे मा पर्छु तर, म भन्दा अगाडी एउटा अर्को त्यसरी हिँडी  रहेको मान्छे देखे। अगि म सँगै बसेको केटा। एक्लै लुइँलुइँ हिँडिरहेको थियो। त्यो सानो कोरिडोरको बाटो मा त्यो केटा केही बेर मै हरायो। म पनि मान्छे छिचोलेर भर्‍याङ बाट तल झरे।  बिहान आएको रानी थाकल  रुख हुँदै गनाउने  टोइलेट तिर लागे।  ठ्वास्स गनाइ रहेको थियो। बिहान हिँडेको  बाटो हुँदै म बाहिर निस्के र चिया पसल तिर लागे।

चिया पसलमा पनि उस्तै भिडभाड थियो। त्यहाँ भएका सबै जना आ-आफ्नो साथीहरू सँग थिए।  एक छिन त लाग्यो म मात्र एक्लै छु।  कसैलाई चिनेको छैन र खासै चिन्न पनि मन छैन।  फेरी एक पटक रानीपोखरीको याद आयो।

के खाने भाइ?

चिया पसलको दाइ हतारमा देखिन्थे। मैले वरपर हेरे र चिया गरिदिनुस् न एउटा भने। सुनेको नसुनेकोझैँ गरेर उनी चिया तिर लागे। काउन्टर मा टन्नै डोनट , पफ र फ्रुट केकहरू थिए।  चिया आए पछि डोनट पनि भन्न पर्ला भनेर बसेको थिए, मेरो चिया आउन अगाडी दाइले एउटा ट्रे मा चाउचाउ  बोकेर आए।  ओहो, चाउचाउ पनि पाइने रहेछ।

दाइ , मलाइ नि चिया सँगै चाउचाउ  पनि गरिदिनु न है।

चाबहिल बौद्ध  को रुटमा लाग्ने सानो निलो माइक्रो झैँ स्पेस भएको त्यो चिया पसल मा त्यही माइक्रोमा कोचिने मान्छे झैँ मान्छे खोचिएका थिए।  सबै आफ्नो आफ्नो कुरा मा मस्त डुबेका थिए। म कहिले कुन ग्रुप, कहिले कुन ग्रुप गर्दै उनीहरूको र्र्याण्डम कुराहरू सुनिरहे।  त्यतिकै मा हस्याङफस्याङ गर्दै माइक्रोबायो मा म सँग बसेको केटा आयो।  अलिकति हासको झैँ गर्‍यो र मेरो साइड मा बस्न खोज्यो। खासै ठाउँ थिएन त्यही पनि सरेको झैँ गरे। उ साइड मा बस्यो।

म सुनिल , भनेर हात अगाडी बढायो।

म अनुज।

घर कहाँ , कता पढेको, कुन कम्बिनेसन लगायताका कुरा गर्दा गर्दै चिया आयो।  त्रि-चन्द्र पढ्नेहरूले जिन्दगीमा सबै भन्दा धेरै गरेको काम भनेको एउटा हात मिलाउने हो र अर्को कुन कम्बिनेसनको हो? भनेर सोध्ने हो।  त्यस पछि सायद पहाडको घर कहाँ? भन्ने होला। आफ्नो त पहाड तराइ हिमाल सबै घर एउटै  पर्यो।

सुनिलको र मेरो कम्बिनेसन एउटै  रहेछ।  चिया पिइ सकेर हामी प्राण शास्त्रको विभाग तिर लाग्यौ।

प्राणी शास्त्र कक्षाकोठामा त केमेस्ट्रीको भन्दा धेरै कोलाहल थियो।  हामी त अलि ढिलै पुगेको थियौ बस्नलाई त त्यस्तै हो उठ्न लाई धारी ठाउँ थिएन। हतार हतार हामी दुई जना कोठाको अन्त्य तिरै गयौ।  त्यहाँ बाट त के सुनिनु पढाएको।  गुरु आएर कक्षा सुरु गरे पछि केही बेर मा बिस्तारै मान्छेहरू त पातलिँदै गए तर हल्ला भने कम भएन।  हामी बिस्तारै अगाडी सर्‍यौ।  म अगाडी लागेर एउटा सिटमा गएर बसे।

छेउ बाट हाइ भनेको सुने। साइड मा उही झुसिल्किरा आँखीभौँ भएको केटी।

२. त्रि-चन्द्र पुस्तकालय 

केही हप्ता त्यसरी नै बित्यो। त्यही इट्टा बिछाएको बाटोको रमाइलो हिँडाइ।  सरस्वती सदन अगाडी राजनीतिक पार्टीका टेबलहरू।  त्यही गनाउने टोइलेट।  रेडक्रसका भने खासै देखिँदैन थिए।  केमेस्ट्रीको कक्षामा पनि बिस्तारै जनता पातलिँदै गएका थिए।  बिएसी नै पढ्न आएकाहरू मात्र वाकी थिए।  आधा उधी त राजनीतिक पार्टीका हरू केटीहरू जिस्काउन वा को को छन् भनेर हेर्न पस्ने रहेछन्। हरेक दिन जस्तो ५-१० मिनेट बस्थे र उनीहरू निस्किन्थे।  बिस्तारै कक्षाले गति लिँदै थियो। मलाई सबै भन्दा मन परेको कक्षा भने माइक्रो बायो।  अन्य कक्षा भन्दा धेरै नियन्त्रित थियो।  र बुझ्न सजिलो पनि , रमाइलो पनि। कक्षा बिचको खाली समयमा जानको लागि मैले पुस्तकालय भेटी सकेको थिए। विषयगत कुरा खासै पढ्ने मान्छे नभए पनि मलाइ पुस्तक पढ्न भने साह्रै रमाइलो लाग्ने। पुस्तकालयमा जे जे भेटिन्थ्यो म पढेर बस्थे।  र एक हिसाबले त्रिचन्द्रको कोलाहल बाट टाढा बस्नको लागि उपयुक्त ठाउँ त्यही एउटा पुस्तकालय थियो। हल्ला त त्यहाँ पनि अलि अलि हुन्थ्यो। म जति जति आइसोलेटेड भएर एक्लै बस्न प्रयास गर्थे र त्रि-चन्द्रको कोलाहलमा हराउँथे , मलाइ लाग्थ्यो रानीपोखरी मेरो दुर्गतिमा हाँस्थिन। सायद उनी एकान्तमा रमाई रहेकी थिइन।  जुन एकान्त बारे मैले पहिलो दिन प्रश्न गरेको थिए।  अन्त्यमा त्यही एकान्त खोज्दै म दिनहुँ पुस्तकालय धाउँथे।

त्रिचन्द्रको पुस्तकालय यति पुरानो देखिन्थ्यो कि त्यहाँ कुनै भूतको चलचित्र सुट गर्न मिल्थ्यो र दर्शकले त्यो कुनै भूत बङ्गला हुनु पर्छ भनेर सोच्थे पनि होला।  हरेक बिहान टेबलमा काठमाडौँ मा पाइने सबै पत्रिकाहरू त्यहाँ ओछ्याइएको हुन्थ्यो। बिहानको सत्रमा पढ्नेहरूले अलि अलि हेर्न भ्याई सकेकोले गर्दा पत्रिकाको क्रिज बिग्री सकेको हुन्थ्यो।  सबै भन्दा कम कुच्चिएको हुन्थ्यो द हिमालयन टाइम्स।

मलाइ राजनीति मा त्यति बेला धेरै चासो थिएन। म कि त कसै को फिक्सन स्टोरीहरू पढ्थे कि त खेलकुदको समाचार। पुस्तकालयमा अन्य फिक्सन पुस्तकहरू पनि हुने गर्थे। साझा प्रकाशनको त लगभग धेरै जस्तो पुस्तक हुने गर्थे। कहिले भूपीको सङ्ग्रह त कहिले लक्ष्मी प्रसाद देवकोटाको, म दोहोराएरै ती पुस्तकहरू पढी रहन्थे – कसैले, के पागल जस्तो एउटै किताब पढेको पढै गरेको भनेर सोधे म भन्थे

जरुर साथी म पगाल,यस्तै छ मेरो हाल 

तिमि एउटा पुस्तक एक पटक पढ्छौ 

म पटक पटक 

पटक पटक पढ्ने पुस्तकहरू मा त्यस बेला याण्टन चेकवको कथा सङ्ग्रह पनि पर्थ्यो।  त्यस मध्य पनि एकदम मन परेको मा पर्थ्यो “वार्ड नं ६ “! बिबिए पढ्दा एक जना साथीले सिड्नी सेल्डनको फिक्सन सँग परिचय गरिदिए।  त्यस पछि २००७ मा बजारमा भएका सिड्नी सेल्डनको लगभग सबै पुस्तक पढेर सकाइयो। अन्य पुस्तकमा क्याचर इन द राइ , दा भिन्ची कोड जस्ता प्रख्यात पुस्तकहरू पर्थे। विज्ञानका नन फिक्सन पुस्तकहरू त अझै धेरै पढ्ने गर्थे। चार्ल्स डार्विनको ओरिजिन अफ द स्पिसिज , स्टिफ़न हकिंगको  ब्रिफ हिस्ट्री अफ टाइम र रिचर्ड डकिन्सको सेल्फिश जिन त फ़ेब्रेट पुस्तक।  जे होस् पुस्तकहरूको म ठुलो फ्यान थिए।  जे भेटे पनि पढी हाल्ने। प्लस २ को दोस्रो वर्षमा हुँदा कविता पनि लेख्न बानी बसेको थियो , समय समय मा यसो ठेलिरहन्थे।  खासै धेरै सँग शेर त गर्दिन थिए , मिल्ने साथीहरूलाई सुनाउँथे।

मेरो धेरै जसो समय त्यही बित्दै थियो।  सुनिल सङ-संगै अन्य २ ३ जनाको हाम्रो ग्याङ भई सकेको थियो। म भने सके सम्म एक्लै नै हिँड्न बस्न रुचाउँथे।  समय समय मा त ग्याङ मा जम्मा हुने पर्‍यो।    लाइब्रेरीमा नहुँदा हामी कि त चिया पसलमा हुन्थ्यौ कि त बगैँचा मा।  त्रि चन्द्र नपढ्ने तर सुनिल सँग प्लस टु  गर्ने केही साथीहरू पनि दिउसो भेट्न आउँथे र हाम्रो गफ चल्थ्यो।  मलाइ धेरै कुरा बारे त ज्ञान थिएन तर विज्ञान बारे अलि अलि बोल्थे। फिजिक्स , बायोलोजी , नेचर जे बारे भए पनि २-४ जना जम्मा गरेर गफ गर्न सक्थे। सायद पढ्ने बानिले पनि सहयोग गर्यो होला। बिस्तारै कुरा सुन्नेहरूको सङ्ख्या नि बढ्दै गयो।  र हामी बगैँचा बाट सरेर सरस्वती सदन अगाडीको , आन्दोलनमा मात्र खुल्ने ढोकाको छेउको रुखमा बस्न थाल्यौ। जहाँ पहिलो दिन मैले सायद कुनै पार्टीको मान्छेलाई केमेस्ट्री क्लास कहाँ हो भनेर सोधेको थिए।  रुखको ठ्याक्कै मुनि बसेर जीवन जगत्, जिन्दगी, विज्ञान, कहिले काहीँ राजनीति को पनि कुरा चल्थ्यो।  संयोग बस हाम्रो ग्याङमा राजनीति मा चासो भएको वा राजनीति गर्ने कोही पनि थिएन। तर सुनिलको साथीहरूको चिन जान भने नेबिसंघका दाइहरू सँग थियो।

त्रिचन्द्रको रिदम हामीले बिस्तारै समात्दै थियौ। पढाइ मा खासै ध्यान नै नदिए पनि मलाई सधैँ पहिलो बेन्च मै बस्न मन लाग्थ्यो र म अगाडी नै पुगेर पहिलो बेन्च रिजर्भ गरेर बस्थे।  र केही हप्ता त्यो कुरा दोहोरिए पछि ब्ल्याक बोर्ड हेर्दा दाहिने पट्टी पर्ने पहिलो बेन्च हाम्रो लागि खालि नै हुने गर्थ्यो, जति ढिलो पुगे पनि।  कक्षा मा हल्ला गर्ने धेरै नभए पनि पुरै कक्षा लगभग भरिएको नै हुन्थ्यो। एक दिन केमेस्ट्रीको कक्षा चल्दै गर्दा गुरुले ब्ल्याक बोर्डमा एन्थ्याल्पिको कुरा लेख्दै थिए। एक्कासि कक्षाको ढोका खुल्यो।  ढोका बाट ४ जना केटीहरू भित्र पसे। अगाडी आउने ३ जना त खासै याद गरिन।  अन्तिममा आएकी केटी भने ठ्याक्कै याद भयो। पातलो शरीर , पातलो चुल्ठो बाधेको कालो कपाल, गोरो हँसिलो अनुहार र गोला गोला ठुला असाध्य राम्रो आँखा।  सायद ढिलो आएकोले डराएर होला रातो भएका गाला।

मेरो आँखा उनको चाल सँगै सर्दै ब्ल्याक बोर्ड मा ठोकियो।  गुरुले एन्थ्याल्पि डेल्टा एच भनेर लेखेको देखे।

“रिलिज अफ एनेर्जी…..”

त्यस्तै केही भन्दै थिए।  नभन्दै म भित्र भएको एनेर्जी पनि सायद डिसप्लेस भएको थियो वा रिलिज , तर केही न केही त भएको थियो।  उनी सुइँ सुइँ पछाडी गएर बासिन।  अगाडी त सिट नै त खालि थिएन। केवल मेरो बेन्चमा मात्र ठाउँ थियो। तर , त्यो पहिलो बेन्च  थियो।र त्यहाँ बसेको थियो लामो कपाल , लामो दारी भएको एउटा केटा- म!  मेरो त ध्यान नै गुमेको थियो।  अङ्ग्रेजीमा लव याट फर्स्ट साइट भनेको झैँ भएको थियो। नेपालीमा चाही लव याट फर्स्ट साइत  पो हुन्छ कि? आजको दिन उ मेरो अगाडी आउन साइत  जो जुरेको थियो। केही बेरमा त चलचित्रमा देखाइने झैँ उ हिडेको फ्ल्यासब्याक नै आएको झैँ पो हुन थाल्यो।  म त्यो कुरा बिर्सिन प्रयास गर्दै ब्ल्याक बोर्ड तिर ध्यान दिन थाले।  गुरुले एण्ट्रोपि बारे बुझाउँदै थिए।  हैन गुरुले पनि जिस्काउँदै छन् कि झैँ लाग्न थाली सकेको थियो। कतै मेरी जिन्दगीको केओसको कुरा यहाँ मिल्न त गएको छैन? उसलाई देखे पछि त मेरो जिन्दगीको एण्ट्रोपि बढेको झैँ भई सकेको थियो।

म सोच मै डुबिरहेको थिए, गुरुले कक्षा छोडेर गई सकेका रहेछन्। एका एक भएको हल्लाले पो कक्षामा फिर्ता बोलायो।

जिन्दगीमा कोही राम्रो लागेको त्यो पहिलो पटक त थिएन। स्कुल पढ्दा होस् वा प्लस टु  मै।  कोही न कोही त मन परेकै हुन्थ्यो। तर, बोली हाल्ने चाही बानी नै थिएन। त्यसैले उ सँग नि बोलेर खाइन्छ  भन्ने चाही थिएन। तर, मनको घण्टी भने पक्कै पनि बजेको थियो। रानीपोखरी सँग एकान्त को कम्पिटिसन र घण्टाघर सँग घण्टी बजाउने कम्पिटिसन।  मलाइ लाग्यो मा आखिरमा त्रि-चन्द्र सँग राम्रो सँग घुलमिल हुँदै छु।

कक्षा सकेर म पुस्तकालय तिर लागे। सधैँ झैँ सुनसान थियो।  त्यहाँ पनि एउटा प्याटर्न नै थियो, त्यही पुस्तक प्रेमीहरूको भेला हुन्थ्यो।  र कोही कोही भने लोक सेवा वाला।

पार्टी लोक सेवा दिँदै हो ? भन्दै सोध्न आउँथे। म धेरै इन्ट्रेस्ट नदेखाई होइन भनेर टार्थे।  लोक सेवा त मेरो राडार मै थिएन त्यति बेला। कहिले काहीँ त लाग्थ्यो लोक सेवा होइन भोक सेवा हो, ज्ञान को भोक भनिदिऊ  ।  तर भनिन।  पार्टी भन्दै आउने कसैलाई चिन्दिन थिए म।

पुस्तकालयमा पनि मेरो आफ्नै एउटा सिट थियो।  सधैँ झैँ त्यही गएर बसे। र पत्रिका बाट सुरु गरे।  पुस्तकलाई भने समय थिएन, ३ बजेको जुलोजीको प्र्याकटिकल गर्न पर्ने थियो।  सरर खेलकुदको समाचार पढ्दै थिए।  साइड बाट हाइ भनेको सुने। परिचित आवाज थियो तर ठ्याक्कै ठम्याउन भने सकिन।  पछाडि फर्किएर हेर्दा , कान सम्मै ओठले छुने पो हो कि  झैँ गरेर मुस्कुराई रहेकी थिइन् झुसिल्किरा वाला आँखीभौँ  भएकी केटी।

मैले हाइ फिर्ता गर्न नपाइ उ मेरो साइड मा आएर बसी।

के पढिरहेको ?

यतिकै।

कस्तो हो यतिकै भनेको? उनले सोधिन !

त्यसमा के उत्तर दिनु मैले? मन नलागी नलागी खेलकुद भनेर सुनाए।

हो? तिमि के खेलकुद हेर्छौ ?

ह्या फेरी उत्तर दिनु पर्ने भयो सोच्दै थिए।

उसले एक्कासि मेरो कुरा काट्दै सोधी , तिमीले जुलोजीको प्र्याक्टीकल गरिरहेको छौ?

अलि अलि भनेर मा पत्रिका पढेको झैँ गर्न थाले।

आजको गरेको छौ?

अह छैन। अब एक छिनमा गर्ने।

सँगै गरौँ न  हुन्छ? मलाई पनि आउँदैन के के गर्ने।

मन मनै सोचे, कस्तो के के गर्ने हो र, चित्र हेर्ने बनाउने , क्यारेक्टरस्टीक लेख्ने। त्यो नि सँगै गर्न पर्छ र?

मैले उत्तर दिइन। गल्फको युयस ओपनमा साह्रै चासो राखेको जस्तो गरी युयस ओपन बारे पढ्न थाले।

बिन बुलाए मेहमान भने झैँ उनी आफ्नो ब्याग बाट जुलोजीको फाइल र पुस्तक निकालेर चित्र कोर्न थालिन।

मन नलागी नलागी गल्फको कहानी पढेर सके। एक्लै त बस्न पाइन्छ जस्तो नलागे पछि म पनि आफ्नो फाइल झिकेर काम गर्न तिर लागे।

तिम्रो नाम चाही के हो खास मा? उसले सोधी

अनुज।

ओहो भाइ !

ह? मैले अचम्म मानेर उ तिर हेर्दा हेर्दै आफैले महसुस गरे….र , अ! भनेर फेरी फाइल तिर लागे।

मैले धेरै बेर सम्म केही नसोधे पछि उसले मेरो नाम चाही …. भनेर सुनाइन। म खासमा नर्सिङको लागि प्रिपेर गर्दै छु, त्यो बेला सम्म यता आएको। तिमि पनि केही कुरालाई प्रिपेर गरिरहेको हो? कि बिएससी नै पढ्न आएको?

प्रिपेर त म त्यो टेबल छोडेर हिँड्न गरिरहेको थिए, तर म सँग अरू अप्सन पनि त थिएन। कहाँ बसेर गर्नु ?

त्यसैले चुप लागेर होइन,  बिएससी नै गर्न हो! भने

ओहो कस्तो राम्रो , धेरै मान्छे त यतिकै आउँछन् यहाँ।

जुन कुरा ठिक पनि थियो। दसैँ अगाडीको असनको गल्ली झैँ हुने कक्षाहरू आज भोलि लगभग नवमीको दिनको काठमाडौँ झैँ हुन थाली सकेको थियो। जुलोजी को क्लास बाहेक ।

सबै डाक्टर , इन्जिनियर, नर्स बन्न आउने हरूले भरिएको रहेछ। बिएससी नै पढ्न भनेर बस्ने त हामी फाट्टफुट्ट  केही थियौ।  एक्कासि मलाइ बिहानको कक्षाको केटी याद आयो।  उ पनि पक्कै केही पढ्नलाई प्रिपेर गरिरहेकी होली , १ २ महिना मा जान्छे।  चिन्नु न जान्नु, देखेको पनि १० सेकेन्डलाई छुस्स , त्यही पनि मन भने कता कता खिन्न पो भयो। उ बसे नै पनि मैले न बोल्नु न केही गर्नु। सपनाको सागरमा तैरिनु अगाडी नै म पुस्तकालयमा रहेको लाइट हाउस झैँ सूचना दिई रहेको मान्छे तिर फर्के। उ अझै बोली रहेकी थी। उसले आफ्नो घर कहाँ , प्लस टु कहाँ पढेको सबै भनेर भ्याई सकेको थिए।  त्यति बेला म सपनाको सागरमा क्षितिज परि पुगी सकेको डुङ्गा खोज्दै थिए, जुन सायद एक पलको लागि देखिएको थियो र सायदै अरू कुनै दिन देखिन्थ्यो पनि।

तिम्रो चाही घर कहाँ हो?

मेरो यही काठमाडौँ हो।

ए , ब्रोइलर पो हौ तिमि?

मलाइ झनक्क रिस उठ्यो।  तर केही भनिन।  यसै त बोल्न मन थिएन झन् आफूलाई ब्रोइलर पो भनी!

मैले नसुनेको झैँ गरेर चित्र कोर्न तिर लागे।

तिमीले किन बिएससी पढेको? के मेजर लिन्छौ थर्ड एरमा? के बन्ने भोलि पर्सि? टिचर नै बन्ने हो? बिएससी पढ्ने त सबै टिचर मात्र हुन्छ भन्छन्।

कुनै युद्धको चलचित्रमा बङ्कर भित्र लुकेर लगातार गोली चलाए झैँ उनी म तिर प्रश्न चलाएको चलाई थिइन। म भने ट्रेन्च भित्र लुकेर उनको गोली बाट बच्न सक्दो प्रयास गर्दै थिए।  युद्ध भने सकिने नामै लिँदैन थियो।

टिचर त तिमि पो बन्न पर्ने जस्तो छ त, कति प्रश्न सोध्न सकेको भन्न मन थियो तर भन्न सकिन।

म चित्र तिरै लागे, उनी चित्र बनाउँदै कुरा गरेको गरे थिइन।

४५ मिनेट को ब्रेकमा चित्र बनाउँछु सोचेको , आधा उधी सक्न नपाइ माइक्रो बायो को क्लास सुरु हुने समय आइ सकेको थियो।

ठाडो भाषा गरेर , क्लास जानु छ भन्दै म जुरुक्क उठेर हिँडे। उनी पनि सङ-संगै समान ब्यागमा हाल्न पनि नभ्याउने गरी मेरो पछि पछि लागिन।  मेरो हिँडाइको गति समाउन उनी कुद्ने पर्ने थियो।  एक हातमा जुलोजीको फाइल अर्को मा ब्याग बोकेर उनी मेरो गति समाउन प्रयास गरी रहिन। म आफ्नै गति मै हिंडी  रहे।

हिँडेको हो कि कुदेको ? पछाडि बाट आवाज आयो

मेरो नर्मल हिँडाइ नै यस्तै छ।

अरूको लागि बिस्तारै हिँड्न सकिन्न र?

फेरी कता कता रिस उठ्यो। म सँग हिँड भनेको छ र तिमीलाई भन्न मन थियो।  त्यस्तो रुखो त म थिइन।

केही भनिन, तर बिस्तारै पनि हिँडिन। उल्टै अलि कति चाँडो हिँडे। सम्म बाटो मै मलाइ पछ्याउन नसक्नेले झन् भ्याङ्गमा त के सक्नु।  म तेस्रो तल्ला पुग्दा उनी पहिलो सकेर दोस्रो तिर लाग्दै थिइन्। म कक्षा भित्र पसे र आफ्नो सिट मा बसे।

बिन बुलाए मेहेमान झैँ उनी फेरी मेरो सिटमा आएर बासिन।

३. इगो भर्सेस अभाव 

बिएससीको रस बिस्तारै बस्दै थियो।  केमेस्ट्री मनै नपर्ने, जुलोजीमा धेरै चित्र बनाउन लगाउने। माइक्रो बायो तुलनात्मक रूपमा सजिलो। माइक्रो बायो बिस्तारै मेरो लागि फ़ेब्रेट विषय बन्दै थियो।  त्यति मात्र नभएर कता कता म लम्फूको मस्तिष्कमा माइक्रोबायोको लागि सफ्ट स्पट थियो।  कारण – केमेस्ट्री क्लासमा ढिलो आएकी त्यो केटी।

कुनै पनि मान्छे राम्रो नराम्रो भन्ने कुरा त उसको मुहार वा बनावटले निर्धारण गर्ने कुरा होइन। तर, पहिलो पटक देखेको भर मा कोही मन पर्ने नपर्ने वा सुपरफिसियल रूपमा मन पर्ने कुरा भने पक्कै त्यही कुरा वरपर घुम्छ। झनै एउटा टिनेजरको दिमाग। साँचै भन्न पर्दा त जो देखे पनि राम्रो लाग्ने।   र म पनि त्यही कुराको आधारमा  फनफनी घुमी रहेको थिए। उनी राम्री नै थिइन्। र सबैको ध्यान पनि उनी तिरै आकर्षण भएको नै थियो। सायद त्यसैले गर्दा हो कि धेरै हल्ला हुने वा मान्छे जम्मा हुने केमेस्ट्री वा जुलोजी क्लासमा उनी आउँदिन थिइन। उनिलाई मात्र माइक्रो बायो मा भेटिन्थ्यो।  तर, जब देखि उनी माइक्रो बायो आउन थालेको थिइन। माइक्रोमा पनि विद्यार्थी को सङ्ख्या बढ्दै गएको थियो।

केमेस्ट्री गर्ल म भन्दा ठ्याक्कै देब्रे पट्टीको बेन्चमा बस्थिन पहिलो बेन्च मै। बजारमा सुनेको हल्ला अनुसार उनी चाही साँचीकै  को पढन्ते भएर पहिलो बेन्चमा  बसेको रे ।म जस्तो होइन।

भित्तामा पढाएको हेर्दै गर्दा कहिले काहीँ यसो देब्रे तिर आँखा घुमाउँदा उनी एकटक का साथ गुरुले लेखेको वा भनिरहेको कुरामा ध्यान दिई रहेको हुन्थिन।  कहिले काहीँ भने आफ्नो साथीहरू सँग कुरा गरेर बसिरहेको। कहिले मुसुक्क मुस्कुराई रहेको हुन्थिन। र त्यहि कहिले काहीँ देखिने उनको मुस्कुराहटले लामो समय सम्म पानी परेर खुलेको आकाशको झैँ झझल्को दिन्थ्यो। कति मिठो हाँसो , लजाएर रातो भएको त्यो पुक्क परेको गाला पनि कति राम्रो। त्यो हाँसो देखेर मलाई सेक्सपियर को सोनेट याद आउँथ्यो : श्याल आइ कम्पेर दि टु अ समर्स डे……   दुःखको कुरा मेरो जिन्दगी इङ्गल्यान्ड झैँ भएको थियो। बादल धेरै लाग्थ्यो , घाम लागेको कहिले काहीँ देखिन्थ्यो। र वास्तविक इङ्गल्यान्ड झैँ त्यो मुस्कुराहट, त्यो मुस्कुराउने मान्छे म भन्दा धेरै पर थियो।

कक्षामा पूर्ण रूपले ध्यान दिएर बसेको झैँ देखिन्थे म सायद त्यसैले झुकिएर होला झुसिल्किरा आँखीभौँ भएको केटीले मलाइ तिमि ले बुझिरहेको छौ? भनेर सोधिन।

क्रेब्स साइकल बारे पढाउँदै थिए माइक्रोबायोको थोरै मध्य एक पुरुष गुरु। यो चाहिँ प्लस टु मै पढेको कुरा र त्यही बेला रमाइलो लागेकोले अलि अलि मन पनि पर्ने टपिक थियो र कता कता बुझेको पनि। मैले अलि अलि बुझी रहेको छु भनेर उसलाई सुनाए।

मलाइ सिकाइदेऊ ल? यो सरले भनेको त मैले केही बुझ्दिन, उनले भनिन। खासै प्रतिक्रिया नदिएर म फेरी लेक्चर तिर फर्के।  छड्के आँखा लगाएर देब्रे तिर हेरे, केमेस्ट्री गर्ल एक टकले लेक्चरमा ध्यान दिई रहेकी थिइन्।  सायद बुझी पनि रहेकी होलिन्।  कक्षा सकिए पछि गएर , तिमीले बुझेको छौ? मलाइ पनि बुझाइदेऊ न भनौँ झैँ लागि रहेको थियो। त्यति भन्ने आट त कहाँ बाट आउनु।  आफै बुझ्न पर्ने टेन्सन थियो , त्यस माथि बुझाउन पर्ने अर्को एक जना थपिएको थियो। मैले त बुझ्ने पर्ने प्रेसर पो थियो त।  टेन्सन परे झैँ टाउको कनाएर म फेरी लेक्चर तिरै लागे।

कक्षा सकिन नपाइ हतार हतार सबै तितरबितर भए।  केमेस्ट्री गर्ल त कहाँ पुगिन पुगिन।

म पनि चिया पसल तिर लागे। फटाफट  चिया डोनट खाएर पुस्तकालय बसेर जुलोजीको चित्र बनाउनु पर्ने जो थियो।

रानीथाकल को रुख पुग्न नपाइ पछाडि बाट हस्याङफस्याङ  गर्दै आएको झुसिल्किरा आँखीभौँ भएको केटीले मलाई बोलाइन ।

खाजा खान जान लागेको हो? म पनि आऊ तिमि सँग?

होइन नआऊ म सँग त कसरी भन्नु ? म त फसे।

सायद त्यही कुरा मैले उसलाई सोधेको भए उसले किन आउने? नआऊ म सँग भन्दा त्यस्तो अनौठो महसुस हुन्न थियो होला। केटाले केटी लाई सोध्ने र केटीले केटा लाई सोध्ने प्रश्न र प्रक्रियामा नि फरक पर्ने रहेछ।  हुन त मैले पनि नाइँ त भन्न सक्थे।  तर , त्यस बेला भने सकिन।  आखिरमा उसले गरेको नै के हो र? साथीको रूप मा खाजा खान जाऊ न भनेको हो।  मैले सधैँ झैँ केही प्रतिक्रिया दिइन।  त्यति खेर सम्म उसले बुझी सकेको थिइन- यसले केही भन्दैन तर नाइँ नि भन्दैन।  सायद उनी सोच्थिन, जति खडुस छ त्यति देखिँदैन।

केमेस्ट्रिको बिल्डिङ कटेर गनाउने टोइलेट अगाडी पुग्न साथ मैले रुख मुनि मेरा ग्याङ का केटाहरू बसेको देखे। बिचमा खोइ को थियो , तर बाँकी केटाहरू त्यही मान्छे लाई घेरेर कुरा सुन्दै थिए।  म भन्दा ढिलो नै हिँड्ने भए पनि उनी सकी नसकी म सँग सँगै हिँड्न खोज्दै थिइन्। मान्छेले देखे त यी दुई सँगै हिँडेको हुन् झैँ लाग्थ्यो होला। एक छिन तनाव भयो , केटाहरू ले देख्ने पो हो कि? म अझै छिटो हिँड्न थाले। सरस्वती सदनको बिल्डिङ नि टर्न  गर्न नपाइ खै कसले हो देखि हाल्यो।

गुरु भनेको सुने।  परेन फसाद।

पछाडि फर्केर हेरे।  ग्याङ का सबै म तिर हेर्दै थिए। म त्यतै तिर लागे।  सबैले के छ हौ कता गायब आजकल भने। मैले उत्तर दिन खोज्दै थिए , सबै ले म बाट ध्यान झिकेर मेरो पछाडि हेरे।

उनी ठ्याक्कै मेरो पछाडि उभिएको थिइन्।  एउटा हातमा ब्याग र अर्को मा जुलोजीको फाइल बोकेर।

म त नर्भस भए।  हुन त के नै भएको थियो र? र्याण्डम मान्छे नै आएको पनि त हुन सक्छ।  केटाहरूले त्यसरी त के बुझ्थे।   पक्कै पनि के के सोच्न भ्याई सके।  मेरो मनमा आएको आँधीबेहरीले गर्दा कन्भरसेसन धेरै मिस गरे।  उसले आफ्नो नाम थर, घर र त्रिचन्द्रको स्टेपल प्रश्न कुन “कम्बिनेसन” हो भनेर पनि बताउन भ्याई  सकेको थिइन्।

अनि गुरु कहाँ गायब भएको धेरै पछि देखियो त।

गुरु ? उसले सोधिन।

लौ नाम त थाहा छैन रहेछ, विकासले हाँस्दै भन्यो।

प्रतीकात्मक रूपमा अलि कति झनक्क भएर उसले “थाहा छ थाहा छ ” भनिन।

गुरु चाही किन भनेको भनेर सोधेको हो।

गुरुको लीला नै देखेको छैन रहेछ त्यसैले भन्दै केटाहरू हाँसे।

के लीला ? कस्तो लीला? के सोचिन होला उनले।  हुन त फरक नै के पर्थ्यो र त्यही पनि मलाइ असहज भयो।

हामी सबैलाई ज्ञान गुण का कुरा सुनाउने भएर गुरु हो नाम।

गुरु भन्दा नि गुरु भाइ ठिक होला नि अनुज जी को लागि त शुभ नाम।   उनले म तिर हेर्दै मुस्कुराएर  भनिन ।

सायद कसैले नि ध्यान दिएको थिएनन् संस्कृतमा अनुज भन्नाले भाइ जनाउँछ भनेर।

ओहो! बल्ल पुरा भयो नाम।  गुरु भाइ !

४.  गुरु भाइ

केही हप्ता अगाडी केटाहरू संग चिनजान भए सँगै उनी पनि हाम्रै ग्रुपमा सामेल हुन थाली सकेको थिइन।  सुरु सुरु मा त ग्रुप कै सबै सँगै पनि हुँदैन थिए।  खाजा खाने बेला वा त्यस्तै केही ब्रेक मा सँगै हुन्थे। बिहान पख भने धेरै केटाहरू आएको हुँदैन थिए। म भने सधैँ नियमित विद्यार्थी।  बिबिए पढ्दा धरी १०७ दिन मा १०७ दिन उपस्थित भएर कक्षाको रेकर्ड राखेको मान्छे। पढ्न मन नलागे पनि  मलाइ कक्षाकोठा र कलेज भने रमाइलो लाग्ने। त्रिचन्द्रको त आफ्नै मिठास थियो।

एक्लै एक्लै बस्न रमाउने म , बिस्तारै ग्रुप मा घुलमिल हुन थाली सकेको थिए।  कता कता एक्लै हुन पो गाह्रो भई सकेको झैँ महसुस हुन्थ्यो।  एक दिन केमेस्ट्री बिल्डिङको छतमा अडेस लगाएर खालिद होसेनीको थाउजेण्ड स्प्लेण्डिड सन्स पढ्दै थिए।  केमेस्ट्री गर्ल आफ्नो ग्याङ सँग त्यही आइ पुगिन। उनको ग्याङमा सधैँ ४ जना हुन्थे त्यस दिन भने उनी र अर्को एक जना मात्र थिए।  उनीहरू ठ्याक्कै म बसेको ठाउँ को अगाडी पट्टी बसेर गफ गर्दै थिए।  दिल खोलेर हाँसिरहेको थिइन्  उनी। म पुस्तक पढेको झैँ गर्दै उसलाई हेर्न व्यस्त थिए।  कता कता उसले पनि म तिर हेरेको हो कि झैँ लागेको थियो।  केही हप्ता अगाडी त माइक्रो बायो ल्याब मा हाम्रो बाटो क्रस हुँदा उनी हासेको पनि थिइन। त्यो कक्षामा नियमित विद्यार्थी मा नै पर्थे म, मलाइ याद नै नगरेको त पक्कै नि होइन होला जस्तो लाग्थ्यो।  महिनौँ दिन भई सक्दा पनि म बोलेको भने  थिइन।  आट आए पो बोल्नु। किताबको पन्ना बाट चोर ले दाउ लगाएको झैँ गरी म छिनछिन मा उनी तिर हेर्थे।   एक चोटि याद गरिछिन, कता कता रिसाएको झैँ गरी हेरेको जस्तो लाग्यो। डरले सातो पुत्लो उड्यो।  किताबले अनुहार लुकाए।केहि बेर पछि  किताब तल राखेर अगाडी हेर्दा उनीहरू गई सकेका थिए।  मेरो मुटु भने रेडक्रसको बिल्डिङ पछाडि राखिएको जेनरेटर भन्दा द्रुत  गतिमा कुदी रहेको थियो।  कहिले काहीँ लाग्थ्यो गएर बोल्छु।  तर, नजिकै पुगे पछि भने मुटु यस्तो द्रुत गतिमा दौडिन्थ्यो कि अझै केही बेर दौडिन थिए फेल नै खान्छ। मेरो अस्तित्व छ भनेर देखाउन को लागि पनि म सँग त केही थिएन।  सायद प्राइभेट कलेजको स-साना कोठामा भए यो कुरा सजिलो हुन्थ्यो होला। सायद गुरुले कक्षा मा केही सोधेको उत्तर दिएर हुन्छ वा प्रयाक्टीकलमा केही गरेर, उनको ध्यानाकर्षण गर्न पर्ने थियो।  डिस्कभरी च्यानलमा भाले चराले पोथी चरालाई फकाउन नाचेको झैँ नाच्न पनि आउँदैन थियो वा गीत गाउन।  कविता अलि अलि लेख्न आउँथ्यो तर बोल्न त नसक्ने मैले कविता कसरी सुनाउनु ? इम्प्रेस गर्ने वातावरण नै थिएन। त्यही केमेस्ट्रीको बिल्डिङ को छत मा बरु नियमित रूपमा एउटा भाले परेवा आफ्नो घाटी  फुलाएर पोथीको पछि पछि घुर घुर गर्दै हिँडी रहन्थ्यो।  त्यसैको सफल प्रेम कथा मा चित्त बुझाउन परेको थियो।

मुटुको ढुक ढुकी बिस्तारै कम हुँदै थियो। एक्कासि पछाडि बाट “ओइ गुरु भाइ” भनेको सुने।  फेरी एक छिन सातो गयो।

पछाडि फर्केर हेरे। रिस को झोक मा ओइ झुसिल्किरा भनौँ झैँ लागेको थियो।  के आट आउँथ्यो र।  आँखा तरेको झैँ गरे।  त्यतिकैमा उ भन्दा पछाडि दुई जना हासेको देखे। केमेस्ट्री गल र उसको साथी! उसको साथीले त झन् “गुरु भाइ रे” भनेको पनि सुने। मेरो मन खङ्ग्रङ्गे भयो।

कति पढ्छौ  यार तिमि कहिले काहीँ त रमाइलो नि गर न भन्दै उनी म नजिकै आएर बसिन।

सँगै ! टाँसिएर !

केमेस्ट्री गर्ल सँगको केमेस्ट्री त सुरु नै नहुँदै एक्सपाएर होला झैँ तनाव भयो।  उनिले मेरो किताब खोसिन र बन्द गरिदिन।  फेरी रिस उठ्यो।  तर गर्नु के! कहिले काहीँ त लाग्थ्यो उनी त्रिचन्द्र आएकै मलाइ रिस उठाउन थियो। उनको हात बाट पुस्तक खोसेर मैले आफ्नो ब्याग मा हाले, साइड मा हेर्दा केमेस्ट्री गर्ल त गई सकेको रहेछिन्।

के सोचिन होला उनले ? हामी दुई जिस्केको, बोलेको देखिन होला? कतै हामी बिच केही छ सोचेको त होइन? हुने त केही थिएन त्यही पनि मलाइ कोही केटी सँग देखे पछि हामी बिच केही भएको सोचिन कि भनेर फेरी दिमाग रन्थनियो।

के सोच्न थाल्यो यो भाइ फेरी।  उनी जिस्किन !

जाम हिँड चिया खाऊ, फेरी माइक्रो प्र्याकटिकल नि जान छ। छिटो गएर हिजो को स्याम्पल आफैले झिक्न पर्ने हुन्छ आज।

माइक्रोको ल्याब पुग्दा हामी भन्दा अगाडी केमेस्ट्री गर्ल र उसको साथी पुगी सकेका रहेछन्।  मलाई देख्न नपाई उनीहरू हासेको झैँ लाग्यो।  सायद संयोग थियो वा गुरु भाइ भनेको कारण हासेको थिए त्यो त म कसरी जान्नु।  म सधैँ झैँ आफू बस्ने सिट तिर लागे। धन्न केमेस्ट्री गर्ल र मेरो नाम उही अक्षर बाट आउने भएकोले हामी ल्याब मा सँगै हुन्थ्यौ।  झुसिल्किरा आँखीभौँको नाम पनि उही अक्षर बाट ! कस्तो संयोग।

प्र्याकटिकल सुरु भयो।  गुरुले एक एक गर्दै सबैलाई आफ्नो आफ्नो पेट्रीडीस  इङ्क्युबेटर बाट झिक्न लगाए। झिक्दै गुरुलाई देखाउँदै।  मेरो पालो आयो र म अगाडी गए , इङ्क्युबेटर बाट आफ्नो स्याम्पल निकाले। पेट्रीडीस मा त कल्चरको नाममा केही पनि ग्रो  गरेको छैन।

इनोकुलेट नै गर्न बिर्से छु! परेन फसाद?

खै त? केही छैन त! के बिर्सिनु भयो? गुरुले सोधे।

इनोकुलेट गर्ने बिर्सेछु सर।

एक्कासि पुरै क्लास गलल हाँस्यो।  सायद केमेस्ट्री गर्ल पनि हाँसिन , म भने गुरु तिर फर्किएको थिए र देखिन। बिल्लै  भयो।

म चुप लागेर आफ्नो सिट तिर फर्के।  छड्के आँखा लगाएर केमेस्ट्री गर्ल तिर हेरे। उनी आफ्नै काम मा व्यस्त देखिन्थिन।

हाहा गुरु भाइ , तिमि पनि लास्टै छौ! मेरो लागेको भए हुने रहेछ तिमि ले।

किन गर्नु नि त्यस्तो ? तिम्रो बिल्ला हुन्थ्यो अनि।

बिल्ला भएर केही हुन्न के, तिमि कहिले काहीँ धेरै सिरियस हुन्छौ।  कहिले काहीँ रमाइलो गर्न नि सिक के। मलाइ त बाल हो।  यो विषय पढिरहने पनि होइन। नर्सिङ मा नाम निस्कियोस  म त त्यतै गई हाल्छु।  तिमि पो हो त गुरु भाइ मास्टर साप।  हाहाहाहा

मलाइ फेरी रिस उठ्यो।  तर केही भनिन ! मलाई बानी परि सकेको थियो।  उनको सिल्लीपन को , उनको रिस उठाउने बानी को। कता कता मनको कुनै कुना मा भने अलि अलि चिसो भयो।  “म त गई हाल्छु ” भनेको सुनेर। नजानी नजानी मलाइ उनको बानी बसी सकेको थियो। म जति एक्लो भएर बस्न खोजे पनि उनी नजिकै हुँदा अर्कै प्रकारको रमाइलो भने हुन्थ्यो।  अचम्मको थिइन उनी।  फुल अफ लाइफ।

५. गुरु भाइ को लव पर्‍यो ! 

माइक्रो बायो मा बिल्ला भएको पनि महिनौँ दिन बिती  सकेको थियो।  केमेस्ट्री गर्ल पनि खासै देखिन छोडी सकेको थिइन।

केमेस्ट्री क्लास पछिको ब्रेक चाही कि चिया पिउने ब्रेक हुन्थ्यो कि रुख मुनिको प्रवचन।  प्रवचनमा बिस्तारै टोली पनि ठुलो हुँदै गई सकेको थियो। म आफूलाई नै आफू हावा लाग्थ्यो र त्यही हावाको कुरा सुनेर बस्ने अरू झनै हावा झैँ लाग्थ्यो।  तर, खै किन हो सुन्ने चाही हुन्थे। कुरा पनी लन्डन देखि टोकियो सम्म को हुन्थ्यो तर धेरै जसो विज्ञान सँग जोडिएको।

एक दिन हर्मोनहरूको कुरा गर्दै जाँदा उनले मलाइ अक्सिटोसिन को बारे सोधिन। मैले आफूलाई थाहा भएको उनिलाई र वर पर हुने सबैलाई सुनाए।

कुरा सकिन नपाइ उनीले मलाइ सबै कुरा विज्ञान हुँदैन है गुरु जी भनेर नमस्ते गरेर हिँडिन।

मैले सायद त्यस बाट केही बुझ्न पर्ने थियो , बुझिन।  म फेरी आफ्नो प्रवचनमा फर्किए।

उनी सँग मेरो भेट सिधै जुलोजीको क्लासमा भयो। म क्लास पुग्न अगाडी नै उनिले मेरो सिट ओगटेर बसी सकेको थिइन। त्यो सिट नै लगभग मेरो वा “हाम्रो ” भई सकेको थियो।  नजानेर , नचाहेर पनि हामी सधैँ सँगै हुन्थ्यौ। नचाहेर भन्नु त मेरो नाटक पन मात्र थियो। मात्र नचाएको जस्तो गर्नु परेको थियो।  वाकी त उनको सबै कुरा मेरो बानी भई सकेको थियो।  केही दिनको लागि उनी आफ्नो घर गए त्रि चन्द्र नै शून्य हुन्थ्यो। जमल , रत्नपार्क वरपर को हल्ला जति नै किन नआओस्  उनी नहुँदा त सबै कुरा शून्य झैँ हुन्थ्यो।  र उनी हुँदा जमल,  रत्नपार्क, त्रिचन्द्रको हल्ला सबै शान्त हुन्थ्यो। मात्र उनको आवाज गुन्जिन्थ्यो।

एक दिन हामी क्लास बाट फर्केर पुस्तकालय तिर जाँदै थियौ।  दुई जना केटाहरू रुख मुनि बसिरहेका रहेछन्।  मलाइ देखेर हात हल्लाए र म उनीहरू भए तिर गए।

के छ , कसो छ सकिन नपाइ एउटा ले “के हो गुरु भाइ , बजार मा त एउटा हल्ला छ त ” भनेर सुनाए।

म कन्फ्युज्ड भए र के हल्ला भनेर सोधे।

गुरु भाइको लव परेको छ रे भन्ने चर्चा छ त मार्केट मा!

म अक न बक भए।  ह्या कसले सुनायो नचाइने कुरा ? भन्दै मात्र थिए, उनी साइडमा हासेको वा मुस्कुराई रहेको देखे।  नचाइने कुरा भनेर कुरा टाल टुल  पारेर हामी निस्क्यौ।

उने चुपचाप  हिँडिन त्यो दिन।हामी पुस्तकालय पुग्यौ , आफ्नो आफ्नो जुलोजीको नोट बुक झिक्यौ र लेख्न थाल्यौ।  केही बेर को लेखाइ पछि सायद उनलाई अल्छी लागेछ कि कसो , उनिले आफ्नो टाउको मेरो काँधमा राखिन र विश्राम गरेको झैँ गरिन। त्यो सम्भवतः हामी बिचको पहिलो  स्पर्श थियो। एकाएक अक्सिटोसिनको सर्ज भए झैँ शरीर मा भिन्न प्रकारको अनुभूति आयो। मुटु पनि ढुक ढुक गर्‍यो।के गर्नु के नगर्नु झैँ भयो।  मैले बिस्तारै आफ्नो टाउको घुमाएर उनी तिर हेर्न खोजे। उनको टाउको ठ्याक्कै मेरो नाक मा पर्‍यो र उनको कपालको मिठो वासना मेरो नाक सँग ठोकिएर सिधै मुटु मा गयो। र कुनै कुना मा गएर लुक्यो। र ढुकढुकी पनि अझै बढ्यो।

न टाउको हटाउनु न राख्नु हुँदै थियो।  त्यतिकै मा पुस्तकालयको ढोका बाट केमेस्ट्री गर्ल आएको देखे।  उ सिधै हामी भए तिरै आउँदै थिइन , त्यति मात्र होइन, उसले म तिर हेरी र मुस्कुराई पनि।  मैले हत्तपत्त उसको टाउको आफ्नो काँध बाट हटाए।  उनले आँखा खोलिन र के भयो? भने सोधिन। मैले केही होइन, अब निस्किन पर्छ भनेर कुरा टारे।  त्यतिकै मा उनले आँखा घुमाएर हेरिन र केही बुझेको झैँ गरेर आफ्नो नोट बुक प्याक गर्न थालिन।  त्यस पछि त्यो दिन हामी बिच खासै धेरै कुरा भएन।

बेलका घर फर्किने बेला फेरी केटाहरू को ग्याङ भेट भयो।  र फेरी त्यही कुरा निस्किन्छ  कि भन्ने मलाइ डर थियो।

केही बेर कुरा हुन नपाइ , म आज अलि हतार छ छिटो निस्किन्छु भनेर सुनाउँदै थिए, पछाडि बाट अरू केटाहरू आए र फेरी त्यही कुरा दोहोराए।  के हो गुरुलाई लव परेको छ रे भन्ने हल्ला छ त।

भाउजू राम्री छिन जे होस्! कहिले हो त पार्टी? सेकुवा हान्न पर्छ है।

उनीले के बुझिन थाहा छैन तर चुपचाप  सुनिरहेको थिइन।  त्यतिकै मा एउटा केटाले इशारा गर्‍यो र भन्यो। ओहो आइन है आइन भाउजू आइन।

मैले पछाडि फर्किएर हेरे।  केमेस्ट्री गर्ल र उसको साथी हामी तिरै आउँदै थिए।  मुटु ढुक ढुक गर्‍यो।  अनुहार कालो निलो भयो।  के भन्ने के नभन्ने। खै कसले हो त प्याच्च “भाउजू” भनेर कराउन पनि भ्यायो।

ह्या मुला के गरेको भनेर मैले कराए। म जति हावा मान्छे भए पनि म केटीहरू लाई जिस्काउने पक्षमा कहिले थिइन्।  र मलाई मन पनि पर्थेन त्यसैले पनि जुन पाए त्यही ग्रुप सँग बस्दिन थिए।  आफ्नै ग्रुप बाट त्यो अपेक्षा थिएन। उनिले त पक्कै पनि सुनिन , सधैँ मुस्कुराउने अनुहारमा एउटा अर्कै प्रकारको रिस देखे मैले। कता कता रिसाएको झैँ अनुहार लगाएर हामी तिर हेरिन।    उनिले बुझिन बुझिनन् त्यो कुरा म सँग जोडिएको थियो भनेर। तर त्यो जिस्काउने ग्याङमा म जोडिएको त उनीले देखि सकेको थिइन। रहे बचेको रिप्युटेसन पनि गयो।  हुन त केही हुने वाला थिएन।

त्यही गजागोल बिच हामी त केटै केटा मात्र वाकी भई सकेको रहेछौ। मेरो साइड मै भएको उनी त कति बेला निस्की सकिछिन।

६. गुरुभाइ बाइ बाइ 

केही दिन सम्मै मलाइ नराम्रो लागि रह्यो। माइक्रो बायो को क्लासमा पनि म पछाडि गएर बसे।  अगाडी बस्न त अप्ठ्यारो लाग्यो।  केमेस्ट्री गर्ल छ छैन भनेर याद नि गरिन।  त्रि चन्द्र शान्त भएको थियो।  झुसिल्किरा आँखीभौँ भने आएकी थिइनन्।  केही दिन नै भई सकेको थियो।  वा आएको थिइन् तर मलाई अभोइड गरिरहेको थिइन। म आफ्नै रुटिन अनुसार बिहान क्लास अनि पुस्तकालय अनि चिया पसल र बाँकी क्लास अनि प्र्याकटिकलमा व्यस्त हुँदै गए। बिस्तारै एक्लो पन नै मेरो साथी भएको थियो।  साइमन याण्ड गारफंकल को कविता झैँ “हेलो डार्कनेस माइ ओल्ड फ्रेन्ड ” भने झैँ हेलो लोंलिनेस भन्ने झैँ अवस्था थियो।  जुलोजीको बरन्डा मा बसेर फेरी त्यही एक्लो रानी पोखरी सँग कहिले काहीँ भलाकुसारी गर्थे। मैले बोलेको उनले नबुझ्ने उनले यदि फिर्ता बोलेको भए मैले नबुझ्ने। तर लाग्थ्यो हामीले एक अर्काको एकान्तपन बुझेको छौ। बसाइ सराइ गर्न हिँडेका केही चराहरूले साथ दिन कहिले काहीँ पोखरी मा रोकिए झैँ त्रि-चन्द्रमा केही समयको लागि आएका मान्छेहरू मेरो साथ मा  थिए।  धेरै ले त बसाइ सराइ गरी सकेका पनि थिए।  उनीहरू आउँथे जान्थे।   साथी सङ्गी सबै इफिमेरल हुन् भन्ने त मैले भन्दा धेरै रानीपोखरीले बुझेको थिइन सायद।  त्रि-चन्द्र प्राङ्गणका रुखहरू पनि परिवर्तन भई सकेका थिए। जुलोजी विभाग जाने बाटोमा भएको लप्सीको रुख पनि परिवर्तन कै चरणमा थियो। कता कता जिङ्ग्रिङ्ग परेको देखिन्थ्यो।  म नजिकै गएर उभिँदा त उस्तै देखिन्छ कि झैँ लाग्थ्यो।  त्यही एक्लोपन मा रमाउने म कता कता त्रिचन्द्रको सामाजिक परिस्थितिले आफै  बद्लिन थाली सकेको थिए।  त्यहाँको भाइब नै त्यस्तै थियो।  एक्लै बस्छु भनेर पनि नसकिने। सायद त्यही भएर रानीपोखरी दुई छुटै लेयरको बार लगाएर एक्लै पानीको बिचमा बसेको थिइन। म भने त्यो गर्न सक्दिन थिए, त्यसैले बिस्तारै म सामाजिक प्राणी हुन थाली सकेको थिए।  तर पनि एक्लै बस्न एक्लै हिँड्न प्रयास गरी रहन्थे, फेल पनि भई रहन्थे।  

म पहिलो दिन त्रि चन्द्र छिर्दाको भन्दा धेरै बेग्लै  माहौल भने भई सकेको थियो।  जाडो महिना सँगै त्रि चन्द्रको माहौलमा नि चिसो पसे झैँ लाग्थ्यो। सबै तिर उजाड छाएको झैँ देखिन्थ्यो। कक्षामा विद्यार्थी धेरै कम हुन थाली सकेका थिए।  प्र्याकटिकलमा भने कहिले नदेखेका मान्छेहरू समय समय मा आउँथे र देखे जति सबैलाई फाइल माग्न हिँड्थे।

जमलका गाडीहरू को हल्ला खल्ला फेरी फैलिन थाली सकेको थियो।  ओइ गुरु भाइ भन्दै रमाएर बोलाएको नसुनेको पनि धेरै भएको थियो। कहाँ गइन होला उनी ? कम्ती मा यसो भनेर त जानु पर्छ भनेको झैँ लाग्थ्यो र अलि अलि रिस पनि उठ्थ्यो।  एक दिन सधैँ झैँ केमेस्ट्रीको छत मा बसेर पढ्दै थिए। पछाडि बाट कोही आएर किताब खोस्यो।  के छ गुरु जी, प्रणाम भनेर दुई हात जोड्दै  उनी प्रकट भइन।  

हावा! कहाँ हराएको यत्रो दिन ? अलि अलि रिस भरिएको आवाजले मैले सोधे।  

हावा कहाँ हराउँछ? आकाश म उड्छ रमाउँदै!! भन्दै आफ्नो दुवै हात फैलाएर उनी २ ३ राउन्ड घुमिन , दिल खोलेर।  किताबको पन्ना पनि त्यही हावाको वेगमा नाच्न थाले। सेलाएको त्रि चन्द्र एका एक फेरी रमाएर बिउँझिएको झैँ भयो।  कोलाहलको अबाजलाई उनको मधुर स्वरले प्रतिस्थापन गर्‍यो।  बादल लागेको त्रि चन्द्र मा एकासी घाम लाग्यो। त्यस बेला हग गर्ने भन्ने चलन खासै थिएन , अरूको लागि थियो कि? हाम्रो लागि त थिएन। तर, त्यस बेला त्यो हावा पन मा रमाई रहेको उनिलाई दिल खोलेर हग गर्न मन लागेको थियो।  तर गरिन, गर्न सकिन।  

जाम हिड्नुस गुरु जी चिया पिउन ! उनिले मेरो हात समातेर मलाइ आफु तिर तानिन।  

केमेस्ट्री बिल्डिंग छोडेर गाउने टोइलेट  तिर जादै गर्दा एउटा सानो रुख पछाडि बाट रानीपोखरी मुस्कुराएर हेरेको देखे। 

चिया पसलमा बसेर हामि ले धेरै बेर दिल खोलेर कुरा गर्यौ।  उसले आफु यत्रो दिन कहाँ गएको त भनिन। तर उसको आफ्नै हावा पनको कुरा गरि रहिन। चिया पिएर निस्किए पछि , ल म जान्छु अब भनेर उनी हिड्न तयार भइन। मैले क्लास जाने होइन भन्दा आज त नजाने भनिन्।  आफ्नो ब्याग खोतलेर एउटा सानो पत्र झैँ केही झिकिन र मेरो हात मा राखिन।  अहिले नखोल है गुरु भाइ , एकछिन पछि खोल भनेर उनी गइन।  

म ट्वाल्ल परेर उनीलाई हेरी रहे।  रत्नपार्क ट्राफिक प्रहरीको ढोका अगाडी नै पुग्न लाग्दा उनीले फर्केर हेरिन।  मैले उनीलाई हेरिरहेको देखिन र मुस्कुराइन र रत्नपार्कको हुलमा हराइन।  म एकान्त खोज्न घण्टाघर मुनिको पार्कमा गए।  उनीले दिएको चिट्ठी झैँ देखिने कागज खोलेर हेरे।  भित्र लेखिएको थियो।  

बाइ बाइ गुरु भाइ 🙂 

Facebook Comments Box